दाङ,साउन ११ । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक महिना नहुँदै सरकारमा सहभागी भएको छ।
गत वर्ष साउनमा गठन भएको वर्तमान प्रदेश सरकारलाई विश्वासको मत दिएको लोसपाले गत असार १७ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
तर एक महिना नबित्दै लोसपाले आइतबार प्रदेश सरकारलाई समर्थन रहेको भन्दै प्रदेशसभा सचिवालयमा पत्र बुझाएको छ भने सन्तोषकुमार पाण्डेयलाई खेलकुद मन्त्री नियुक्त गरेको छ।
यसअघि गत असार १७ गते विपक्षी दलका सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षको बेन्च खाली गरेपछि सत्ता गठबन्धनकै सल्लाहमा सरकारलाई दिएको समर्थन फिर्ता लिएर लोसपा प्रतिपक्षमा बसेको थियो।
अर्थमन्त्री धनेन्द्र बस्नेतले प्रस्तुत गरेको आर्थिक वर्षको बजेटमा विवाद बढेपछि प्रतिपक्षी दलहरूले बजेट पास गर्ने तयारी गरेकै बेला प्रतिपक्षी रोह खालि गरेपछि सरकार अप्ठ्यारोमा परेको थियो।
प्रतिपक्ष बेन्च खाली भएपछि बजेट पास गर्न अप्ठ्यारोमा परेको सरकारलाई सघाएको थियो।
पाण्डेयलाई मुख्यमन्त्री चेतनारायण आचार्यले सम्हाल्दै आएको खेलकुद मन्त्रालय दिइएको हो।
