२०८१ बैशाख २१ गते शुक्रवार

दोस्रो ‘रारा’ सल्यानको ‘कुपिन्डे दह’मा पर्यटकको घुइचो


दाङ, जेठ ३१ । गत शनिवार सुर्खेतवाट सल्यान स्थित कुपिन्डे दह हेर्न आएका रविन्द्र थापा र बविता थापा दम्पित्तिले कुपिन्डे दहलाई दोस्रो रारा तालको संज्ञा दिए । उनीहरुले कुपिन्डे दहको सुन्दरताको वर्णर गर्न मुस्किल भएको बताए । सल्यान जिल्लाको बनगाँड कुपिन्डे नगरपालिका वडा नं. ८ मा अवस्थित मनमोहक कुपिन्डे दह हेर्न आउने पर्यटकको संख्या आज आएर दिनानु दिन बढ्दै गएको छ । २०६७ सालमा दर्ता भएको यो दहलाई यो वर्ष नेपाल सरकारले घोषणा गरेका १०० गनतव्यको सूचिमा पारेको छ ।

सेफोक्सुन्डो मिडिया प्रालीले गतसाल मात्रै यसको गहिराई नापेको थियो । उस्ले गहिराई ६९ मिटर,लम्वाई १ हजार २ सय मिटर र चौडाई सरदर साढे ३ सय मिटर रहेको उल्लेख गरेको छ । तर तालले कति क्षेत्रफल ओगटेको छ भन्ने कुराको भने एकीनसाथ भन्न कठिन रहेको कुपिन्डेताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कँवरले बताए ।


शनिवार सल्यानको कुपिन्डे दह हेर्न भारतीय नागरिक समेत गाडी लिएर आएका थिए । यसको चर्चा र महिमा दिनानु दिन चुलिदो छ । संधै निलो र सफा पानी रहने यो ताल पहाडहरुको बीचमा अवस्थित छ । दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा नं. ३ निवासी २८ बर्षीया भिमकुमारी शाही लगाएतको १७ जनाको टोलीपनि तालमा गाडी बुक गरेर हेर्नको लागि आएको थियो । ‘ अति सुन्दर र अति राम्रो लाग्यो,’ उनले भनिन् ‘ यो तालले मेरो मन चोर्यो।’ शाही डुँगा चढ्न डर लागेको हुँदा नचढेपनि बाहिर बाट हेरर र यस्को पानीलाई स्पर्ष गरेर रमाएको उनले बताइन । उनले फेरि फेरि कुपिन्डे दह अवलोकनको लागि आउने वाचा गरिन ।

झ्वाट्ट हेर्दा नेपालको नक्सा आकारको देखिने यो तालमा पानी कहाँ वाट आउँछ र पानी कहाँवाट बाहिरिन्छ भन्ने स्पष्ट देखिदैन । यद्यपी तालको बीचमा एउटा मुहान रहे्को तथा पश्चिम तर्फवाट भित्रभित्रै पानी बग्ने गरेको जानकारहरु बताउँछन् । जे भएपनि बाह्रैमास पानी सफा रहने यो तालले धेरै युवा युवतीलाई आकर्षित गरेको छ । सुर्खेतबाट कुपिन्डे तह हेर्न आएका विद्यार्थी जगतप्रशाद शर्मा र जगत विश्वकर्माले तालको सुन्दरता देखेर आँफु चकित परेको प्रतिक्रिया दिए ।

बैंकका कर्मचारी नेपालगञ्ज निवासी विष्णु ज्ञवाली र दाङको तुलसीपुर निवासी भिमसेन थापा लगाएतले कुपिन्ड दहमा पर्यटकका लागि राम्रो होटेल र सुरक्षाको राम्रो प्रवन्ध गर्न सके कुपेन्डिे दह प्रर्यटकको केन्द्र बन्ने तर्क गरे । तालको पानी लोभ लाग्दो सफा रहेको भएपनि मानिसहरुले फोहर गर्न सक्ने हुँदा सरसफाईमा ध्यान दिन आवश्यक रहेको उनीहरुले सुझाए । त्यस्तै उनीहरुले ताल रहेको क्षेत्रमा बस्न र खानाको लागि राम्रो होटेल हुनुपर्ने, सुरक्षाको लागि सुरक्षाकर्मी हुनुपर्ने, तालको वरिपरी तारवार गरेर सुरक्षित गर्ने जस्ता सावधानी अपनाएमा यसको महत्व बढ्ने उनीहरुको सुझाव छ ।

कुपिन्डेताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कँवर अध्यक्ष भएको डेढ बर्ष जति मात्रै भएको छ । यो अवधिमा दुईवटा डुङ्गा बाट उनले २१ वटा पुर्याएका छन् । त्यो ढुङ्गा वाट मासिक ६ हजार ३ सय कमाई हुन्छ । हालसालै प्रदेशको ४० लाख बजेटले साढे ३ सय मिटर सडक निर्माण गरिएको छ । बाटो खनेपछि बालवालिका र अशक्तहरुलाई दहसम्म पुग्न सजिलो भएको छ । बाटो खन्नुको मुख्य उदेश्य भने पहाडबाट भूक्षय भएर पुरिएको दहको भाग उकास्नका लागि भएको उनले बताए । ‘ यो पानी नभएको माटो र ढुङ्गाले पुरिएको भाग बाहिर लैजान तथा तालको सतह बढाउनका लागि बाटो खनिएको हो,’ अध्यक्ष कँवरले भने । बाटो खनेपछि बेफाईदापनि धेरै भएको छ । पिकनिक तथा बनभोज खान जानेहरुले फोहर गर्दा ताल भविस्यमा फोहरले भरिने चिन्ता बढेको छ ।

यो दहमा बाह्रै महिना बराह देवताको पूजा हुँदै आएको छ । यहाँ आएर पूजा र स्नान गरे चिताएको कुरा पुरा हुन्छ अर्थात निशान्तानलाई सन्तान प्राप्त हुन्छ भन्ने विश्वास रहि आएको छ । दहमा बराहको विषेश पूजा भने महासंक्रान्तिमा हुँदै आएको छ । यहाँ तिहार लगतै मंसिर पूर्णिमामा ठूलो मेलापनि लाग्ने गर्छ । चोखो बलीको हिसावले कुपिन्डोको बली दिने गरिन्छ भने भेडाको राँढे, कुखुरा, हाँस र परेवाको पनि बली दिने प्रचलन छ ।

कुपिन्डे दहको उत्पत्तिवारे अध्यक्ष कँवरले रोचक किम्बदन्ति पनि सुनाए । स्थानीय बुढापाका मानिसहरुका अनुसार दह भएको क्षेत्रमा कुनै दिन एउटा गाउँ थियो । एकदिन त्यो गाउँमा बराहा देवता जोगीको भेषमा बास माग्न आएछन् । ती जोगीको रुप धारण गरेका बराह देवतालाई कसैले बास दिन मानेन् छन् । तर एकजना छोरा भएकी बुढी आमाले बास दिइछन् । घरमा खानेकुरा केही थिएन । बुढी आमाले धानको भुस (ढुटो)को रोटी पकाएर जोगीलाई खान दिइन । त्यसपछि ती जोगीले भनेका रहेछन् ‘ भोलि भाले बास्ने समयमा डाँडामा गएर हेर्नु।’ विहानी डाँडोमा गएर हेर्दा त्यो गाउँ भएको ठाउँमा पुरै पानीले भरिएको थियो । त्यो पानी माथि कुपिन्डा तैरिरहेको हुँदा नामपनि कुपिन्डे दह रहन गएको भन्ने किम्बदन्ति छ ।

यो तालमा विकासले पाईलो टेकेको भनेको हालसम्म बाटो निर्माण हुनु बाहेक केही प्रगती छैन । यहाँ विजुली बत्तिको पनि सुविधा छैन । खान र बस्नालाई होटेल छैनन् । सुरक्षाको समेत प्रवन्ध छैन । तालको वरिपरी ताल जाली लगाए झनै सुरक्षा हुेन छ । खानेपानीको समेत प्रवन्ध छैन । रातको समयमा छिल्लिएका युवा युवती आएर मनपरी फोहर गर्ने गरेको हुँदा त्यो नियन्त्रण गर्न आवश्यक रहेको कुँवरले बताए । सरसफाईको लागि डुङ्गावाट संकलन भएको रकमको प्रयोगले प्रयास भइरहेको भएपनि त्यो प्रयाप्त नभएको हुँदा नगरपालिकाको गाडि समेत सरसफाईका लागि आउनुपर्ने अध्यक्ष कँवरले बताए । यो वर्ष सरकारले घोषणा गरेका १०० वटा पर्यटकीय गनतब्य मध्य कुपिन्डे दह पनि एक हो । माथि उल्लेखित कुराहरु गर्न सकेमा मात्रै यहाँ थप पर्यटक भित्रने संभावना बढ्ने देखिन्छ । यो तालले ट्याँङकीको काम गर्दै आएको छ । नगरको वडा नं. ७ र ८ मा यही तालको पानी रसाएर खेती लाग्ने गरेको छ । ताल विभिन्न प्रजातिका चरा र माछाको बासस्थान पनि हो । तालको उत्पत्ति र नामंकरण वारे अध्यक्ष कँवरले रोचक किम्बदन्ती सुनाए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *