तुलसीपुर, असोज २१ । दाङमा एक युवकले मर्छु भन्दै सोमबार बिहानै राप्ती नदीको पुलवाट हाम फाले । आवेगमा उनले हाम फालेपनि जब उनी राप्ती नदीको पानीमा पसे उनलाई आफ्नो ज्यान प्यारो लाग्यो र पौडिएर ज्यान जोगाएका छन् ।
जिल्लाको गढवा गाउँपालिका – २ महदेवास्थित पुलवाट सोमबार बिहान साढे ६ बजेतिर राप्ती गाउँपालिका – ७ अननपुरका ३३ बर्षीय आशाराम चौधरीले हाम फालेका थिए ।
झन्डै तीन घन्टा पछि प्रहरीले बिहान ९ बजेर २० मिनेट जाँदा उनलाई सकुशल फेला पारि उद्धार गरेको थियो । मर्छु भन्दै हाम फालेको भएपनि उनी पौडिदै झन्डै पाँच सय मिटर दक्षिणसम्म पुगेका थिए । जहाँ उनी दुई बगरको बीचमा सुरक्षित बसिरहेका थिए ।
इप्रका गढवाकी प्रहरी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले आशारामको राप्ती गाउँपालिका – ६ बगारपुरस्थित घाटवाट उद्धार भएको जानकारी दिइन ।
आशारामका भाइ खुसीरामले दाजुले हाम फालेको देखेपछि नजिकैको प्रहरी र स्थानीयलाई गुहारेका थिए । प्रहरी चौकी गोवरडिया, इलाका प्रहरी कार्यालय गढवावाट खटिएको प्रहरी टोली संगै स्थानीयले मिलेर उनको उद्धार गरेका थिए ।
आशारामले प्रहरी समक्ष कुनैपनि कुरा नबोलेको प्रहरी अधिकारीहरु बतउँछन् । उनको लमही अस्पतालमा उपचार भइ रहेको छ ।