२०८१ असोज ४ गते शुक्रवार

प्रेस युनियन दाङद्वारा तिज मिलन कार्यक्रम सम्पन्न


तुलसीपुर भदौ १६ । नेपाल प्रेस युनियन दाङ शाखाको महिला विभागले आयोजना गरेको तीज मिलन २०८१ आइतबार तुलसीपुरमा सम्पन्न भएको छ ।

सिद्धार्थ बैंक लिमिटेड तुलसीपुर शाखाको सहकार्यमा तीज मिलन कार्यक्रमसँगै संस्कृति संरक्षणमा सरोकारवालाको भूमिका तथा वित्तीय साक्षरता पनि भएको थियो ।

महिला विभागका संयोजक उमा भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीको प्रमुख आतिथ्यता एवं नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले तीज पर्व महिला दिदी बहिनीहरुले दर्दलाई खुशीमा परिणत गर्ने पर्व रहेको बताए ।

कुनै पनि संस्कार विनाको जिन्दगी नहुँने बताउँदै तीजसहित हिन्दुहरुले मनाउने हरेक पर्वले समाजलाई सुसूचित बनाउने काम गरेको बताए ।

साथै उनले समाजको राम्रो पक्षलाई उजागर गर्दै जाने हो भने, सबै कुरा सकारात्मक हुने पनि बताए । हामीले हाम्रो परिवार, समाजलाई कसरी राम्रो बनाउनु पर्छ भनेर लाग्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमले महिलाहरुले पुरुषलाई बेवास्ता गरेर कुनै काम नगरेको बताइन ।

पछिल्लो समय तीज भड्किलो भयो भन्ने कुरा आइरहेको प्रति उनले दुखेसो पोखिन ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी, प्रजातान्त्रिक उधोग वाणिज्य संघका अध्यक्ष जनक खराल, चेम्बर अफ कमर्शका अध्यक्ष ऋषीराज भण्डारीलगायतले संस्कृति संरक्षको पक्षमा पत्रकारहरुलाई कलम चलाउँदै आग्रह गर्दै विकृतिलाई प्राथमिकता दिन नहुने बताएका थिए । संस्कृति संरक्षण गर्दा अर्थतन्त्रलाई बलियो बनाउनु पर्ने बताए ।

कार्यक्रममा अधिकारकर्मी शुसिल बस्नेतले तीज पर्व महिला पुरुषले मात्रै नभएर तेस्रो लिङ्गीलाई पनि सहभागी गराउनु पर्ने बताए ।

अधिकारकर्मी शुष्मा गिरीले सबै वर्ग समुदायले मनाउन सक्ने समान तीज बनाउन आवश्यक रहेको बताइन ।

कार्यक्रममा अधिकारकर्मी देवा डाँगी, रासस दाङ प्रमुख नारायणी रजौरे अक्षयकोषदाता तथा अधिकारकर्मी यमुना शाह, नेपाली कांग्रेसकी नेतृ देवका नेपाली, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सन्तोष सुवेदी, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य शान्ता पाण्डे, पवित्रा धिताल, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, प्रेस चौतारी दाङका अध्यक्ष प्रेम राम्जा, जन पत्रकार संगठन दाङका अध्यक्ष हेमन्त प्रकाश वलीलगायतले तीज पर्व मौलिक तरिकाले मनाउनु पर्ने बताएका थिए ।

उक्त कार्यक्रममा सिद्धार्थ बैंक तुलसीपुरका शाखा प्रवन्धक किरण आचार्यले बैंक, वित्तिय संस्थाको बारेमा जानकारी गराएका थिए ।

साथै उनले बैंकबाट छिटो सहज तरिकाले सेवा कसरी लिने, डिजिटल सेवा, बैंकबाट ऋण लिंदा बुझ्नु पर्ने कुरालगायतका विषयमा जानकारी गराए ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अञ्जना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन शुशिला वलीले गरेकी थिइन भने सहजीकरण जयन्ती चौधरीले गरेकी थिइन ।

प्रकाशित मिति : २०८१ भाद्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *