२०८१ चैत्र ९ गते शनिवार

तुलसीपुरको बिगत र बिकास क्रम कसरी सुरु भएको थियो ?

स्वर्गिय देवबहादुर केसी, गोपीनाथ योगी र ढुण्डिराज लामिछाने संग गरिएको सम्बाद

तुलसीपुर, माघ १४ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ टिक्रापातुका पूर्व माननिय देवबहादुुर केसीको २०८१ माघ ८ गते दिउँसो निवासमै ९४ बर्षीयको उमेरमा निधन भयो ।

केसी ९१ बर्षको छँदा माघ महिनामै निवासमै पुगेर तुलसीपुरको बिगत र बिकास क्रमका बारेमा मैले लामो सम्बाद गरेको थिए ।
स्वर्गिय केसीका अनुसार तुलसीपुर बजारको विकास क्रममा तत्कालीन अञ्चलाधीस चन्द्रमान थकालीको ठूलो भूमिका छ ।

थकाली पूर्वी नेपालका मानिस थिए । जस्ले विक्रम सम्वत २०३० को दशकमा तुलसीपुरमा टाउन प्लानिङ गरेर बजारको बिस्तार र विकासको थालनी गरे थिए ।


स्वर्गिय देवबहादुर केसी, तुलसीपुर सरोकार मञ्चका अध्यक्ष ७० बर्षीय गोपीनाथ योगी र तुलसीपुर नगरपालिकाका संस्थापक मेयर ८० बर्षीय ढुण्डीराज लामिछाने संगपनि हामीले भेटेरै तुलसीपुरको बिकास क्रमका बारेमा उतिबेलै लामो सम्बादत गरेका थियौं ।
स्व.देवबहादुर केसी

स्वर्गिय केसी, योगी र लामिछाने तीनै जनाका अनुसार उतिखेर अहिलेको तुलसीपुर बजारमा दुई स्थानमा मात्रै थारु बस्ती थियो । ती बाहेक अरु कुनैपनि घरहरु थिएनन् ।


तत्कालिन तुलसीपुरमा अहिलेको ‘नामीनगर’ र ‘आदर्शनगर’ मा मात्रै थारु समुदायका १० देखि १५ वटा छाप्राहरु थिए ।
‘आदर्शनगर’लाई उतिखेरै ‘तुलसीपुर’ भन्ने गरिन्थ्यो । स्वर्गिय केसीका अनुसार ‘नामीनगर’ र ‘तुलसीपुर’ गरी यी दुईवटा राजाका मौजा थिए ।


अहिलेको राप्ती प्रादेशिक अस्पताल रहेको ठाउँमा रहेको दरबार र त्यसको उत्तरतर्फ दुईवटा थप सरकारी भवनबाहेक अरु कुनै घरहरु थिएनन् । त्यसमध्ये एउटा घर अहिलेको बृद्ध आश्रम बसेको घरपनि हो । जो चार बर्ष पहिले भत्काएर आधुनिक भवन निर्माण गरिएको छ ।


तुलसीपुर उत्तर तर्फ कुनैदिन उनीहरुकै मौजा थियो । जस्लाई आजपनि पातुखोले केसी भन्ने गरिन्छ । स्वर्गिय २०१९ सालदेखि २०३० सालसम्म नगर निर्माण समितिका सभापति थिए । उनी २०३८ सालमा माननीय भएका थिए ।


केसी २०२३ सालमा तत्कालिन अञ्चलाधीस रामनारायण श्रेष्ठले गठन गरेको नगर निर्माण समितिका सभापतिसमेत हुन । उनकै पालामा अञ्चल पञ्चायत खारेज भयो । पछि अञ्चल सभाको सभापति फेरि केसी आँफै चुनिए ।

अञ्चल सभापति चुनिएपछि केसीले नै हात्तीखौवादेखि बीरेन्द्र चोक र वीरेन्द्र चोकदेखि एयरपोर्टसम्म बाटो बनाउन भूमिका खेलेका थिए ।


उतिखेर श्रमदानबाट बाटो निर्माण गरिएका थिए । केसीका अनुसार कतिपयलाई भने त्यो समयमा दैनिक दुई रुपैंयाको ज्यालादारीमा काम लगाइएको थियो ।


त्यसपछि २०३२÷०३३ सालतिर अञ्चलाधीस चन्द्रमान थकाली तुलसीपुर आए । उनैले पहिलेका राजाहरुले बेची सकेको जग्गा जनताबाट किने । चन्द्रमानले नै टाउन प्लानिङ गरी घडेरी बिक्री गरेर जनतालाई घडेरी तथा जग्गाको पैसा तिरेको केसीले बिगत बताए ।


केसीका अनुसार तुलसीपुर बजारको मुटुमो रहेको एक मात्र खेल मैदान ‘अरनीको मैदान’मा तत्कालीन समय तोरीबारी थियो । त्यहाँ मानिसहरु खरायोको शिकार गर्न जाने गर्दथे ।

स्थायी रुपमा अञ्चलाधीस बस्न थालेपछि विस्तारै तुलसीपुरमा सानातिना चिया र खानाका होटेलहरु खुल्न थालेका हुन । त्यसपछि बल्ल मानिसहरुको चहल पहल तुलसीपुरमा सुरु भएको हो ।


केसी, योगी र लामिछाने तीनै जना अञ्चलाधीस तुलसीपुरमा स्थायीरुपमा बसोबास गर्न थालेपछि तुलसीपुर बजारको विकास क्रम सुरु भएको कुरामा सहमत छन् ।

बिक्रम संबत २०१९ सालपछि नेपाललाई विकेन्द्रिकरणको सिद्धान्त अनुसार १४ अञ्चल र ७५ जिल्ला बनाइएको हो । राप्ती अञ्चलको प्रथम अञ्चलाधीस आएपछि विकास क्रमले गति लिन थालेको तुलसीपुर सरोकार मञ्चका अध्यक्ष समेत रहेका योगी बताउँछन् ।


योगी तुलसीपुर ५ नामीनगरका स्थायी बासिन्दा हुन । योगीको परिवार उनका बाजे रामलाल योगीको पालादेखि नै नामीनगरमा बस्दै आएको छ । नामिनगरमा रामलाले २०११ सालमा बनाएको घर अझैं छ ।

गोपिनाथ योगी ।
योगीका अनुसार तुलसीपुरमा पहिलो अञ्चलाधीसका रुपमा कृष्णमान श्रेष्ठ आएका थिए । तर, श्रेष्ठ सल्यानमा गएर बसे । हिउँदमा पश्चिम क्षेत्रको सबैभन्दा ठूलो हाटबजार तुलसीपुरको मानपुरमा लाग्ने गर्दथ्यो । तुलसीपुर–घोराही सडक खण्ड निर्माण पछि दाङको पुरानो हाट बजार मानपुर बिस्तारै ओझेल पर्दै गएको हो । त्यसपछि तुलसीपुर र घोराहीमा ठूला बजार बिस्तार हुँदै गएका हुन ।


त्यही मानपुरमा जाडो याममा श्रेष्ठ सल्यानबाट आएर बस्ने गर्दथे । गर्मीमा सल्यानको खलंगा गएर बस्थे । किनकी, उतिखेर दाङमा औलोको जोखिम थियो ।
योगीका अनुसार दोस्रो अञ्चलाधीसका रुपमा सत्यनारायण झाँ आए । झाँ आएपछि सल्यानी राजाको तुलसीपुरस्थित खाली दरबारमा बस्न थाले । त्यसपछि बल्ल तुलसीपुरमा बजारको चहलपहल बढेको योगी बताउँछन् ।


त्यसपछि २०२३ सालमा रामनायारण श्रेष्ठ अञ्चलाधीसका रुपमा आएका थिए । श्रेष्ठले नै २०२४ सालमा स्थानीय शिवप्रसाद शर्मासँग १५ विगाह जग्गा किने । अरनीको मैदानमा आफ्ना लागि ‘क्वाटर’ निर्माण गरे । त्यसले तुलसीपुरमा बस्ति विकाशको सुरुवात गरेको योगीले बताए ।

योगीका अनुसार त्यतिखेर बजारको मुख्य चोकको जग्गा एक विगाहलाई दुई हजारको दरले खरिद बिक्रि हुने गर्दथ्यो। २०३२÷२०३३ सालतिर अञ्चलाधीस चन्द्रमान थकाली आएपछि तुलसीपुर बजारको नशांकन भयो । उनैले तुलसीपुर बजार बसाल्न महत्वपूर्ण भूमिका खेले ।


‘उतिखेर अञ्चलाधीश थकालीले एक बिगाहाको (प्रति विगाह) सात हजारका दरले तुलसीपुरको वीरेन्द्र चोकदेखि बाहिनी चोकसम्मको जग्गा खरिद गरे,’ योगीले भने ‘ उनै चन्द्रमानले तुलसीपुरको टाउन प्लानिङ गराए । तुलसीपुर बजारको रुप रेखा कोरे ।’ तर, त्यसो गर्दा उनले मौखिक रुपमै विश्वासमा जग्गा लिएका थिए । पछि घडेरी बचेर सबैलाई पैंशा फिर्ता गरेको योगी बताउँछन् ।


त्यसयता तत्कालिन नगर विकास समितिले गरेको विस्तार भन्दा अहिलेसम्म नगर विकास समितिले तुलसीपुरमा एक इञ्चपनि भूभाग विस्तार गर्न नसकेको योगीको दाबी छ ।

योगीका अनुसार तुलसीपुर – ९ दोघरेका दिनेश डाँगी नगर विकास समितिको सभापति हुँदाको समयमा भने दोघरेमा टाउन प्लानिङ गरेका थिए ।


तत्कालिन समय तुलसीपुरको ऐतिहासिक सडक अहिलेको ‘नामीनगर’ टोल अर्थात ‘ङ’ लाइन नै रहेको योगी बताउँछन् । सोही नामीनगरको बाटो हुँदै सल्यान, रुकुम, रोल्पा, नेपालगन्ज र डोल्पासम्म पैदल वा घोडा मार्फत आवतजावत हुने गर्दथ्यो ।

योगीका अनुसार २०१८ सालमा उनी साबिक टरिगाउँ गाविस हालको तुलसीपुर–१२ कपडादेबीस्थित महेन्द्रमाबिमा पढ्न जाँदा खेतको आलि–आली पैदल हिडेर स्कूल आउ जाउ गर्थे । ‘पहिलेको अञ्चल प्रहरी कार्यालय जाने बाटो बाहेक अन्यत्र कतै बाटो थिएन,’ योगीले भने ‘उक्त स्थानलाई त्यतिबेला मनैयाडाँडा भन्ने गरिन्थ्यो र त्यहाँ मानिसका शवहरु गाड्ने गरिन्थ्यो ।’


अहिलेको प्रदेश प्रहरी इकाइ कार्यालय रहेको उक्त ठाउँमा पहिले ‘सर्कल कार्यालय’ वनको क्षेत्रीयस्तरको कार्यालय थियो । सर्कल कार्यालयले निर्माण गरेको भौतिक संरचनामा पछि प्रहरी कार्यालय बसेको योगी बताउँछन् ।


तुलसीपुरको बिकाश क्रमका अध्यता समेत रहेका योगी विक्रम सम्वत १९८६ मा सल्यानका राजाले तुलसीपुरमा आफ्ना लागि दरबार बनाएको बताउँछन् । तत्कालिन राजा जाडो याममा तुलसीपुर र गर्मी याममा सल्यानको फालाबाङ बसेर राजकाज सञ्चालन गर्दथे ।

‘तुलसीपुरको दरबार शिशिर कालिन थियो र सल्यानको दरबार ग्रिष्मकालिन,’ योगीले भने ‘ जोडो छल्न राजा दाङको तुलसीपुर दरबारमा बस्थे र गर्मी याममा सितलताका लागि फालाबाङस्थित पुतली दरबारमा बस्न जान्थे ।’


उतिखेर तुलसीपुरको अरनीको मैदान नजिकै हालको राप्ती प्रादेशिक अस्पताल रहेको स्थानमा राजाको दबरबार र त्यो भन्दा केही उत्तर तर्फ झिंगटीले छाएका दुईवटा घरहरु मात्रै रहेको योगी बताउँछन् ।


योगीका बाजे रामलाल योगीले बिक्रम सम्बत २०११ सालमा तुलसीपुरको नामीनगरमा चुन, भटमासको पिठो र माटोबाट निजी घर निर्माण गर्न लगाएका थिए । योगी अहिलेपनि सोही घरमा बस्छन् । अहिले सम्म तुलसीपुर बजारको सबैभन्दा पुरानो घर उनकै हो । त्यही घरमा बिक्रम संबत २०२२ सालमा राष्ट्रिय वाणिज्य बैंक बसेको थियो । जो तुलसीपुरको पहिलो बैंक थियो ।


योगी र पूर्व मेयर ढुण्डीराज लामिछानेले तुलसीपुरको बजारमा ‘डुम्रीगाउँले कुलो र बरुवागाउँले कुलो’ ले तत्कालिन समयमा सिंचाई हुने बताए । योगीका अनुसार तत्कालिन प्रधानपञ्च स्वर्गिय डिल्लीबहादुर खड्काले तुलसीपुरमा सिंचाइको व्यवस्थापन राम्रोसँग गरेको हुँदा नै पटक÷पटक चुनाव जितेर प्रधानपञ्च बन्न सफल भएको तर्क गरे ।

ढुण्डीराज लामिछाने

तुलसीपुर ४ रक्षाचौर निवासी खड्का सिंचाई कुलो ब्यबस्थापन राम्रो संग गरेकै कारण उतिखेर समाजमा निकै लोकप्रिय थिए । जस्ले लगातार १८ बर्ष प्रधानपञ्च हुने अवसर पाए । तुलसीपुरको नेतृत्व गरे । उत्तर दक्षिण बग्ने पातुखोलाको शिरानमा खड्का परिवारको बसोबास छ ।


२०१३ सालमा एयरपोर्टमा विमान बसेपछि तुलसीपुरको चर्चा देशभर सुरु भएको योगी बताउँछन् । २०३६ सालको जनमत संग्रह र माओवादीको सशस्त्र युद्धपछि त्रासका कारण बजार ह्वात्तै विस्तार भएको हो ।


अहिले तुलसीपुरको मुख्य बजार भन्दा पातुखोला क्षेत्रमा ठूलो बस्ति बिस्तार भइसकेको छ । माओबादी युद्ध उत्कर्षमा पुग्दै गर्दा रोल्पा, रुकुम, सल्यानबाट आएका मानिसहरु सार्वजनिक जग्गा अतिक्रम गरि बस्न सुरु गरेका थिए । तर, तत्कालिन त्रासको समयमा कसैले कसैलाई केही भन्न सक्ने अवस्था थिएन । त्यसैले बस्ति एकाएक ह्वात्तै बढेको हो भन्ने मत तीनै जनाको मत थियो ।

पूर्व मेयर ढुण्डिराज लामिछाने तुलसीपुर ६ डुर्मीगाउँका स्थायी बासिन्दा हुन । तुलसीपुरको बिकास क्रममा उनको पनि महत्वपूर्ण योगदान छ । जस्लाई तुलसीपुरको बिकास क्रम कसरी सुरु भयो भन्ने राम्रो हेक्का छ ।


लामिछाका अनुसार उनले थाहाँ पाउँदा तुलसीपुरमा पहिलो होटेल गुरुङ जातका एक ब्यक्तिको थियो । एक वर्ष जति लामिछानेपनि होटेल गरेका थिए ।


दरबारको उत्तर तर्फ लामिछानेका ठूला दाजु दुर्गाप्रसाद लामिछाने र टोपजंग शाह मिलेर सामान्य चिया नास्ताको होटेल खोलेका थिए । तर, एक बर्ष पछि त्यो होटेल पछि उनीहरुले छोडेका लामिछाने बताउँछन् ।

तुलसीपुरका राजा रजौटाहरुको इतिहास

स्वर्गिय पूर्व माननीय केसीका अनुसार गोर्खाली राजा पृथ्वीनारायण शाहले एकीकरणको अभियान चलाउने समयमा तुलसीपुरमा ‘तुलसीपुरे’ राजा बस्ने गर्दथे । ती राजाका सिजन अनुसार वाताअनुकुलित दुईवटा दरबारहरु थिए ।

उनी जाडो याममा एउटा र गर्मी याममा अर्कौ दरबारमा बस्थे । उतिखेर सल्यानमा अलग राजा थिए । ‘तुलसीपुरे’ राजाले नै दाङमा पर्ने नेपाल– भारत सीमा क्षेत्र खंग्रा नाका, भौका नाकाहरुको सीमाना निर्धारण गरेको केसीले बताएका थिए ।

काालान्तरमा गोर्खालीहरु राज्य एकीकरण गर्दै आउन थाले । सल्यानी राजाहरुले पनि गोर्खालीहरुलाई नै साथ दिए । त्यसपछि ‘तुलसीपुरे’ राजा त्रासले यहाँबाट भागेर इण्डिया गएको कुरा आँफुले सुनेको केसीले बताएका थिए ।

केसी थाहा पाउने हुँदासम्म तुलसीपुरमा सल्यानी राजाको नै राजकाल चल्ने गर्दथ्यो । ‘उतिखेर अरनीको मैदानमा रातो रङको सल्यानी राजाको एउटा दरबार थियो,’ केसीले भने ‘पछि त्यो दरबार भत्काइएको हो ।’


तुलसीपुर क्षेत्र सरोकार मञ्चका अध्यक्ष गोपीनाथ योगी उनीहरु राजा शम्शेरबहादुर शाहका सन्तती भएको बताउँछन् । योगीका अनुसार तुलसीपुर र फालावाङमा राज गर्ने शासकहरु सिंहवंशी थिए । उनीहरुको ग्रिष्मकालिन मुकाम फालावाङ र शितकालिन मुकाम तुलसीपुरमा थियो ।

१७औँ शताब्दीमा सल्यानी राजा श्रीकृष्ण शाह पूर्वका सग्राम शाहले ती सिंहवंशीहरुको हत्या गरी बाँकीलाई लखेटेको योगीले बताए । संस्कृतिविद् डिल्लीबहादुर वलीले सग्राम शाहका अग्रजले ती सिंहवंशीहरुलाई आफ्नी चेलीपनि दिएका थिए र उनीहरुले आफ्नै भान्जी पट्टीकाहरुलाई दाङबाट लखेटे । त्यसपछि ती सिंहवंशीहरु भारतको ‘तुलसीपुर’ गएर बस्न थालेका हुन भनेर उल्लेख गरेका छन् ।

योगीका अनुसार संग्राम शाहका झन्डै चार पुस्तापछिका श्रीकृष्ण शाहका छोरा रणभिम शाहलाई पृथ्वीनारायण शाहले आफ्नी छोरी विलास कुमारीसँग विवाह गरिदिए । पछि राजा रणबहादुर शाहले आफ्नी फुपू विलाश कुमारीलाई दाङ र सल्यान राज्य विर्ताको रुपमा प्रदान गरेका थिए ।


उनकै सन्तती शम्शेरबहादुर शाहले १९८६ मा हाल तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल भएको स्थानमा दरबार निर्माण गरेको योगी बताउँछन् ।


राजा महेन्द्रले राज्य रजौटा प्रथा उन्मूलन गरेपछि तुलसीपुरबाट सल्यानी राजा पलायन भए । त्यसपछि उक्त दरबारमा तत्कालीन शाही नेपाली सेना बस्ने थाल्यो । रतननाथ मठका गुठियार पुजारी खलकका सन्ततिसमेत रहेका योगीका अनुसार सल्यान र तुलसीपुरमा राजकाजको इतिहास झन्डै १ हजार ३ सय वर्ष पुरानो हो ।


परापूर्वक कालदेखि नै सिद्धरत्ननाथसँग तत्कालिन राजाहरुको सम्बन्ध र पूजाआजाको परम्परा रहेको हुँदा रतननाथ भगवानलाई ६ महिना तुलसीपुर र ६ महिना फालावाङ सार्ने गरिन्थ्यो ।

तुलसीपुर नाम कसरी रह्यो ?

पूर्व माननीय स्वर्गीय देवबहादुर केसी ‘तुलसीपुर’को नामाकरण तत्कालिन भारतको ‘तुलसीपुर’ भन्ने स्थानवाट यहाँ आएका ‘तुलसीपुरे राजा’को नामसंग जोडिएर तुलसीपुर बजारको जन्म भएको सम्भावना औंल्याएका थिए ।


दाङको गढवा गाउँपालिका – ६ अन्तरगत पर्ने कोइलाबास नाकाको ठिक परपट्टी छिमेकी देश भारतको ‘तुलसीपुर’ भन्ने बजार अहिले पनि छ ।


‘त्यही स्थानका एकजना राजा आएर दाङको तुलसीपुरमा राजकाज चलाउन थालेपछि उनी आएकै स्थानको नाम तुलसीपुरबाट ‘तुलसीपुर’ भन्ने नाम राखिएको कुरा मैले अग्रजहरुबाट सुनेको हो,’ केसीले भनेका थिए ।


तुलसीपुर क्षेत्र सरोकार मञ्चका अध्यक्ष योगी भने भारतको ‘तुलसीपुर’ को नामबाट दाङको ‘तुलसीपुर’ बजारको नामाकरण भएको हो कि ? दाङको तुलसीपुरको नामबाट भारतको तुलसीपुर भन्ने नामाकरण भयो ? भन्ने स्पष्ट आधार आफूले अहिलेसम्म फेला पार्न नसकेको बताए ।

तर, योगी उतिखेर जो कोही जहाँबाट स्थान्तरण भई जहाँ गएपनि उस्ले आफ्नोपन लगेर जाने हुँदा उता भारतको तुलसीपुरका राजा यता दाङ आउँदा उताको नाम राखिएको हुन सक्ने सम्भावना नकार्न नमिल्ने तर्क गरे ।

१७औँ शताब्दीमा सल्यानका फालावाङ्गी राजाले दाङको ‘तुलसीपुर’मा राज गर्दै आएका सिंहवंशी राजालाई यहाँबाट लखेटेपछि उनीहरु भारतको तुलसीपुर भन्ने स्थानमा गएर बसेको हुँदा संभवतः दाङको तुलसीपुरबाट त्यताको नामाकरण भएको हुनसक्ने संभावना पनि उत्तिकै रहेको उनले बताए ।


त्यससंग मिल्ने उनले उदाहरण पनि प्रस्तुत गरे ।
जस्तो बाजुराबाट छिल्ली वंशका राजाहरु तुलसीपुर– १९ विजौरीको छिल्लीकोटमा आइ बसोबास गर्दा त्यस ठाउँको नाम छिल्लीकोट रहन गयो ।


त्यस्तै उनीहरुले बाजुरामा रहेको ‘कालिका मालिका’ मन्दिरको स्थापना समेत गरेका छन् । अहिले पनि बिजौरीको छिल्लीकोट र कालिका मालिका मन्दिरको उही नाम छ । ठिक यसै गरि भारतको तुलसीपुरबाट आएका राजाकै कारण तुलसीपुर नामाकरण भयो कि ? भन्ने मत बलियो देखिने योगी तर्क गर्छन ।

तुलसीपुर नगरपालिकाका पूर्व मेयर ढुण्डिराज लामिछाने पनि तुलसीपुर बजारको नामाकरणको बारेमा अहिलेसम्म आफूले तथ्यपरक आधार फेला पार्न नसकेको बताउँछन् । लामिछानेले तत्कालिन राजा रजौटाकै नामबाट तुलसीपुरको नामाकरण भएको हुन सक्ने संभावना भने औंल्याए ।

लामिछानेका अनुसार हालको तुलसीपुर – १० र साबिक टरिगाउँको गौरीगाउँमा गौरी ताल छ । त्यहाँ पानी खान बस्तु चौपया ‘गौरीने’ जम्मा हुने भएको हुँदा त्यही गौरीने शब्द अपभ्रंस भई गौरीगाउँ नामाकरण भएजस्तै भारतको तुलसीपुरबाट आएका राजाको नाम नभनी ‘तुलसीपुर’ नामाकरण भएको हुनसक्ने बढी संभावना रहेको बताए ।


तत्कालिन समयमा तुलसीपुरमा थुप्रै सशाना बुट्यानहरु थिए । बहुउपयोगी बनस्पति ‘तुलसी’का बोटहरु प्रशस्तै पाइन्थे । त्यही भएर तुलसीको बोटबाट ‘तुलसीपुर’ नामाकरण भएको ठान्नेहरु पनि धेरै छन् ।


तर, यसमा सत्यता छ भन्ने लिखित र तथ्य आधारहरु कसैसंग उपलब्ध छैन । त्यो मौखिक रुपमा एकबाट अर्कोले सुन्दै आएको कुरा मात्रै हो । त्यही कुराको आधारमा पूर्व मेयर घनश्याम पाण्डेले निर्मित ‘तुलसी टावर’को सबै भन्दा माथि तुलसीको बोटको आकृति बनाउने डिजाइन गराएको बताउने गर्थे ।


स्वर्गिय पूर्व माननीय देवबहादुर केसी र पूर्व मेयर लामिछाने भने तुलसीको बोटबाट तुलसीपुरको नामाकरण भयो ? भन्ने आधारमा सत्यता नभएको बताउँछन् ।


तर, तुलसीपुर सरोकार मञ्चका अध्यक्ष गोपी नाथ योगी भने तुलसीको बोटबाट तुलसीपुर नामांकरण भयो ? भन्ने तर्कलाई समेत नकार्न नमिल्ने ठान्छन् । उनले त्यो कुरा पनि अड्कल गर्न सकिने बताए ।


योगी तुलसीपुरको नामांकरणबारे. फरक तथ्य प्रस्तुत गर्छन । परापूर्वकालदेखि भुरेटाकुरे राजाहरुले राज गर्ने ‘मुकाम’ स्थानलाई उनीहले तत्कालिन समय आफ्नो गढ÷किल्लाको रुपमा प्रयोग गर्ने गर्दथे । उतिखेर त्यस स्थान (गढ÷किल्ला)लाई ‘पुर’ भन्ने प्रचलन थियो । त्यही पुर अपभ्रंस हुँदै ‘पुर’बाट ‘तुलसीपुर’ नामाकरण हुन गएको तर्क योगी प्रस्तुत गर्छन । कतिपय तुत्कालिन समय थारु जातिले बोल्ने भाषाबाट अपभ्रंस भइ तलसीपुर नाम रहन गएको बताउँछन् ।


तुलसीपुरको नामांकरण कसरी भयो ? भन्ने सवालमा अहिले सम्म स्पष्ट लिखित इतिहास छैन । त्यसैले यसबारे अनेक अकड्कल बाजी हुँदै आएका छन् ।
दरवारको इतिहास
वि. सं १८७२ सन १८१५ साल माग महिनामा नेपाल र भारतको बीच असमान सुगौली सन्धि हुनुभन्दा अघि दाङ सल्यान क्षेत्रका फलावाङ्गी राजाको प्रशासनिक क्षेत्र गौडासम्म थियो । त्यो गौडा बलरामपुर प्रान्तमा पनि ‘तुलसीपुर’ भन्ने एउटा अर्काै ठाउँ थियो। त्यसबेला सम्म त्यो गौडा नेपालकै नक्शा भित्र थियो ।

सल्यानी राजा शमशेरबहादुर शाहका जेठा बुबा राजा नरेन्द्र बहादुर शाह वा बुबा काजी कान्छा राजा शेरबहादुर शाहका पालामा वि. सं. १९२९ सालमा हालको अरनीको मैदानभित्र जब्बरपुरको नजिकै झिंगटीको दरबार थियो ।

राजा शमशेरबहादुर शाहका पालामा सल्यान फलावाङ्ग गाविस भित्र पर्ने चैतेडाँडा थानगाउँ गाविस १९७६–७७ मा फलावाङ्गी राजाको पुरानो ठूलो दरबार बनेको थियो । गैरागाउँमा वि सं १९८६ सालमा पुतली दरबार दरबार निर्माण गरिएको थियो ।

उनै राजा शमशेरबहादुर शाहले हालको तुलसीपुर नगरीभित्रको नामी नगरस्थित आँपको बगैचाभित्र वि सं १९८८–९१ को बीचमा ३५ कोठाको दुई तले पक्की तुलसीपुर दरबार बनाएका थिए ।


फलावाङ्गी राजाले सल्यानको फलावाङ्गमा पुरानो दरबार, माझ दरबार र नयाँ दरबार गौडा, जिल्लाको बलरामपुरस्थित तुलसीपुर र दाङको तुलसीपुर नगरपालिकाको तुलसीपुर भन्ने ठाउँको आसपासमा अघि पछि गरी ५ ओटा दरबार बनाएका थिए । तुलसीपुरको दरवार अहिले छैन ।

फलावाङको पुतली दरबार पनि छैन । केवल इतिहासको पाना भित्र मात्र छ । लामो समय यो दरवारमा राप्ती अन्चलाघिस कार्यालय बसेको थियो । दरबरबा रहेको ठाउँमा पछिल्लो समय राप्ती प्रादेशिक अस्पतालको भवन छ ।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *