दाङ, साउन १५ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेलाले बिहीबार लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको छ।
उनी पार्टी संरक्षक रेशमलाल चौधरीका बुबा हुन । उनी रेमकी श्रीमति रञ्जिता श्रेष्ठलाई विस्थापित गरि आँफु अध्यक्षमा चयन भएका हुन ।
पूर्व मन्त्रीसमेत रहेकी रञ्जितापनि प्रतिनिधिसभा सदस्य हुन । पोखराको लिचीबारी लेनदन सम्बन्धि अडियो प्रकरणमा मुछिएपछि बिबादित बनेकी श्रेष्ठले बरिष्ठ उपाध्यक्ष शिव बास्तोलाई हालसालै कार्यबहाक अध्यक्ष तोकेकी थिइन । जस्को बिरोध भइरहेको थियो ।
काठमाडौंको बानेश्वरमा बिहीबार बसेको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्षमा चयन गरेको हो । नब नियुक्त अध्यक्ष लालबीरले यसअघिकी अध्यक्ष रञ्जिता श्रेष्ठले डेढ वर्षसम्म पार्टीको बैठक नराखेको पत्रकारहरु समक्ष गुनासो गरेका थिए । तर, लालबीरले बुहारी श्रेष्ठलाई सहमतिमा आउन आग्रहपनि गरेका थिए ।
साथै अध्यक्ष लालबीरले कात्तिक १७ गते रूपन्देही क्षेत्र नम्बर ३ मा हुने भनिएको प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिनेपनि बताएका थिए ।
२०७८ सालमा रेशम चौधरी जेलभित्र रहेका बेला नाउपा गठन भएको थियो । टीकापुर प्रकरणमा बाँकी कैद माफी पाएर जेलबाट रिहा भएपछि २०८० पुसमा पहिलो महाधिवेशन गरेर रेशम पार्टी अध्यक्ष बनेका थिए।
तर निर्वाचन आयोगले वैधता नदिएपछि नाउपा पुरानै कार्यसमितिमा फर्केको थियो। सुरुमा नाउपा रञ्जिताकै नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।