तुलसीपुर, साउन २ । दाङका निर्माण ब्यबसायीहरुले समसामयिक बजार मूल्य भन्दा जिल्लामा निर्धारण गरिएको दररेट न्यून भएको भन्दै त्यस्को पुनरावलोकनको माग गरेका छन् ।
जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वमा दररेट निर्धारण हुने गर्छ । त्यसरी दररेट निर्धारण गर्दा निर्माण ब्यबसायीसंग सरसल्लाह तथा समन्वय नगरी हचुवाको घरमा गरिएको हुँदा त्यो मान्ने र स्वीकार्य नरहेको जिल्ला निर्माण ब्यबसायी संघका उपाध्यक्ष कृष्णबहादुर खड्काले फरककोणलाई बताए ।
आर्थिक बर्ष २०८१ ÷ ०८२ का लागि निर्धारण गरिएको नयाँ दररेटमा जिल्लाका निर्माण ब्यबसायी असुन्तुष्ट बनेका हुन । निर्माण ब्यबसायी संघका अध्यक्ष प्रबिणकुमार भण्डारी र महासचिव मिनबहादुर घर्तीले बुधबार बिज्ञप्ती जारी गर्दै त्यसको पुनराबलोकनको माग गरेका छन् ।
उनीहरुले बिकास निर्माण तथा पूर्वाधारका लागि निर्धारण गरिएको दररेट समसामयिक बजार मूल्य भन्दा न्यून भएकाले निर्माण कार्यहरु आगामी बर्षमा प्रभाबित भइ लक्ष्य प्राप्ती हुन नसक्ने आशंका ब्यक्त गरेका छन् ।
जिल्ला निर्माण ब्यबसायी संघ जिल्ला दररेट निर्धाण समितिको सदस्य भएपनि कुनै समन्वय नगरी एकतर्फी रुपमा दररेट आएको भन्दै पुनराबलोकन गर्न उनीहरुले अपिल गरेका छन् ।