२०८१ माघ १० गते बिहिवार

महायज्ञमा साढे ११ लाख बढी दान संकलन


दाङ, मंसिर २५ । घोराही उपमहानगरपालिका–७ स्थीत माध्यामिक विद्यालय सौडियारमा सञ्चालित श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञमा ११ लाख बढी दान संकलन भएको छ ।

विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि भएको महायज्ञको पाँचौ दिन मंगलवारसम्म ११ लाख बढी आर्थिक संकलन भएको महायज्ञका आर्थिक उपसमिति संयोजक हिरालाल न्यौपानेले जानकारी दिए ।

आर्थिक उपसमिति संयोजक न्यौपानेका अनुसार मंगलवार मात्र महायज्ञमा तीन लाख ४८ हजार पाँच सय ५९ रुपैयाँ दान संकलन भएको छ । योसँगै महायज्ञमा हालसम्म ११ लाख १८ हजार पाँच सय ५० रुपैयाँ नगद संकलन भएको छ ।

मंगलवार महायज्ञमा घोराही उपमहानगरपालिका–१८ निवासी महेश श्रेष्ठ, घोराही उपमहानगरपालिका–१५ निवासी पवन आचार्यले नगद १५÷१५ हजारसहित घोराही उपमहानगरपालिका वडा नं. ७ मा रहेको घुस्रा सामुदायिक वन उपभोक्ता समूहले १५ हजार पाँच बढी आर्थिक दान गरेको उनले बताए।

त्यसैगरी महायज्ञमा मंगलवार ९८ मुरी धान संकलन भएको छ । आर्थिक उपसमिति संयोजक न्यौपानेका अनुसार मंगलवार संकलन भएको ९८ मुरी धानसँगै हालसम्म महायज्ञमा स्थानीय नागरिकले दुई सय ५९ मुरी धान दान गरेको बताए ।

माध्यामिक विद्यालय सौडियारको शैक्षिक तथा भौतिक सुधारका लागि सञ्चालित महायज्ञमा मंगलवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी सहभागी भएका थिए ।

महायज्ञमा प्रमुख अतिथि बन्नुभएका गिरीले शैक्षिक विकासका लागि सहयोग गर्न सवैसँग आग्रह गरे ।

ग्रामीण क्षेत्रमा भएको विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि विद्यालयको पहलमा भएको महायज्ञ महत्वपूर्ण भएको भन्दै केन्द्रीय सदस्य गिरीले जनसहभागीतामा भएको महायज्ञलाई सफल बनाउनका लागि सवैले सक्ने सहयोग गर्नुपर्ने बताए ।

महायज्ञमा चहलपहल बढ्दै गएको छ । विद्यालयको भौतिक विकास तथा शैक्षिक सुधारका लागि आर्थिक संकलन गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा दान गर्ने दातासँगै कथा श्रवण तथा नाचगान गर्नेदेखि भक्तजनको सहभागीता बढ्दै गएको हो ।

महायज्ञमा पुरुषभन्दा महिला दाता तथा भक्तजनको सहभागीता बढी हुने गरेको अनुगमन समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भीमप्रकाश खड्काले बताए ।

संयोजक खड्का अनुसार महिला भक्तजन तथा दाताको संख्या बढ्दा सोमवार महायज्ञस्थलमा निर्माण गरिएको पण्डाल भरिएको थियो ।

महायज्ञमा विहान नियमित पूजासँगै दिउँसो भागवत कथा श्रवणका लागि भक्तजन तथा दाताको सहभागीता अन्य दिनको तुलनामा बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्राईले बताए ।

उनले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि महायज्ञमा धान दानलगायत महायज्ञ सञ्चालनका लागि आवश्यक पर्ने चामल, तरकारीलगायतका खाद्यन्न समेत नागरिकस्तरबाट सहयोग संकलन भइरहेको बताए ।

मंसिर २१ गतेदेखि सुरु भएको महायज्ञ मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ । श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको कथाबाचकमा पंण्डित कोमल उपाध्याय र एक सय ८ भागवत संकल्पकर्तामा डिला पाण्डेय रहेका छन ।

महायज्ञमा विहान नियमित पुजासँगै दिउँसो ११ बजेदेखि चार बजेसम्म भागवत कथावान, साढे चार बजे आरती र साँझ सात बजेदेखि नौ बजेसम्म कथा बाचनसँगै भजन कृतन हुने गरेको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *