२०८२ बैशाख ३० गते सोमवार

नेपाल प्रेस युनियनले शनिबारदेखि लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिट गर्दै

दाङ, बैशाख २६ । नेपाल प्रेस युनियनले शनिबारदेखि लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिट यात्रा गर्ने भएको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनका अध्यक्ष शिव लम्सालले वैशाख २७ गतेदेखि ३० गतेसम्म लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिट यात्रा हुने र त्यसको तयारी पुरा भएको बताएका थिए ।

समृद्ध नेपालका लागि बहुआयामिक परिवर्तन र समाज रूपान्तरणमा योगदान दिने उदेश्यका साथ लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिट यात्रा गरिएको उनले बताएका थिए ।
यात्रा काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङसम्म सञ्चालन हुने छ ।

समिटमा विश्वको बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर, चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नुपरेका समस्या , दक्षिण एशियामा पत्रकारिताको प्रभावबारे विभिन्न ६ मुलुकका विषय विज्ञहरूको प्रस्तुती रहने अध्यक्ष लम्सालले बताए ।

केन्द्रीय उपाध्यक्ष नकुल अर्यालले समिटमा ‘जलवायु संकट र पत्रकारिता’, ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ तथा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा छलफल हुने जानकारी दिएका थिए ।


मुस्ताङको आमसोममा स्थानीयको सहभागीतामा ‘जलवायु संकटमा मिडियाको भूमिका’ बारे अन्तरक्रिया हुने उनले बताए ।


उपराष्ट्रपति रामसहायप्रसाद यादवले समिटको वैशाख २७ गते ललितपुरको होटल हिमालयमा बिहान ९ बजे उद्घाटन गर्ने छन् ।


कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगाएत विभिन्न मुलुकका पत्रकारहरूले सम्बोधन गर्ने तालिका रहेको छ ।

विदेशी पत्रकारसहित करिब एक सय पचास जना पत्रकार सहभागी हुने समिटको यात्रा काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङको लोमान्थाङसम्म पुग्ने छ ।

प्रकाशित मिति : २०८२ बैशाख २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *