तुलसीपुर, असार २० । घोराहीमा एक जना एकल महिलाको एक करोड बढी मूल्यको जग्गा एक युवकले झुक्याएर अर्कैलाई बेचेको खुलेको छ ।
घोराही उपमहानगरपालिका–१४ सरस्वती टोलकी ६६ बर्षीया मुलजिता रोकाको नाममा रहेको वडा नम्बर ७ सौडियारस्थित कित्ता नम्बर ३ क ९२६ नम्बरको १० कठ्ठा ८ धुर जग्गा जालसाजी गरि बिक्रि गरेको तथ्य फेला परेको छ ।
घोराही– १५ का रन्जित भनिने टीका बुढाले मुलजिताको जग्गा जालसाजी पूर्वक अर्कै ब्यक्तिलाई बेचेको आरोप लागेको छ । रन्जित नेकपा माओबादीका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराको कान्छा छोरी ज्वाँइ हुन ।
जस्ले मुलजिताको नाममा रहेको उक्त जग्गा ‘जनज्योति पशुपालक कृषक सहकारी संस्था’बाट कृषि प्रयोजनका लागि भन्दै २०७८ असार १६ गते वार्षिक २४ हजार रुपैयाँमा १० वर्षको सम्झौतामा लिएका थिए ।
जमिन भाडा लिने सम्झौतामा साक्षी रन्जित आँफै बसेका छन् । जमिन सँझौताको कागजात हेर्दा दुवै पक्ष बीच २०७८ असार १६ गते जग्गा भाडामा दिने सहमति भएको देखिन्छ । सम्झौता भएको १२ दिनपछि २०७८ असार २८ गते उक्त जग्गा अर्को व्यक्तिको नाममा पास भएको देखिन्छ ।
टीका बुढाले २० लाखको कागजी मू्यांकन देखाएर लक्ष्मण शर्मालाई २०७८ असार २७ गते लिखत तयार पारी २८ गते बिक्रि गरेको लालपूर्जाको प्रमाण फेला परेको छ ।
यसको केही महिनापछि त्यो जमिन पुनः विक्री गरिएको छ । लक्ष्मण शर्मा नाम गरेको व्यक्तिले उक्त जग्गा करिब ६ महिनापछि अर्थात २०७८ पुस २० गते घोराही उपमहानगरपालिका – १५ का पर्शुनारायण श्रेष्ठलाई विक्रि गरेको पाइएको छ ।
करोडौं रुपैयाको जमिन श्रेष्ठले किन्दा पनि २० लाख रुपैयाँ नै मुल्यांकन गरेर बिक्रि गरेको भेटिएको छ । जग्गा धनीलाई सोधपुछ नै नगरी आफ्नो नामको जग्गा बिक्रि गर्ने काममा धेरै जनाको मिलेमतोको आशंका गरिएको छ ।
आफुले भाडामा दिइएको जग्गा अरुलाई किन बिक्रि भन्ने बारे टिका बुढासँग कुराकानी गरेपनि अहिलेसम्म कुनै सुनुवाई नभएपछि बाध्य भएर घटना सार्वजनिक गरेको पत्रकार सम्मेलनमा उनले बताएकी थिइन ।
व्यक्तिको नाम र प्रतिष्ठामा राजनीतिक, सामाजिक आँच किन ल्याउने भन्दै जग्गा फिर्ता गराई दिन पटक–पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर समस्या सार्वजनिक गरेको मुलजिताले बताइन ।
पीडित मुलजिताका अनुसार, जग्गा भाडा वापत दोस्रो पक्षले चार पटक गरेर एक लाख २० हजार बुझाएको छ । सँझौता गर्दा पनि पाँच/पाँच बर्षमा भाडा बुझाउने उल्लेख गरिएको छ । जग्गाको भाडा सँझौता भएको १० बर्षपछि दुवै पक्षको सहमतीमा बृद्धि गरिनेछ भन्ने उल्लेख गरिएको छ ।
जवकी सामान्यतयाः कुनै पनि जमिन वा भवनको भाडा दुई बर्षमा १० प्रतिशतका दरले बृद्धि हुने भन्ने हुन्छ । भाडा पनि बढीमा छ महिनाको दरले बुझाउने भन्ने हुन्छ तर जमिन भाडाको सँझौता गर्दा पाँच बर्षको एक मुष्ट बुझाउने लेखिएको छ ।
पीडित मुलजिताका अनुसार, आफु एकल महिला रहेको तथा छोरी पढाईको सिलसिलामा जिल्ला बाहिर बस्ने हुँदा पढाई खर्च धान्न भन्दै जग्गा भाडामा लगाएको बेला टीका बुढाले जालसाजी गरी बिक्रि गरेको बताउँछिन ।
आफ्नो जमिनको तिरो बुझाउनका लागि वडा कार्यालयमा गएको बेला आफ्नो जग्गा बिक्रि भइसकेको थाहा पाएपछि छाङ्गाबाट खसेझंै भएको उनले बताइन । ‘भाडामा दिएको जमिन विक्री भइसकेको भन्ने थाहा पाएपछि छाँगाबाट खसे झै भए,’ उनले भनिन् ।
आरोपित टीका मुलजिता रोकासंग सहकारीका नाममा सँझौता गर्दा साक्षीका रुपमा आँफै बसेका छन भने लक्ष्मण शर्मालाई विक्री गर्दा पनि उनी आmँपै साथी बसेको स्पष्ट खुल्छ ।
मुलजिताले आफूलाई सहकारीको सँझौता मालपोत कार्यालयमा गर्नुपर्छ भनेर बोलाएपछि गएको र आफूलाई केही पनि थाहा नदिएर झुक्याएर अहिले जग्गा अर्कैको नाममा पुगेको थाहाँ पाएको बताइन ।
मालपोतको झ्यालबाट कागजातमा लेप्चे लगाउन पठाएको तर आफूलाई यसका बारेमा केही थाहा नभएको उनले बताइन ।
टिका बुढा माओवादी नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराका जुवाई भएकाले यो घटनाका बारेमा महरासंग पनि कुरा गरिएको मुलजिताले बताएकी थिइन ।
दुई बर्ष अघि घटनाका बारेमा महरालाई जानकारी गराउँदा पनि हालसम्म सुनुवाई नभएपछि बाध्य भएर पत्रकार समक्ष आउनु परेको मुलजिताले बताइन ।
सो घटनासँग जोडिएका अरु पीडित पनि पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । जनज्योति पशुपालक कृषक सहकारी संस्था स्थापना गरी जागिरको प्रलोभन देखाएर आफुलाई पनि फसाएको विरु घर्ती मगर र दीपा बुढाले पनि बताएका थिए ।