तुलसीपुर, भदौ २९ । जिल्लास्थित अदालतमा मुद्दा बिचाराधिन रहेकाहरुले अदालतमा तोडफोड, ढुँगा मुडा र आगजनी गर्न बढी अग्रसर भएको पाइएको छ ।
त्यस्तै आफ्नै नेताका घरहरुमका ब्यक्तिगत कुन्ठा साँचेर बसेका केही युवाहरु तोडफोड र आगजनी गर्न गएको पाइएको अधिकारीहरुले बताएका छन् ।
तुलसीपुरस्थित उच्च अदालतमा आगजनी गर्न उक्साउनेहरु र गर्नेहरु तुलसीपुरस्थित कारागार तोडेर भागेका केही युवाहरु सामेल रहेको स्रोतले बताएको छ ।
घोराही जिल्ला अदालतमा पनि मुद्दा बिचाराधिन रहेकाहरुले तोडफोड तथा आगजनी गरेको पाइएको स्रोतले बताएको छ ।
उच्च अदालतको सुरक्षार्थ खटिने प्रहरी अधिकारीका अनुसार २४ गते दिउँसो आएका केहीलाई उनीहरुले अदालतमा प्रबेश गर्नु, तोडफोड वा आगजनी गर्नु गलत हो भन्दै संझाइ बुझाइ गरि पठाएका थिए ।
तर, कार्यालय समय पछि न्यायाधीस तथा अदालतका अन्य कर्मचारी घर गइ सकेपछि गएका ब्यक्तिहरुले अदालत भित्र प्रबेश गरि ढुँगा मुडा, तोडफोड र आगजनी गरेका थिए ।
तुलसीपुरस्थित कारागारबाट जेल तोडेर आएकाहरु मध्य केही र मुद्दा चलिरहेकाहरुले अदालतमा प्रबेश गरि तोडफोड तथा आगजनी गरेको भन्ने तथ्य प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको अदालतका सूचना अधिकारी कृष्णप्रशाद शर्माले पनि बताए ।
‘कारागारबाट भागेर आएकाहरुको उक्साहटमा प्रमाण नष्ट गर्न अदालतमा प्रबेश गरि तोडफोड र आगजनी भएको हो,’ स्रोतले भन्यो ‘हामीले हातपाउ जोड्दा पनि उनीहरुले मानेनन् अदालत स्वाहा पारेरै छोडे ।’
त्यो भन्दा पहिला लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको केही दक्षिण डुर्मीगाउँमा रहेका दुई वटा घरमा तोडफोड, लुटपाट र आगजनी भएको थियो ।
नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता चौधरीले आँफुले मदिरा सेवन नगर्ने भएपनि उनको घरमा फेला परेको ब्रान्डेड मदिराका बोत्तलहरु चोरेर लगेका थिए । ती मदिरा सेवन पछि केही उग्रता पर्दशन गर्दै अदालतमा पुगेर आगजनी गरेको स्रोतले बतायो ।
त्यस्तै जिल्ला अदालतका श्रेस्तेदार भुपाल भण्डारीले जिल्ला अदालतमा तोडफोड गर्नेहरु मध्य अधिकाँस अदालतमा मुद्दा चलिरहेकाहरु ब्यक्तिहरु अग्रपंत्तिमा रहेको भन्ने बुझिएको बताए ।
‘बिभिन्न मुद्दामा अदालतमा रहेका पाँच वटा निजी मोटरसाइकलहरु पनि उनीहरुले मेरो हो भन्दै तानेर लगेको देखिएको छ,’भण्डारीले भने ‘ज–जस्का मुद्दाहरु थिए उनीहरुले नै प्रमाण नष्ट गर्ने बाहानामा तोडफोड र आगजनी गरेको देखिएको छ ।’
उनीहरुले नै आगजनी र तोडफोडबाट सम्पूर्ण मिसिलहरु पनि नष्ट पारिदिएको अर्का एक कर्मचारीले पनि बताए ।
जिल्ला अदालतमा तोडफोड र आगजनी गर्नेहरुले त्यसपूर्ब केही उत्तरमा पर्ने ‘माला इन’ होटेलमा तोडफोड , लुटपाट तथा आगजनी गरेका थिए ।
त्यो होटेलबाट मदिराका साथै काटेर राखिएका खसीको एउटा पुरै खुट्टा, तयारी परिकारहरु पनि लुटपाट गरेका रिलहरु भाइरल भइ रहेका छन् । खसीको खुट्टा र मदिरा लुटपाट गर्ने ब्यक्ति जेन्जी भने होइनन् ।
होटेलबाट लुटेका मदिराहरु सेवन पछि जिल्ला अदालतमा पुगेकाहरुले ढुँगामुडा, तोडफोड, लुटपाट र आगजनी मच्चाएको अदालतका एक कर्मचारीले बताए ।
त्यस्तै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीको घरमा ढुँगामुडा, लुटपाट र आगजनी गर्न जानेहरु मध्य केही नेपाली काँग्रेस सम्बद्ध युवाहरु पनि सामेल रहेको तथ्य सामाजिक संजालमा राखिएका भिडियोहरुमा देखिएका छन् ।
‘ मौकाको फाइदा उठाउँदै ब्यक्तिगत रिसिबी साँधेर बसेका युवाहरु नै आफ्नै नेताको घरमा बिध्वँस मच्चाउन गएको देखिन्छ,’ एक प्रहरी अधिकारीले भने ‘तुलसीपुर उपमहानगरपालिकामा आगजनी गर्नेहरु मध्य केही काँग्रेस निकटकै युवाहरु पनि देखिएका छन् ।’
नेपका एमालेका महासचिव शंकर पोखरेलको तुलसीपुर – १९ हाडिमेस्थित घरमा आगजनी गर्नेहरु मध्य केही स्थानीय र चिनजानकै मानिसहरु पनि संलग्न रहेको स्रोतले बताएको छ ।
‘ केही त एमाले निकटका हौं भन्नेहरु पनि एमाले महासचिवको घरमा तोडफोड र आगजनी गर्न गएको कुराहरु आइरहेका छन्,’ एक जना प्रहरी अधिकारीले भने ‘ त्यो सबै कुन्ठा वा डाहाको कारण मात्रै भएको थियो कि भन्ने अवस्था देखिन्छ ।’
काँग्रेसको घरमा आगजनी गर्न अरु संगठनका युवाहरुलाई अगाडि सारिएको र एमालेका नेताको घरमा आगजनी गर्नपनि छुट्टै संगठनका युवालाई ढालका रुपमा प्रयोग गरिएको अधिकारीहरुले बताएका छन् ।
घटनाबारे अनुसन्धान तथा छानविन जारी रहेको प्रहरी अधिकारीहरुले बताएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रशाद तिमिल्सिनाले आँफु भदौ २४ गते घर बिदामा रहेको र दोस्रो दिन मात्रै घर आएको हुँदा घटना प्रत्यक्ष देख्न नपाएपनि बिभिन्न ब्यक्तिहरु बाट सूचना, फोटो तथा भिडियो आउने क्रम जारी रहेको बताए ।
प्रारम्भीक अनुसन्धानबाट प्रमुख दलसम्बद्ध केही युवाहरु पनि जेन्जीको नाममा तोडफोड तथा आगजनीमा संलग्न भएको पाइएको उनले बताए ।
आँफुहरुलाई प्राप्त हुने फुटेज, रिल, फोटोको आधारमा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनी गर्नेहरु माथि कारबाही चलाइने उनले बताए ।
तुलसीपुरस्थित नेकपा एमाले नेतृ कोमल वलीको रिसोर्टबाट पनि ठूलो मात्रामा मदिरा, तयारी परिकार, ज्यूँदा कुखुरा र हाँसहरु लुटपाट गरि आन्दोलनकारीले लगेको तस्बिरहरु सार्वजनिक छन् ।
जिल्लाका अदालत, मालपोत, आन्तरिक राजश्व कार्यालय, यातायात ब्यबस्था कार्यालय, इलाका प्रशासन कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, तुलसीपर र घोराही उपमहानगपालिकाका कार्यालयहरु, त्यहाँ राखिएका सवारीसाधनहरु, जिल्ला स्थित प्रमुख राजनीतिक दलका पार्टी कार्यालयहरु, शान्तिनगर र बबई गाउँपालिकामा आगजनी भएका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको तुलसीपुरस्थित घरमापनि आगजनी बाट बढी क्षति पुगेको छ ।
घरको कम्पाउन्डमा पार्किङ गरि राखिएको गिरीको एउटा घरमा पनि आगजनी भएको छ । तुलसीपुर र घोराहीमा स्थापना गरिएका नेपाली काँग्रेसका संस्थापक विपी कोइरालाका शालिकहरुमा पनि तोडफोड र आगजनी गरि ध्वस्त पारिएका छन् ।
विपीका शालिकहरु फोडन अग्रसर हुनेहरु प्राय आँफुलाई क्रान्तिकारी र स्वतन्त्र भन्ने युवाहरु संलग्न रहेको अधिकारीहरुले बताएका छन् ।
आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत
उच्च अदालत तुलसीपुर दाङले तोडफोड र आगजनी बाट क्षतिग्रस्त संरचनाबाटै आइतबारदेखि सेवा सुरु भएको छ ।
अदालतको शुक्रबार बसेको पूर्ण बैठकले अदालतदेखि बन्दीप्रत्यक्षीकरणको निबेदन दर्ता, सो को सुनुवाई गर्ने कार्य, पक्राउ अनुमति जारी र स्वीकृति प्रदान गर्ने कार्य आइतबारदेखि सुरु गर्ने निर्णय गरेको हो ।
अन्य मुद्दाका कामकारबाही सूचारु गर्ने सम्बन्धमा जानकारी दिइने भएको छ ।
रजिष्टार यमप्रशाद बासकोटाका अनुसार तोडफोड र आगजनी पछिको बिषम परिस्थितिका बाबजुद उच्च अदालतबाट मुद्दा दर्ता एवम सुुनुवाई समेतका काम कारबाही सूचारु गर्ने भरमज्दुर प्रयास भइ रहेको छ ।
जेनजीको नाममा भएको पर्दशनका क्रममा भदौ २४ गते उच्च अदालत तुलसीपुरमा पनि तोडफोड र आगजनी भएको थियो । जसबाट अदालतका अधिकाँस भौतिक संरचना, इजलासहरु, चालु मुद्दा तथा मिसिल, सूचना प्रबिधि पर्णालीसमेत क्षतिग्रस्त बन्न पुगेको रजिष्टार बासकोटाले उल्लेख गरेका छन् । त्यो दिन पर्दशनका नाममा अदालतमा तोडफोड, ढुँगामुडा, आगजनी र लुटपाटसमेतका घटनाहरु भएको रजिष्टिार बासकोटाले जानकारी दिएका छन् ।
अदालतका सूचना अधिकारी कृष्णप्रशाद शर्माले अदालत परिशरम राखिएका पाँच वटा गाडी आगजनीबाट पूर्ण रुपमा ध्वस्त पारिएका छन् । त्यस्तै अदालतका ४० जति कम्प्यूटर मध्य लेखा शाखाको एउटा कम्प्यूटर मात्रै फेला परेको छ ।
उनीहरु भूइ तलाबाट आगो लगाउँदै गएको हुँदा धुँवाले निसास्एिका कारण भागेको र त्यसले गर्दा सबै भन्दा माथिल्लो तलाको अभिलेख शाखाका कागजातमा त्यति क्षति हुन नपाएको सूचना अधिकारी शर्माले जानकारी दिए । तर, उनले त्यो बाहेक चालु मिलिसका एउटा कागजपनि नजोएिको अवस्था रहेको बताए ।
‘ कागजपत्र, फर्निचर र कार्यालय परिशरका गाडी सबै ध्वस्त पारिएको अवस्था छ,’ उनले भने ‘सम्मुखको सरकारी वकिल कार्यालयमा पनि आगजनी भएको छ ।’
अदालतमा भएको क्षतिको एकीन विवरण शंकलन एक दुई दिनमै हुने उनले बताए ।
जिल्ला अदालत पनि तयारी गर्दै
जिल्ला अदालत घोराहीमा पनि ढिलोमा सोमबारसम्म पेशी बाहेकका सबै काम सुरु गर्ने गरि तयारी भइ रहेको छ ।
श्रेस्तेदार भुपाल भण्डारीका अनुसार अदालतमा भएको ढुँगामुडा, तोडफोड र आगजनीबाट झन्डै दुई करोड बढीको क्षति भएको छ । अदालतका ९० वटा कम्प्यूटर र सबै फर्निचर तोडफोड र आगजनीबाट ध्वस्त पारिएका छन् ।
त्यस्तै दुई वटा गाडी र एउटा मोटरसाइकलमा तोडफोड गरिएका छन् भने थप अर्कौ एउटा मोटरसाइकलमा पनि तोडफोड भएको छ ।
दाङमा हट्यो कफ्र्यू, जनजीवन सामान्ने बन्दै
दाङमा स्थानीय प्रशासनले लगाउँदै आएको कफ्र्यू आदेश तथा निषेधाज्ञा आइतबार बिहानबाट हटाइएको छ । आइबारदेखि विद्यालयहरुमा पढाइपनि सुरु भएको छ । यातायातका साधनपनि संचालनमा आएका छन् । बजार पसलहरु खुलेका छन् ।
जेन्जीको पर्दशनका नाममा उग्र बन्दै सरकारी कार्यालयका साथै राजनीतिक दलका पार्टी कार्यालय, अदालत, नेताका घरहरुमा तोड फोड तथा आगजनी भएपछि स्थानीय प्रशासनले भदौ २४ गते बेलुकी साढे ४ बजेदेखि जिल्लामा स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गर्दै आएको थियो ।
जिल्लाका दश पालिकाहरु मध्य तुलसीपुर र घोराही उपमहानगरपालिका, लमही नगरपालिका र लुम्बिनी प्रदेशको राजधानीको केन्द्र रहेको राप्ती गाउँपालिकामा मात्रै कफ्र्यु तथा निषेधज्ञा जारी हुँदै आएको थियो ।
