२०८१ मङ्सिर १९ गते बुधवार

आज पनि रवि लामिछानेसंग बयान लिइदै, आजै कास्की पठाउने तयारी


दाङ,कार्तिक २९ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिहीबार तेस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा लिखित बयान लिइदै छ ।

बिहान सवा १० बजेबाट लामिछानेकाे भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिने तयारी छ ।

जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेलले बिहान कार्यालय खुलेसँगै बयान लिएर सक्ने तयारी छ । वयान सकिए लामिछानेलाई आजै कास्की पठाइने रुपन्देहीका प्रहरी प्रमुख एसपी रंजीतसिंह राठौरले बताए ।

मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबारदेखि नै नियमित बयान लिइरहेको छ ।

लिखित वयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पंडित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता छ । वयानका आधारमा पुरुक प्रतिवेदन बनाउने तयारी छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका लामिछानेलाई प्रहरीको ठूलो घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराउने र लैजाने गरिएको छ । बयान चलिरहँदा भैरहवामा सरकारी वकिल कार्यालय आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

लामिछानेलाई वयानका लागि रुपन्देही ल्याएसँगै सहकारी पीडित र रास्वपाका कार्यकर्ताले भैरहवामा प्रर्दशन गरेका छन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नाराजुलुस गर्न बन्देज गरेको छ ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो।

अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् ।

कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान भइसकेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *