
तुलसीपुर, साउन ६ । नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली?बहादुर चौधरीले प्रदेश सरकारबाट ऐतिहासिक थारु राज्य सुकौराकोट संरक्षणका लागि ६ करोड बजेट हाल्ने बताएका छन् ।
तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्ष बिनिल केसीको अध्यक्षतामा तुलसीपुर बाणिज्य संघको सभाहलमा मंगलबार भएको थारु समुदायको ऐतिहासिक थलो सुकौराकोटको सभ्यता, विकास र संरक्षणका विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री चौधरीले एक करोड बजेट प्राप्त भइ सकेको भन्दै अब थप चार करोड ९५ लाख बजेटको सुनिश्चिततापनि भइ सकेको बताए ।
तुलसीपुर उपमहानगरपालिका – ११ को ऐतिहासिक थारु राज्य सुकौराकोटको बिकासलाई भन्दा दंगीशरणस्थित थारु संग्राहलय बिकासमा मात्रै चासो दिएको आरोप खेप्दै आएका लुम्बिनी प्रदेश काँग्रेस संसदीय दलका नेता चौधरीले सात करोडले चखौलाको संग्राह निर्माण हुँदा हालसम्म ६ करोड खर्च भइ सक्दापनि ऐतिहासिक सुकौराकोट दरवारको बिकास किन हुन सकेन ? भनेर पनि प्रश्न गरेका थिए ।
दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित प्रदेश सांसदसमेत रहेका चौधरीले सुकौराकोटको प्राचिनता र ऐतिहासिकताको बारेमा पनि चर्चा गरेका थिए । उनले सुकौराकोटलाई ‘कृष्ण र पाण्डवका पाइला’ का प्रतीकहरूको पबित्र स्थल रहेको भन्दै त्यसको संरक्षणमा कुनै कसर बाँकी नराख्ने बताए ।
नेता चौधरीले नवलपरासीदेखि बर्दियासम्मका थारु समुदायको इतिहास संरक्षणका लागि गुरु योजना निमाण गरि आकर्षक संग्रहालय निर्माण गर्न जरुरी रहेको बताए ।
योगी नगरहरी नाथले थारु राजा दंगीशरण थारुको सांस्कृति पक्ष वरकी मार लेखमार्फत उजागर गरेको भएपनि अब ऐतिहासिकता प्रामाणिकरणका लागि पुरातत्व बिभागबाट उत्खनन् गरि वास्तविक इतिहासलाई उजागर गरिनु पर्ने बताएका थिए ।
कार्यक्रममा थारु संस्कृतविद् अशोक थारुले सुकौराकोटलाई प्राचिन दंगीशरण थारु राजाको दरबारको रुपमा हेरिदै आएको हुँदा अब त्यसको ऐतिहासिकता उजागर गर्नका लागि पुरातत्ब बिभागसंग समन्वयगरि उत्खनन् गर्न जरुरी रहेको बताए ।
बिगतमा पुरातत्व बिभागबाट उधव आचार्यको टोलीले सुकौराकोटमा रहेका सबै रुखहरु कटान गर्न सुझाएको, त्यो माथिको डाँडामा कुनैपनि खाले मानविय हस्क्षेत गर्न नहुने जस्ता सुझाबहरु दिएको भएपनि त्यसबिपरितका गतिबिधि भइ रहेको हुँदा तत्काल त्यस्ता गतिबिधि रोकिनु पर्ने बताएका थिए ।
पुरातत्व बिभागले सुझाएका भने बिपरितका कुनैपनि मानविय क्रियाकलाप सुकौराकोटमा बन्द गर्न जरुरी रहेको उनले जोड दिएका थिए ।
नेपाल संस्कृत विश्वविद्यालयका निर्देशक डा. जर्मन चौधरीले सुकौराकोट थारु सभ्यताको मुल जरा भएको हुँदा स्थानीय अग्रसरतामा त्यसको संरक्षण र अध्ययन–अनुसन्धान आवश्यक रहेको बताएका थिए ।
लुम्बिनी प्रदेशका पूर्व योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले ऐतिहासिक दंगीशरण थारु राजाको दरबार क्षेत्र सुकौराकोटको बैज्ञानिक ढंगबाट अनुसन्धान जरुरी रहेको बताए । सुकौराकोटको बिकासका लागि निजी क्षेत्रको पनि उत्तिकै पहल हुनुपर्ने बताए ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरीले सुकौराकोट दरबारको ऐतिहासिकताको संरक्षण र जगेर्नाका लागि सबै लाग्नुपर्ने जोड दिए ।
लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीले सुकौराकोट जस्तो स्थलको संरक्षणका लागि व्यवस्थित कार्यविधि आवश्यक रहेको बताए। उनले यसलाई राजनीतिक दृष्टिकोणबाट नभई सांस्कृतिक सम्पदा स्वरूप संरक्षण गर्नुपर्ने जोड दिएका थिए ।
कार्यक्रमलाई थारु भाषा विद् रोहितकुमार चौधरी, अधिवक्ता श्रीराम चौधरी, तुलसीपुर– ११ का वडाध्यक्ष मानबहादुर रावत, तुलसीपुर– १२ का वडाध्यक्ष खुशीराम चौधरी, दंगीशरण– ३ का वडाध्यक्ष सुकलाल चौधरीलगायतले सुकौराकोटको बिकास र संरक्षणका गर्न जरुरी रहेको बताएका थिए ।
उनीहरुले बृहत योजना निर्माण, ऐतिहासिक तथ्यको दस्तावेजीकरण, संग्रहालय स्थापना र पुरातात्तिवक उत्खननको आवश्यकतामा जोड दिएका थिए ।
थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ र तुलसीपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सुकौराकोटको विकासका सवालमा सरोकारहरु लामो समय पछि एकै थलोमा बसेर छलफल गरेका हुन । जस्मा थारु अगुवा, बुद्धिजीवी, योजनाकार, स्थानीय जनप्रतिनिधिको पनि सहभागिता थियो ।
कार्यक्रममा संघका अध्यक्ष विनिल केसीले छलफलको बिषय बस्तु र उद्देश्य माथि प्रकाश पारेका थिए भने संघका प्रेस सल्लाहकार शरद रेग्मीले सहजीकरण गरेका थिए।
यसैबीच सुकौराकोटको संरक्षण र बिकासका लागि तुलसीपुर – ११ बेलगनारका जनकुलाल चौधरीको संयोजकत्वमा छलफलले एउटा समितिपनि गठन गरेको छ ।
त्यसक्रममा थारु सस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै थारु कल्याणकारी सभा क्षेत्र नं. ३ दाङले तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसिलाई कदर पत्रसहित सम्मान गरेको थियो ।


