तुलसीपुर, फागुन २१ । तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि तुलसीपुर खानेपानीमा त्रिपक्षी भिडन्त हुने निश्चित भएको छ ।
आगामी नेतृत्वका लागि नेपाली कांग्रेसका, नेकपा एमाले र राप्रपाको संयुक्त प्यानल र नेकपा माओबादी केन्द्रको तर्फ बाट प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
काँग्रेसबाट अध्यक्षमा वर्तमान अध्यक्ष यमकान्त भण्डारीसहितको प्यानलले उम्मेदवारी दर्ता गराएको छ ।
भण्डारीको टिमबाट उपाध्यक्षमा नारायणप्रशाद शर्मा, सचिवमा रञ्जनकुमार गौतम र कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष भोला थापाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै महिला सदस्यहरुमा काँग्रेसको तर्फबाट लुमा बुढा मगर, सुष्मा अधिकारी, शारदा सार्की र खुल्ला सदस्यहरुमा प्रमोदकुमार योगी (शरद) र बुद्धिराम चौधरीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै एमाले र राप्रपा मिलेर संयुक्त रुपमा उम्मेदवारी दिएका छन् ।
एमाले बाट अध्यक्षमा पूर्व सचिव मनोज लामिछानेले उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्षमा राप्रपाका तर्फबाट लक्ष्मण केसी उम्मेदवारी दिएका छन् । सचिवमा एमालेका भुवन भुसाल, कोषाध्यक्षमा सुशिला न्यौंपानेले उम्मदवारी दर्ता गरेकी छिन ।
त्यस्तै महिला सदस्यहरुमा एमालेका छमा भण्डारी, प्रमिला तिवारी र सुशिला वलीले उम्मेदवारी दर्ता गरेका छन् ।
पुरुष खुला सदस्य पदमा पनि एमालेकै पदमबहादुर खड्का र सुकन्ठ न्यौपाने (सुशिल) ले उम्मेदवारी दिएका छन् ।
तुलसीपुर खानेपानीको आगामी नेतृत्वको लागि माओबादी केन्द्रको तर्फवाट उम्मेदवारी परेको छ । माओबादीबाट सिताराम शर्मा आचार्यले सुरुमा दश बजेर ९ मिनेट जाँदा आफ्नो टिमका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए ।
सीताराम संस्थाको निवर्तमान उपाध्यक्ष हुन ।
यो टिमबाट उपाध्यक्षमा दुर्गाप्रशाद भण्डारी र सचिवमा रुपबहादुर वलीले उम्मेदवारी दिएका छन् ।
माओबादीको यो टिमबाट कोषाध्यक्षमा भने उम्मेदवारी परेको छैन ।
माओबादीको तर्फबाट महिला सदस्यमा कमला चौधरी, मनिसा शेर्पाइली र डिला परियारले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै खुल्ला सदस्यमा मनबहादुर वली र खगेश्वर भण्डारीले उम्मेदवारी दर्ता गराएको खानेपानीका कर्मचारी चिरण खड्काले जानकारी दिए ।
तुलसीपुर खानेपानीको खुल्ला सदस्य पदमा माधव गिरी, प्रेम कवर र शोभाराम पुनले उम्मेदवारी दिएका छन् । खुल्ला सदस्यमा दूई जनाको ठाउँमा नौं जनाको उम्मेदवारी परेको हो ।
यो हिसावले दलगत रुपमा खुल्ला सदस्यमा उम्मेदवारी दिने ६ जना हुनुपर्नेमा तीन जना बढीको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस्तो छ – निर्वाचत समितिको तालिका
निर्वाचन समितिका अनुसार बुधबार मनोनयन दर्ता पछि उम्मेदवारको नामाबली प्रकाशसन सोही दिन बेलुकी ५ बजे गरिने छ । खानेपानीका कर्मचारी चिरण खड्का अनुसार फागुन २२ बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको नामावली उपर दाबी बिरोधको समय तोकिएको छ ।
फागुन २३ गते बेलुका ५ बजेसम्म संशोधित नामाबली प्रकाशन, २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।
उम्मेदवारको अन्तिम नामाबली प्रकाशस २६ गते बिहान ११ बजेसम्म तोकिएको छ भने सोही दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारलाई चुनाब चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।
निर्वाचन चैत २ गते बिहान साढे ७ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तुलसीपुरको अरनिको मैदानमा हुने छ । त्यो निर्वाचनले तीन बर्षे कार्यकालका लागि नौं सदस्य नयाँ कार्य समिति चयन गर्ने छ ।
यो बर्ष खानेपानीको नेतृत्व चुन्न दश हजार नौं सय ७० जना खानेपानीका उपभोक्ताले मताधिकार पाएका छन ।