तुलसीपुर , मंसिर २० । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ यही मंसिरमा आफ्नै भवनबाट सेवा दिने अन्तिम तयारी गरिरहेको छ ।
हालसम्म वडा कार्यालय भाडामा बस्दै आएको थियो । हाडिमेमा वडा कार्यालय सञ्चालनका लागि मासिक १३ हजार पाँच सय भाडा बुझाउँदै आइएको थियो ।
हाडिमे गाउँमा भाडाको घरमा बस्दै आएको वडा कार्यालय औपचारिकरूपमा मंसिर २२ गतेबाट तोप्पापानी गाउँमा आफ्नै नव निर्मित वडा कार्यालय भवनमा सर्ने तयारी गरि रहेको छ । त्यही बाट सेवा दिने गरि अन्तिम तयारी गरिएको वडाध्यक्ष प्रेमनाथ योगीले जानकारी दिएका छन् ।
वडाध्यक्ष प्रेमनाथ योगीले वडाको मध्यभागमा रहेको वडा भवनको प्राङगन सम्याउने काम सुरु भएको र सुरक्षाका लागि पर्खाल निर्माणको काम भइ रहेको बताए ।
बिगतमा अधिकाँस वडाहरु भाडामा बस्दै आएको उपमहानगरपालिका अब निकट भविश्यमै भाडा मुक्त पालिका बन्दै छ । उपमहानगरपालिकाका १९ वटा वडा मध्य १८ वडा कार्यालयहरुले आफ्नै भवनबाट सेवा दिइ रहेका छन् ।
तुलसीपुरका नगरप्रमुख टीकाराम खड्का पालिकालाई भाडा मुक्त बनाउने अभियानलाई प्राथमिकतामा राखेर योजना बनाइ काम गरिएको बताए ।
‘वडा कार्यालयहरुले पनि आफ्नै भवनबाट सेवा प्रवाह गर्नु पर्छ र भाडाको झन्झडबाट पालिकालाई मुक्त बनाउनु पर्छ भन्ने अभियानका साथ काम भएको होे,’ उनले भने ‘ त्यस्का लागि संरचना निर्माण कार्यलाई प्राथमिकतामा राखेर काम भएको हो ।’
पछिल्लो समय कृषि, पशु र स्वास्थ्य संस्थाहरु आफ्नै भवनबाट सेवा सुरु गरेका छन् ।
वडा कार्यालयहरु , स्वास्थ्य चौकी, कृषी ,पशु शाखालगायत पालिका अन्तर्गतका सबै संघ संस्था आफ्नै भवनबाट सेवा दिने गरी काम भइ रहेको र त्यो करिब अन्तिम चरणमा पुगेको मेयर खड्काले बताए ।
तुलसीपुर भाडा मुक्त बन्दै गर्दा भाडामा तिर्नु पर्ने पैंशा जोगिदै गएको र नगरको आफ्नो जग्गाको संरक्षणसमेत हुन थालेको प्रतिक्रिया दिए ।
भाडाबाटै सञ्चालन हुँदै आएका कृषी र पशु शाखाहरुले समेत आफ्नै भवनबाट सेवा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए । अब तुलसीपुरका सबै शाखा, स्वास्थ्य संस्थाहरु क्रमशः आफ्नै भवनबाट सेवा दिन सुरु गरिएको उनले बताए । कृषी शाखाले यसअघि मासिक ३३ हजार भाडा तिर्दै आएको थियो ।
कृषी शाखाका प्रमुख धनराज गौतमले मंसिरदेखि दोघरेमा आफ्नै भवनबाट सेवा सुरु गर्दा धेरै सजिलो अनुभूति भएको बताए ।
तुलसीपुरको स्वास्थ्य संस्थापनि अब छिट्टै भाडा मुक्त बन्ने प्रक्रियामा छ । हाल वडा नम्बर ५ र ६ बाहेकका सम्पूर्ण स्वास्थ्य संस्थाहरू आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानले जानकारी दिए । निकट भविश्यमा उनीहरुलाई पनि सकभर आफ्नै भवनवाट सेवा दिने गरि काम हुने जानकारी दिए ।