२०८३ साउन २४ गते आइतवार

तुलसीपुर उपमहानगरपालिकालाई ज्ञानज्योति फाउन्डेसनले किनेर दियो लाखौंका सामाग्री

तुलसीपुर, असोज ९ । तुलसीपुर उपमहानगरपालिकालाई ज्ञानज्योति फाउन्डेसनले आँफुले किनेर बिहीबार बिभिन्न सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

फाउन्डेसनका प्रमुख कार्यकारी निर्देशक (सिइओ) सुरेन्द्रबहादुर जिसीले ९ थान कम्प्यूटर, प्रिन्टर ४ थान, स्कानर ३ थान, १० थान स्टिल दराज, २ सेट सोफा , घुम्ने कुर्सी १२ थान, प्लाष्टिकका कुर्सी २० थान किनेर उपमहानगरपालिकालाई सहयोग स्वरुप प्रदान गरिएको बताए ।


जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी तथा लुटपाटका कारण तुलसीपुर उपमहानगरपालिकासहित बिभिन्न सरकारी कार्यालय खण्डर बन्न पुगेका छ्न ।

जस्ले गर्दा यहाँका सरकारी कार्यालयहरुले सेवा प्रवाह गर्न सकिरहेका छैनन् ।
आम सर्वसाधारणले दुःख पाउने अवस्था सृजना भएको हुँदा सेवाग्राहीको सुचारु गराउन सहयोग पुगोस भनेर फाउन्डेसनले सामाजिक उत्तरदायित्व अन्तरगत बिभिन्न सामाग्री किनेर सहयोग गरेको सिइओ जिसीले हस्तान्तरण पछि बताएका थिए । हस्तान्तरण गरिएका बिभिन्न सामाग्रीको सही सदुपयोग हुने उनले विश्वासपनि ब्यक्त गरे ।


मंगलबार मात्रै तुलसीपुरस्थित गोरखा स्कूल प्रालिले पनि तुलसीपुरका मेयर खड्कालाई २ थान डेस्कटप कम्प्यूटर, ४ थान स्टिल दराज सहयोग स्वरुप प्रदान गरेको थियो ।

विद्यालयका प्रिन्सिपल भानु जिएम लगाएतका शिक्षक पुगेर ती उपमहानगरपालिकामा ती सामाग्री हस्तान्तरण गरेका थिए । मेयर टीकाराम खड्काका अनुसार गोरखा स्कूलले प्रदान गरेका ती सामाग्री सरकारी वकिल कार्यालय र इलाका प्रशासन कार्यालयलाई वितरण गरिएको छ ।


बिहीबार ज्ञानज्योति फाउन्डेसनका तर्फबाट प्रदान गरिएका बिभिन्न महत्वपूर्ण सामाग्री पनि तुलसीपुरका सरकारी कार्यालयहरुलाई आवश्यकताका आधारमा छिट्टै वितरण गरिने मेयर खड्काले जानकारी दिए ।

सहयोग स्वरुप प्रदान गरिएका बिभिन्न सामाग्री आँफैले उपमहानगरपालिकाले प्रयोग नगर्ने बरु ती सबै सामाग्री अन्य सरकारी कार्यालयलाई आवश्यकताका आधारमा वितरण गरिने मेयर खड्काले बताए ।


‘उपमहागनरपालिका आँफैमा राज्य हो र हामी आफ्ना लागि आँफै ब्यबस्था गर्ने छौं,’ मेयर खड्काले भने ।

तोडफोड र आगजनी बाट ध्वस्त पारिएका सरकारी कार्यालयहरु जहाँ तत्कालै आँफै फर्निचर लगाएत आवश्यक सामाग्री खरिद गर्ने बजेटको ब्यबस्था हुँदैन त्यस्ता कार्यालयहरुको सेवा संचालन गर्न आँफुरुहले समन्वयकारी भूमिका मात्रै खेल्ने मेयर खड्काले बताएका थिए ।

यतिखेर मेयर खड्का आवश्यक सहयोगका लागि तुलसीपुरका बिभिन्न उद्योगी ब्यापारी तथा संघ संस्था गुहारी रहेका छन् ।

ज्ञानज्योति फाउन्डेसनका संस्थापक प्रिन्सिपल टीकाबहादुर जिसीले बिहीबार मेयर टीकाराम खड्कालाई फाउन्डेसनका तर्फबाट बिभिन्न सामाग्रीको लिष्ट हस्तान्तरण गरेका थिए ।

जिसीले सबैको सहयोगले छिट्टै ध्वस्त संरचना पुर्नं निर्माण हुने तथा जनताले सेवा पाउने आशा ब्यक्त गरेका थिए ।

मेयर खड्काले बिभिन्न उपयोगी सामाग्री किनेर दिने ज्ञानज्योति फाउन्डेसन परिवार प्रति कार्यालयको तर्फबाट आभार ब्यक्त गरेका थिए ।

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा तुलसीपुर उपमहानगरपालिकासहित प्राय सबै सरकारी कार्यालयहरुमा तोडफोड, लुटपाट पछि आगजनी भएको थियो ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *