दाङ, भदौ ३१ । भदौ २४ गते जेनजीको नाममा तुलसीपुर उपमहानगरपालिकाको कार्यालय भवनमा भएको आगजनीबाट मेयर टीकाराम खड्का चढ्ने ९३ लाखको गाडीपनि जलेर नष्ट भएको छ । जुन गाडी गत चैत अन्तिम सातामा मात्रै ल्याइएको थियो ।
उपमहानगरपालिकाको अन्डरग्राउन्ड पार्किङमा राखिएको मेयर चढ्ने गाडीका साथै उक्त आगजनीबाट ६ वटा सरकारी गाडीपनि जलेर नष्ट भएका छन् ।
उपमहानगरपालिकाको दमकल र पानी बोक्ने ट्याँङकरमा पनि आगजनी गरिएको छ । उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख शिवकुमार शर्माका अनुसार उपमहानगरपालिकाको कार्यालय भवनको लिफ्ट मर्मतका लागि आएका ओटिस कम्पनीका ब्यक्तिको निजी गाडीपनि जलेर नष्ट भएको छ । जुन गाडीपनि अण्डर ग्राउन्ड पार्किङमै राखिएको थियो ।
त्यो दिन कुल १३ वटा मोटरसाइकलमा आगजनी भएको थियो । जस्मा ७ वटा निजी मोटरसाइकलहरु थिए । आमाको उपचारको लागि काठमाडौं लैजाने क्रममा पत्रकार प्रकाश केसीले पार्किङ गरि राखेको मोटरसाइकल र नेपाल तरुण दल तुलसीपुरका नगर उपसभापति केशव भुसालले राखेको मोटरसाइकल पनि आगजनीमा परि ध्वस्त भएको छ ।
उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगीका अनुसार अन्डरग्राउन्ड पार्किङमा राखिएका त्यति धेरै गाडीमा गरिएको आगजनीका साथै ग्यास सिलिण्डरपनि सोही ठाउँमा आगजनी पछि बिष्फोट गराइएको हुँदा २०७९ सालको अन्त्यमा निर्माण सम्पन्न भएको प्रशासनिक भवनपनि बस्नका लागि अयोग्य बनेको छ ।
जुन प्रशासनिक भवन ५ करोड ४० लाखमा निर्माण गरिएको थियो ।
अन्डरग्राउन्ड पार्किङमा साना ठूला गरि दुई दर्जन जति गाडीहरु जलाउनुका साथै ग्यास सिलिण्डरपनि विष्फोट भएको हुँदा भवनको बिम काम नलाग्ने गरि जलेको तथा बिम पुरै माटो जस्तो भएको हुँदा करोडौंको भवन प्राबिधिक चेकजाँच गर्दा बस्नका लागि उपयुक्त नदेखिएको इञ्जिनियर योगीले बताए ।
सम्मुखमा रहेको बर्षौं पुरानो उपमहानगरपालिकाको पुरानो भवनपनि आगजनी र तोडफोडका कारण वस्नका लागि अनुपयुक्त बनेको योगीले जानकारी दिए । जुन भवनमा पनि बिभिन्न शाखाहरु संचालन हुँदै आएका थिए ।
पुरानो भवनको ठिक उत्तर तर्फको साढे १७ करोड लागतको भवनमा पनि ढुँगा मुढा भएको छ ।
‘तुलसी टावर’ नामक यो भवन सात तलाको छ । ढुँगा प्रहार बाट जस्का अधिकाँस सिसाहरु फोडिएका छन् । यो भवन ब्यबहासायिक प्रयोजनका लागि टेन्डर आह्वान गर्ने अन्तिम तयारी भइ रहँदा यस्मा पनि ढुँगा मुडा र तोडफोड भएको छ । अब उपमहानगरपालिकाले यही भवनवाट आफ्नो सेवा संचालन गर्ने तयारी गरि रहेको छ ।
तुलसीपुरका सबै जसो सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी भएको हुँदा त्यस्ता सरकारी कार्यालयहरु पनि उनीहरुले चाहेमा मर्मत पछि ‘तुलसी टावर’ बाटै तत्कालका लागि सेवा संचालन गर्न दिइने मेयर टीकाराम खड्काले बताए । प्राबिधिक चेकजाँच गर्दा उच्च अदालत तुलसीपुर र आन्तरिक राजश्वकार्यालय तोडफोड पछिको आगजनीका कारण बस्न अयोग्य देखिएका छन् ।
ती कार्यालयहरु कहाँ बाट संचालन गर्ने भन्ने अन्यौंलता बढेको सरोकारवालाहरुले बताएका छन् ।
यसैबीच तुलसीपुर उपमहानगरपालिकाले भने सोमबारदेखि आफ्नै प्राङगणमा त्रिपाल टाँगेर अतिआवश्यक सेवाहरु सुरु गरेको छ ।
