२०८२ साउन १ गते बिहिवार

सबै एक ढिक्का भए फेरि काँग्रेस सशक्त बन्छ – केन्द्रीय सदस्य रसाइली

प्रियास्मृति गजमेर, देउखुरी, पुस १० । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले पार्टीलाई सशक्त बनाउन केन्द्रदेखि वडा तहसम्मका नेता कार्यकर्ता एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

काँग्रेस राप्ती गाउँपालिकाले बुधबार मौरिघाटमा आयोजना गरेको सय दिने विषेश अभियानलाई सम्बोधन गर्दै उनले राष्ट्रियता, लोकतन्त्र र समाजबादलाई अबलम्बन गरि पार्टीलाई सशक्त बनाउन सबै एक ढिक्का भएर लाग्न उनले आग्रह गरे । प्रजातान्त्रिक पद्धतिमा सबैको मत बराबर हुन्छ भन्ने कुराको ज्ञान सबै नेता कार्यकर्तामा हुनु पर्ने उनले बताए ।

नेता रसाइलीले काँग्रेस कसरी बन्छ भन्ने चिन्तन अहिलेको आवश्यकता रहेको भन्दै त्यसका लागि रिक्सा चालक, किसान, मजदुर, व्यवासायीको जीवन कसरी चलिरहेको छ भन्ने जस्ता मुद्दा काँग्रेससको हुनु पर्ने जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आफुले पाए ठिक नत्र गलत भन्ने मानसिकताबाट मुक्त हुनु कार्यकर्तालाई आग्रह गरे । स्थानीय उत्पादनलाई प्रयोग गरेर आर्थिक आम्दानी बढाउने तर्फ भन्दा पनि ऋण कर्जा काढेर बिदेश पलायन हुने सोच बन्द गर्न आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति शंकरप्रसाद डाँगीले सांगठनिक संरचना मजबुत बनाउन पार्टीले सय दिने विषेश अभियान संचालन गरेको हुँदा पार्टीको मर्म बुझेर सबैले संगठन निर्माणमा लाग्नु पर्ने बताएका थिए ।

जिल्ला सहमहामन्त्री खगराज पाण्डेले कविता मार्फत कार्यकर्तालाई एकजुट हुन आग्रह गरेका थिए । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले संगठन निर्माणमा समय दिन आग्रह गरेका थिए ।


राप्ती गाउँपालिकाका पूर्व उपाध्यक्ष जगदम्बा कुमारी चौधरीले पार्टीलाई निर्वाचनका बेला पार्टीको विरुद्ध उम्मेदवारी दिएर घात गर्नेहरुलाई सजिलोसँग पार्टीमा भित्र्याउन नहुने धारणा राखेकी थिइन ।

लुम्बिनी प्रदेशका प्रदेश प्रतिनिधि दुर्यौधन पाण्डेले धैर्यता सबै भन्दा ठूलो त्याग भएको भन्दै पार्टीका नेता कार्यकर्तामा त्यो गुण हुनुपर्ने बताएका थिए ।

काँग्रेस जेष्ठ नागरिक विभागका केन्द्रीय सदस्य आत्माराम भट्टराईले पार्टी नेतृत्व थप सुध्रिन जरुरी रहेको औंल्याएका थिए । दाङ क्षेत्र नम्बर १ प्रदेश (१) का सभापति श्रीपद चौधरीले आम जनता संग पार्टी थप मजबुत ढंगले जोडिन जरुरी रहेको औंल्याएका थिए ।

संविधान सभा सदस्य सुशीला चौधरीले आस्थाकै आधारमा काँग्रेस निकट कर्मचारीलाई स्थानीय सरकारले दुःख दिएको बताइन ।

राप्ती गाउँपालिका – १ का वडा सभापति पदम पुनले पछिल्लो समय युवा पुस्तामा पार्टी प्रति वितृष्णा जाग्दै गएको हुँदा युवा लक्षित कार्यक्रमहरु ल्याउन आग्रह गरेका थिए ।

राप्ती गाउँपालिका – ३ का वडाध्यक्ष उमेश अधिकारीले काँग्रेस प्रतिको आकर्षण घट्न नदिने स्थानीय स्तरबाटै पहल हुनुपर्ने बताएका थिए ।

वडा नम्बर ४ का वडा सभापति पोमलाल गिरीले सदस्यता नवीकरणमा ढिलासुस्ति भएको चिन्ता जाहेर गरेका थिए ।

वडा नम्बर ५ का वडा सभापति चुडामणी पोख्रेल, वडा नम्बर ६ का वडा सभापति विश्वम्भर चौधरी, वडा नम्बर ७ का वडा सभापति वीरबहादुर चौधरी, वडा नम्बर ८ का वडा सभापति तापेश्वर चौधरी, वडा नम्बर ९ का वडा सभापति तेजबहादुर कार्की वडाको अवस्था बारे अवगत गराएका थिए ।

काँग्रेस राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरीको सभापतित्वमा कार्यक्रम भएको थियो भने कार्यक्रमको सहजीकरण गाउँपालिका सचिव तिर्थराज ज्ञवालीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *