घोराही, भदौ ९ । घोराहस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनले विद्यार्थीका लागि एउटा प्रसंशनिय कार्यको सुरुवात गरेको छ ।
साउनदेखि सुरु भएको शिक्षक सेवा प्रवेशका लागि निशुल्क तयारी कक्षा लिन पाउँदा क्याम्पसको शिक्षा संकाय तेस्रो वर्षमा अध्ययनरत सोनु बुढा मगर मख्ख छिन ।
क्याम्पसको शिक्षा संकायमा दोस्रो बर्षमा अध्ययनरत दिपक खड्का पनि निशुल्क रुपमा शिक्षक सेवा प्रवेशका लागि लाइसेन्सको तयारी कक्षा लिन पाउँदा खुसी छन् ।
बजारमा सञ्चालित यस्ता कक्षाहरुमा पढ्न जाँदा कम्तिमा दश हजार खर्च लाग्ने भएपनि क्याम्पसमा स्ववियुले निशुल्क रुपमा पढ्न अवशर सृजना गर्नु आँफु जस्ता धेरै इच्छुक बिद्यार्थी खुसी भएको उनले बताए । क्याम्पसमा विहान र दिवासत्रमा अध्ययनरत विद्यार्थीलाई समय मिल्ने गरि साँझ ५ देखि साढे ६ बजेसम्म कक्षा सञ्चालन गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति दिपेशकुमार डिसीले क्याम्पसमा स्नाकोत्तर तह अध्ययन गर्ने दुई सय ५० बढी विद्यार्थीले निशुल्क शिक्षक सेवा अध्यापन अनुमतिपत्रका लागि तयारी कक्षा लिइरहेको बताए ।
तयारी कक्षा पढाउँदै आएका शिक्षा विकास तथा समन्वय एकाइ दाङका शिक्षा अधिकृत तिलकराम वञ्जाडेले यस्ले बिद्यार्थीमा उत्साह जगाएको बताए ।
जिल्लामा पछिल्लो समय गणित, विज्ञान, अंग्रेजीलगायतका विषयका शिक्षक पाउन समस्या भइरहेको समयमा स्ववियुको पहलमा एउटा उदाहरणिय कार्य भएको उनले बताए ।
महेन्द्र बहुमुखी क्याम्पस घोराहीका प्रमुख नारायण पन्थीले शिक्षकका लागि निशुल्क तयारी कक्षा भविश्यमा शिक्षक बन्न चाहाने विद्यार्थीका लागि एउटा ठूलो अवशर भएको बताए ।
