२०८२ मङ्सिर १ गते सोमवार

तोडफोड र आगजनी पछि तुलसीपुरको कारुणिक दृष्य (तस्बिरहरु)

तुलसीपुर , भदौ २६ । भदौ २४ गते एकाएक जेनजी नामको पर्दशन उग्र बन्यो । सरकारी अड्डा अदालत, कार्यालयहरु तथा नेता बिषेशका घरहरुमा तोडफोड र आगजनी गरिए ।


जेनजीको नाममा भौतिक संरचना र चिज बस्तु माथि गरिएको आगजनी पछि ध्वस्त पारिएका सवारी साधन अझैंपनि तुलसीपुर बजारका मुख्य सडक खण्डमै छन् ।

आगोले खरानी बनाइएका सवारी साधन देख्दा जो कोहीको मन भक्कानीने अवस्था छ । तुलसीपुर उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालय , उच्च अदालत, यातायात ब्यबस्था कार्यालयको क्षतविक्षत अवस्था र आगो झोसेर नष्ट गर्न खोजेका संरचना रोइ रहेका छन् ।

यस्ता कार्यालयका सम्पूर्ण महत्वपूर्ण कागजपत्र, कम्प्युटर, सवारी साधन जलाइएका छन् । मालपोत कार्यालय, तुलसीपुर उपमहानगरपालिकाका सिसा युक्तघरहरुमा ढुँगा मुडागरि फोडिएका कारुण दृष्य छन् ।

जेनजीको पर्दशनका नाममा उपमहानगरकापालिको दमकल, पानी बोक्ने ट्याँङकर, कार्यालयको अण्डरग्राउण्डमा पार्किङ गरि राखिएका सवारी साधन जालएर ध्वस्त पारिएका छन् । उपमहागनरपालिकाको बाहिर पार्किङ गरि राखिएका सवारी साधान पनि खरानी पारिएका छन् ।


उपमहानगरपालिकाका तीन वटै भवन क्षतिब्यक्षित अवस्थामा छन् । नव निर्मित सात तले तुलसी टावरपनि ढुँगा मुडा गरि सिसाहरु तोडफोड गरिएका छन् । सबै भन्दा ठूलो क्षति मेयरको कार्यकक्ष रहेको नयाँ भवनमा पुगेको छ । जस्को तेस्रो र चौथो तलामा बिहीबार बिहानसम्म धुँवा पुत्ताइ रहेको देखिन्थ्यो ।


दमकलका साथै पानी बोक्ने ट्याँकरपनि खरानी पारिएको हुँदा उपमहानगरका सरसफाई राखका केही कर्मचारीले बाल्टिमा पानी बोकेर तेस्रो तल्लामा बलिरहेको आगो निभाउन प्रयास गरि रहेका थिए ।

कार्यालय परिशरमा भेटिएका शिक्षा शाखा प्रमुख चक्रभण्डारीले पुरानो भवनमा आँफुहरुको शाखा संचालन हुँदै आएको ठाउँमा आगजनीबाट त्यति ठूलो क्षति हुन नपाएको भएपनि रातको समयमा बचेका कम्प्यूटर र ल्यापटपहरु कफ्र्यू लागेकै समयमा चोरी भएको पाइएको बताए ।


रातिमा सुरक्षाको लागि नगर प्रहरी राख्न खोज्दा सेनाले पर्दैन सुरक्षा दिन्छौं भनेको भएपनि कफ्र्यूकै बीचमा रातिमा आगजनीबाट जोगिएको यान्त्रिक शाखाको ल्यापटप तथा महत्वपूर्ण सामानहरु चोरी भएको उनले बताए ।

उपमहानगरका जनस्वास्थय शाखा प्रमुख बिमल केसीले पनि पुरानो भवनमा रहेका आफ्नो शाखामा राखिएका सम्पूर्ण औषधि, बालस्वास्थ्य कार्यक्रमका सम्पूर्ण खोपहरु, फ्रिजहरु लगाएत संघीयता पछिका सम्पूर्ण महत्वपूर्ण कागजात नष्ट भएको अवस्था रहेको बताए ।


आगजनी र तोडफोड गरि ध्वस्त पारिएका सवारी साधन तथा संरचनाहरु देखेर एक जना महिलाले सुस्केरा हाल्दै थुचुक्क बसेकी थिइन ।


उनले भनेकी थिइन ‘यो नगरपालिकाले कस्को के बिगारेको थियो । यस्मा आगो झोसेर कस्ले के पाए ?
अर्का अधवैंसे ब्यक्तिले अदालत, कर कार्यालय, यातायात कार्यालय, मालपोत जस्ता कार्यालयहरुमा जेनजीको नाममा भएको आगजनी र तोडफोडले मन भक्कानीको बताए ।

तुलसीपुरस्थित साबिक राप्ती अंचलस्तरिय आन्तरिक राजश्व कार्यालयपनि आगजनी र तोडफोड बाट ध्वस्त प्राय पारिएको छ । कार्यालय परिशरमा राखिएका गाडीहरु र त्यसबाहिर सडक किनारमा आगोले खरानी पारिएका साधनहरु सडकमै छन् ।


सल्यान रोडस्थित कार्यालयमा फेला परेका तुलसीपुर – ४ वनहरीका एक जना शिक्षकले आन्तरिक आगो लगाइ ध्वस्त पारिएको आन्तरिक राजश्व कार्यालयको अवस्थाले मर्माहत तुल्याएको बताए ।


आँफुले दिएको शिक्षा बेकामे भएको उनले बताए ।
जेनजीको नाममा भएको यस्ता विध्वँसका घटना नियाल्दा विश्वास गर्न मुस्किल भइ रहेको उनले बताएका थिए ।


राप्ती राजमार्ग अन्तरगत सल्यान रोडमा पर्ने आन्तरिक राजश्व कार्यालय ‘ग’ लाइनमा पर्ने उपमहानगरपालिका, राप्ती राजमार्ग अन्तरगत दक्षिणको सितलपुर सडक खण्डमा पर्ने उच्च अदालत तुलसीपुर, नजिकैको मालपोत कार्यालय, लोकसेवा आयोगको कार्यालय अगाडि सडकमा जालएका सवारी साधानका भग्नावशेष अझैं सडक खण्डमै छन् ।

उच्च अदालत परिशर भित्र मात्रै आधा दर्जन सवारी साधन खरानी पारिएका छन् । भित्रका सम्पूर्ण कागजपत्र, कम्प्यूटर लगाएत सबै सामाग्री तोडफोड तथा लुटपाट भएको छ ।

ती भग्नावशेषहरु देख्दा यस्तो लाग्थ्यो तुलसीपुरमा लामो समय ठूलो बमबारी वा हिंसात्मक द्धन्द चलेको थियो । तर, यि सबै अगजनी र तोडफोड एकै दिन भदौ २४ गतेका दिनमै भएका थिए ।


जेनजीकै नाममा तुलसीपुरको विपी चोकमा राखिएको विपीको शालिक तोडफोड गरि फालिएको छ । विपीको शालिक मोटरसाइकलको पछाडि बाँधेर घिसार्दै लगिएको देखिएको थियो ।

त्यस्तै मदन आश्रित चोकमा राखिएका उनीहरुका तस्बिहरु च्यातिर जलाइएका छन् । वीरेन्द्र चोकमा रहेको राजा वीरेन्द्रका शालिकमा पनि कुनै क्षति गरिएको छैन ।


तुलसीपुरस्थित नेपाली काँग्रेस र नेकपा एमालेका पार्टी कार्यालयहरुमा तोडफोड र आगजनी भएका छन् । काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीको सलयन रोडस्थित घरमा आगजनी गर्नुका साथै घरमा राखिएको एउटा हायस गाडीमा आगजनी गरि ध्वस्त पारिएको छ ।

आज कतिपय गिरीका समर्थकहरुले कहिलै कुनै लाभको पदमा नपुगेका र पछिल्लो समय केन्द्रीय सदस्य बनेका भएपनि पुर्खेउली सम्पत्तिका कारण गरिएको आगजनीको निन्दा गरिरहेका छन् ।


अर्का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको घोराही चोकस्थित घरमा पनि पटक पटक तोडफोडको प्रयासहरु भएका थिए । तर, घरमा बस्ने गिरीकी बृद्ध आमाले बाल्कोनीमा उभिएर हात जोडी याचना गरेपछि तोडफोड र आगजनीबाट जोगिएको थियो ।

तैपनि घर भित्र रहेका केही फर्निचर, खाद्यान्न लगाएतका बस्तुहरु पर्दशनकारीले सडकमा ल्याएर फालिदिएका थिए ।


त्यस्तै नेपाली काँग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको डुम्रीगाउँस्थित दुई वटै घरमा आगजनी र तोडफोड भएको छ । मुख्यमन्त्री बस्ने घरमा पुरै क्षतिग्रस्त पारिएको छ । सम्पूर्ण सरसामान बाहिर निकालेर आगजनी गरिएको छ ।


त्यस्तै क्षति नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रियसभा सदस्य कोमल वलीको तुलसीपुर – ५ बाहिनी चोकस्थित घर र तुलसीपुर – ६ गोलौरास्थित रिसोर्टमा पनि पुर्‍याइएको छ । घरमा ढुँगा मुडा तथा तोडफोड मात्रै भएपनि रिसोर्टमा भने ठूलो क्षति पुगेको छ ।

रिसोर्ट भित्र पानी बोक्ने ट्याँङकर, पार्किङमा राखिएको कारमासमेत आगजनी गरिएको छ । रिसोर्टमा पनि आगजनी गरि क्षति पुर्‍याएको छ । तुलसीपुरमा एमाले नेता हिराचन्द्र केसीको गरिएको छ । त्यहाँ ठूलो क्षति भने हुन पाएन ।


त्यस्तै घोराहीस्थित जिल्ला अदालत, घोराही उपमहानगरपालिकाको कार्यालय, नेपाली काँग्रेस र नेकपा एमालेका जिल्ला पार्टी कार्यालयहरुमा पनि तोडफोड तथा आगजनी गरि क्षति पुर्‍याइएको छ । घोराहीस्थित नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालको घरमा तोडफोड र आगजनी भएको छ ।

यि सबै संरचनामा तोडफोड र आगजनी भइ रहँदा प्रहरी प्रशासन भने रमिते मात्रै बनिरहेको थियो । विभिन्न कार्यालय र ब्यक्तिका घरमा तोडफोड र आगजनी भइ सकेपछि पनि रातिमा त्यस्ता कार्यालयबाट चोरीका घटनाहरु समेत भएका थिए ।

यस्तै बिहीबार बिहान ९ बजेदेखि मध्य राति १२ बजेसम्मका लागि जिल्लामा कफ्र्यू आदेश जारी गरिएको छ ।

बिहान ६ बजेदेखि ९ बजेसम्म किनलमेलका लागि खुल्ला गरिएको थियो । त्यो अवधिमा मानिसहरु तरकारी लगाएत अत्याबवश्यक दैनिक उपभोग्य बस्तुहरु किनमेलका ब्यस्त देखिन्थे ।

जेन्जीको पर्दशन उग्र बन्दै सरकारी कार्यालयका साथै राजनीतिक दलका पार्टी कार्यालय, अदालत, नेताका घरहरुमा तोड फोड तथा ढुँगा मुढा र आगजनी भएपछि स्थानीय प्रशासनले भदौ २४ गते बेलुकी साढे ४ बजेदेखि जिल्लामा कफ्र्यू आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *