
तुलसीपुर, साउन २२ । कान्छाराम (शंकरमाली) जेभी काठमाडौंले घोराहीको कटुवा खोलादेखि डिके पेट्रोल पम्पसम्मको करिब डेढ किलोमिटर सडक बिस्तार गरेको एक दशक बितिसक्दा काम भने पुरा गरेको छैन ।
घोराही बजार स्तरोन्नति कार्यका लागि ठेक्का सम्झौता भएको २०७१ /०५ / ११ गते भएको थियो । सडक डिभिजन दाङले आह्वान गरेको टेन्डरमा सम्झौता रकम (भ्याट बाहेक) १२,०२,१४,२८० /७० थियो ।
हालसम्म सडक डिभिजनले निर्माण कम्पनीलाई (भ्याट बाहेक) ८,२९,०८,५७९ रुपैयाँ भुक्तानी गरि सकेको छ । हालसम्मको वित्तीय प्रगति जम्मा ७० प्रतिसत मात्रै रहेको सडक डिभिजन दाङका प्रमुख दिपेन्द्रबहादुर बिष्टले बताए ।
कान्छारामको तर्फबाट निर्माण व्यवसायीको आधिकारिक प्रतिनिधिका रुपमा दाङमा दिपक थिङ तोकिएका थिए । उनी संग प्रतिक्रिया लिने प्रयास संभव भएन । जति पटक आग्रह गर्दापनि पत्राचार गर्दापनि थिङले पटक्कै काम नगरेको तथा गर्छु भन्दै टार्दै गएको डिभिजन कार्यालयका प्रमुख बिष्टले गुनासो गरे ।
सडक निर्माणको काम सकेपनि सडक नाली, नालिका ढक्कनहरू, कालोपत्रे मर्मत, सडक रंगरोगन, सडक पेटी मर्मत कार्य, पुराना कामहरूको मर्मत सम्भार लगायतका कामहरु निर्माण कम्पनीले हालसम्म पनि पुरा गरेको छैन । जस्ले गर्दा सडकमा दुर्घटनाको जोखिम बढेको तथा काम हालसम्मपनि अलपत्र अवस्थामा रहेको बिष्टले बताए ।
त्यस्तै दाङको देउखुरी क्षेत्रमा पर्ने हुलाकी सडक निर्माणमा पुल निर्माणको काम धमाधम अगाडि बढेपनि गढवा बजारदेखि वनघुस्रीसम्मको २० किलोमिटर सडक निर्माणको काम ठप्प प्राय छ ।
२०७९ साल कात्तिक मसान्तसम्म सडक निर्माणको काम सक्ने गरी २०७६ साल कात्तिक २९ गते वज्रगुरु–कान्छाराम जेभी काठमाडौँसंग ६७ करोड ३७ लाख ५३ हजार ८९८ रुपियाँ ७१ पैसामा ठेक्का सम्झौता भएको थियो ।
तर निर्माण कम्पनीको लापर्बाहीका कारण सडक निर्माणको काम अलपत्र अवस्थामा पुगेको छ । हुलाकी सडक आयोजना नेपालगन्ज बाँकेका इन्जिनियर श्रवण महतराले अनुसार हालसम्म सडकको ३८ प्रतिशत भौतिक र ३५ प्रतिशत मात्रै वित्तीय प्रगति रहेको छ ।
महतराले काममा ब्यापक लापरवाही देखिएको हुँदा निर्माण कम्पनीले अग्रिम भूक्तानी स्वरुप लगेको ६ करोड भुक्तानी रकमपनि राज्यले असार मसान्तमा खिचि सकेको छ ।
हाल सडकको काम ठप्प छ । सडकको थपिएको म्यादसमेत २०८२ / ०३ / ३० गते थपिएको म्याद सकिएको छ । हालसम्म निर्माण कम्पनीले ९ किलोमिटर जति सडक कालोपत्रे गरेपनि अरु काम बाँकी छ ।
तर, निर्माण कम्पनीले आवश्यक जनशक्ति, सडक कालोपत्रेका लागि चाहिने बिटमिन, बालुवा गिट्टी जस्ता बस्तुहरु समेत खरिद गर्न नसेकेको अवस्था देखिएन आएको इञ्जिनियर महतराले बताए ।
निर्माण कम्पनी वज्रगुरु कान्छाराम जेभीले सडक निर्माणमा चरम लापर्बाही गरेको र म्याद थप गर्दासमेत सडक बन्न अवस्था नरहेको भन्दै हुलाकी सडक आयोजनाले सम्झौता खारेजका लागि फाइल सडक विभागमा पठाइ सकेको छ ।
इञ्जिनियर महतराले त्यसबारे बिभागबाट थप निर्णय हुन बाँकी रहेको बताए ।
वज्रगुरु कान्छाराम जेभी संगको संझौता तोडिएको खण्डमा फेरि प्रक्रिया पुरा गरि बाँकी सडक खण्ड निर्माणका लागि नयाँ टेन्डर आह्वान हुने महतराले बताए । महतराले हाल निर्माणको जिम्मा लिएको कम्पनीलाई काम गराउन निकै गाह्रो रहेको भन्दै संझौता तोड्नु नै राज्यका लागि उचित हुने सुझाए ।
हुलाकी मार्ग पूर्वपश्चिम राजमार्ग अन्तरगत कालाकाँटेदेखि राजपुरको गंगदीसम्म बाटो पिच भइसकेको छ । भविश्यमा बाँकेको सिक्टा हुँदै सुदुरपश्चि पुग्ने मार्ग बनाउने योजना सरकारको छ ।
हुलाकी सडकमा पुल निर्माण तीब्र
दाङको देउखुरी क्षेत्रमा पर्ने हुलाकी सडक निर्माणमा ढिलाइ भएपनि पुल निर्माणको काम भने धमाधम भइ रहेको छ । हुलाकी सडक अन्तर्गत देउखुरीको गढवा गाउँपालिका–१, वनघुस्रीदेखि राजपुर गाउँपालिका–५, गंगदीसम्मको ४० किलोमिटर सडकखण्डमा पुल निर्माण भइ रहेका छन् ।
हुलाकी सडकमा बन्न थालेका दश वटा पुलमध्ये चार वटा निर्माण पुरा भइसकेका छन । बाँकी छ वटा पुल निर्माणाधिन अवस्थामा छन् ।
राजपुर गाउँपालिका–१ के गुरुङखोला पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । २०८२ असोज २१ गते निर्माण सक्ने गरी २०७९ चैत २२ गते भैरव–नारायण जेभी बाँकेसँग ठेक्का सम्झौता भएको थियो ।
गुरुङखोला संगै सानो राप्ती खोलामा पुल निर्माण गर्ने गरी एकै प्याकेजमा ४१ करोड ५६ लाख ६७ हजार पाँच सय रुपैयाँमा एउटै निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।
हुलाकी सडक आयोजना नेपालगन्ज बाँकेका इन्जिनियर श्रवण महतराले गुरुङखोला र सानो राप्ती दुवै ठाउँमा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
इन्जिनियर महतराले पुल निर्माणको मुख्य काम सकिएर अहिले पुलमा रेलिङ, ढलानसँगै पुलको दायाँबायाँ सडकसँग मिलाउने काम बाँकी रहेको बताए । गुरुङ खोला पुलको भौतिक प्रगति ९५ प्रतिशत तथा वित्तीय प्रगति ९१ प्रतिशत पुगेको बताए ।
गुरुङ खोला संगै हुलाकी राजमार्ग अन्तर्गत पर्ने पर्सिमपुरे खोला, बौराहाखोला र चमारेसोतामा पुल निर्माणको कामपनि धमाधम भइ रहेको छ । एउटै प्याकेज अन्तर्गत तीन वटै पुल निर्माणको कामपनि उही भैरव–नारायण जेभी बाँकेले गरिरहेको छ ।
इन्जिनियर महतराले २०८२ असोज २१ गते निर्माण सक्ने गरी २०७९ चैत २२ गते ठेक्का सम्झौता भएका पुलको भौतिक प्रगति ९५ प्रतिशत र वित्तीय प्रगति ९० प्रतिशत पुगेको छ ।
त्यस्तै बबइ सोता, खौरा खोला, बुके सोता र पुतली बजारस्थित सोतामा पुल निर्माणको काम सकिएको र सोमइथान खोलामा पुल निर्माण भइरहेको इञ्जिनियर महतराले बताए ।




