तुलसीपुर,माघ १३ । तुलसीपुर उपमहानगरपालिका वडा न ६ स्थित मावी तुलसीपुर सेन्टरको ५४औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सामुदायिक विद्यालयहरूको शैक्षिक र भौतिक प्रगतिमा मावी तुलसीपुर सेन्टरले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
उनले विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै सामुदायिक विद्यालयको महत्व बढाउनुपर्ने बताए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत मनबहादुर खड्काले विद्यालयलाई शैक्षिक सेन्टरको रूपमा स्थापित गर्न सफल भएकोमा खुशी व्यक्त गरे।
उनले विद्यार्थीहरूको भविष्य निर्माण अभिभावक र विद्यालयको सहकार्यमा निर्भर हुने तर्क गरे ।
उनले भने, ‘जिन्दगी आइसक्रिम जस्तै हो। यसलाई विद्यार्थीहरूले कसरी उपयोग गर्छन्, त्यो महत्त्वपूर्ण छ।’
त्यस्तै मेट्रो कलेजका प्रमुख बसन्त आचार्यले सामुदायिक विद्यालयहरू धारासायी भए भन्ने भाष्यलाई यस मावि सेन्टर उदाहरणीय बनेको बताए ।
विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको समग्र उपलब्धिहरू जानकारी गराए। उनका अनुसार हाल विद्यालयमा २५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
प्राविधिक शिक्षामा ६०० विद्यार्थी र निःशुल्क शिक्षामा २०० विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए। उनले भने, ‘यो विद्यालय मेघा विद्यालयको सूचीमा पर्न सफल भएको मात्र होइन, सामुदायिक विद्यालयहरूको उत्कृष्ट उदाहरणका रूपमा स्थापित भएको छ।’
विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत मार्सल आर्ट, खेलकुद, नृत्यजस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यसले विद्यार्थीहरूको शारीरिक, मानसिक, र सृजनात्मक क्षमताको विकासमा सहयोग पुर्याएको छ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातजातिको पहिचान झल्किने सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । यसले स्थानीय संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा विद्यालयको योगदान देखाएको छ।
कार्यक्रममा अभिभावक तर्फबाट केपी भण्डारी, हापुरे माविका प्रधानाध्यापक जीतबहादुर खत्री, पूर्व शिक्षक सूर्यप्रसाद पौडेल, तुलसीपुर वडा नं. ६ का कार्यवाहक अध्यक्ष यमुना परियार, पत्रकार सुशील बस्नेत,जनश्रम माविका प्रधानाध्यापक माधव भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेश रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक भोला पौडेल र शिक्षिका मेनका भण्डारीले गरेका थिए।