तुलसीपुर , मंसिर १८ । सवारी दुर्घटनामा एक युवकको मृत्युको घटनालाई लिएर आफन्तले तुलसीपुर – घोराही सडकको नारायणपुरमा सडक खण्ड अवरुद्ध पारेका छन् ।
बिहान ८ बजेदेखि सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका –१० नारायणपुर नजिकै झारबैरा चोकमा मृतकका आफन्तले सडक खण्डमा अवरोध राखेर सडक खण्ड अवरुद्ध पारेका छन् ।
तीन घन्टादेखि अवरुद्ध सडक खण्ड खुलाउने बारे घोराही र नारायणपुर दुई ठाउँमा सरोकारवालाहरु संग छलफल भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार बेलुकी टिप्परको ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका – १९ कुटीचौरका १९ वर्षीय सुदिप बुढाथोकीको मृत्यु भएको थियो । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार तुलसीपुर – १७ का २२ बर्षीय दिपक बस्नेत घाइते भएका थिए । उनको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रष्तिठानमा उपचार जारी छ ।
घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख १२९१ नम्बरको टिप्परले एकै दिसातर्फ आउँदै गरेको रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका –१० झारबैरा चोकमा सोमबार बेलुका करिब साढे ६ बजेतिर ठक्कर दिएको थियो ।
सोही घटनालाई लिएर पीडित पक्षले उचित क्षतिपुर्ति पाउनु र दोषी चालक माथि उचित कानुनी कारबाहीको माग गर्दै सडक खण्ड अवरुद्ध पार्दै आएका हुन ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले सडक खण्ड खुलाउने प्रयास जारी रहेको जानकारी दिए ।
टिप्पर चालक घोराही – ११ डोक्रेनाका ४० वर्षीय जितबहादुर चौधरी प्रहरी नियन्त्रणमा छन् ।
सोमबार पनि तुलसीपुर – घोराही सडक खण्ड अवरुद्ध पारिएको थियो । छलफल र वार्ता पछि मृतकका आफन्तलाई प्रचलित नियम भन्दा थप केही क्षतिपुर्ति उपलब्ध गराउन वस धनि सहमत भएपछि सडक खण्ड खुलेको थियो ।
बस दुर्घटनाकी घाइते मध्य तुलसीपुर उपमहानगरपालिका– १८ की ३२ वर्षीया इन्द्रा थापाको उपचारका क्रममा आइतबार बेलुकी साढे ७ बजे नरसिंह होम नेपालगञ्जमा मृत्यु भएपछि स्थानीयले सडक खण्ड अवरुद्ध बनाएका थिए ।
शुक्रबार बिहान १० बजेतिर तुलसीपुर उपमहानगरपालिका– १८ बिजौरीको डाँडागाउँ नजिक घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १३८२ नम्बरको बस दुर्घटना भएको थियो। त्यसमा २१ जना घाइते भएका थिए।