तुलसीपुर , भदौ ९ । उच्च अदालत तुलसीपुरले घोराही उपमहानगरपालिका – ८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पदमुक्त गर्नुको कारण पेश गर्न आदेश दिएको छ ।
अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलाशले घोराही नगरलाई शाहलाई पद मुक्त गर्नु पर्ने कारण देखाउन आदेश जारी गरेको हो । निबेदकका तर्फबाट अधिबक्ताहरु रबिन्द्रकुमार धिताल, पूर्णप्रशाद ढकाल र महेश बस्नेतले बहस गरेका थिए ।
दुई बर्ष पहिले पदबाट राजीनामा दिएका शाहको भदौ २ गते मेयर नरुलाल चौधरीले राजीनामा स्वीकृत गरेका थिए । शाहले २०८० असार ११ गते पदबाट राजीनामा बुझाएका थिए ।
नेकपा एमालेबाटै निर्वाचित वडाध्यक्ष शाहले एमालेबाटै निर्वाचित मेयर चौधरीले बजेट कम दिएको हुँदो सोचे जसरी जनताको काम गर्न नसकिने भन्दै पदबाट राजीनामा बुझाएका थिए ।
दुई बर्ष पछि राजीनामा स्वीकृत भएपछि भदौ ६ गते शाह उच्च अदालत तुलसीपुरमा पुगेर आँफुमाथि अन्याय भएको भन्दै पुर्नंबहालीको मागसहित निबेदन दिएका थिए ।
शाहले माग अन्तरिम आदेश दिन माग गरेपनि तत्काल अदालतले उनको माग तत्कालका लागि अस्विकार गरेको छ । तर, भदौ १८ गते पेशी तोक्दै अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने बिषयमा छलफल गर्न दुबै पक्षलाई बोलाएको छ ।
