तुलसीपुर , असार ८ । तुलसीपुर उपमहानगरपालिका – ११ हस्नापुरमा शनिबार बिहान नेकपा एमालेका स्वर्गिय नेता श्रीमणि आचार्यको शालिक अनाबरण गरियो । हस्नापुर – बेलटाकुरा खाने पानी संस्थाको परिशर भित्र उनको पूर्ण कदको शालिक स्थापना गरिएको छ ।
आचार्यको शालिक एमाले महासचिव शंकर पोख्रेल र नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरी लगाएतले संयुक्त रुपमा अनावरण गरेका थिए ।
आचार्य एमालेका नेता भएपनि उनको शालिक निर्माणको संयोजक तुलसीपुर उपमहानगरपालिका – ११ का नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि घमण्ड मल्ल थिए । आचार्यको शालिक निर्माणका लागि पूर्व मन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य काँग्रेस नेता गिरीले ५१ हजार नगद सहयोग गरेका थिए ।
काँग्रेस तुलसीपुरका सभापति सुरेश हमालले १५ हजार आर्थिक सहयोग गरेका थिए । एमाले बाट निर्वाचित तुलसीपुर – ११ का वडाध्यक्ष मानबहादुर रावतका अनुसार अन्य काँग्रेसका केही नेताहरुले पनि स्व.श्रीमणिको शालिक निर्माणका लागि आर्थिक साहेता गरेको जानकारी दिए । श्रीमणिको शालिक निर्माणका लागि झन्डै २६ लाख जति आर्थिक संकलन भएको थियो ।
वडाध्यक्ष रावतले पूर्ण कदको शालिक निर्माण गरि दाङसम्म ल्याउन झन्डै दश लाख जति खर्च लागेको बताए । राजनीतिक मात्रै नभइ बढी श्रीमणि सामाजिक ब्यक्तित्व भएका कारण सबै पार्टीका लागि उनी साझा ब्यक्ति सरह भएको हुँदा सबैले सहयोग गरेको वडाध्यक्ष रावतले तर्क गरे । श्रीमणिको शालिक अनाबरण कार्यक्रममा झन्डै तीन मौजाका मानिसलाई खसीको मासुसहित भोजपनि खुवाइएको थियो ।
श्रीमणिको शालिक स्थापना गरिएको हस्नापुर – बेलटाकुरा खाने पानी संस्थाको परिशर सार्वजनिक जग्गा हो । श्रीमणिले नै यी गाउँहरुमा खानेपानीको समस्या समाधान गर्न यो आयोजनाको परिकल्पना गरेको श्रीमणिका शिष्य समेत रहेका वडाध्यक्ष रावतले बताए । शालिक स्थापना भएको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सोही अनुरुप नयाँ संरचनाहरु निर्माण गर्ने उदेश्य वडाध्यक्षले सुनाए ।
एमाले महासचिव पोख्रेलकी बहिनी समानुपातिक सांसद मेनुका पोख्रेलले श्रीमणि शालिक स्थापना भएको क्षेत्रको बिकासका लागि आफ्नो संसद बिकास कोषको एक करोड बढी उपलब्ध गराएको वडाध्यक्ष रावतले जानकारी दिए ।
शालिक अनावरण पछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सुरुमै एमाले महासचिव शंकर पोख्रेलले स्व. श्रीमणिको ब्यक्तित्वका कारण शालिक अनावरण कार्यक्रम राजनीतिक सम्मेलन जस्तै बन्न पुगेको बताएका थिए ।
काँग्रेस नेता दीपक गिरीले स्व. श्रीमणि निष्ठाको राजनीति गर्ने एक जना समाजिक अभियान्ता भएको चर्चा गरे ।
स्व. श्रीमणिले अमर मावि उरहरी पढाउँदा उतिखेरका प्रधानाध्यापक नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्व प्रदेशसभा सदस्य शंकर गिरीले राजनीति भन्दा माथि उठेर समाजहितमा , शिक्षा ज्योति फैलाउन र चेतनाको राँको बाल्न खेलेको भूमिकाकै कारण काँग्रेसपनि त्यहाँ आएको बताएका थिए ।
‘उहाँ सबैलाई मिलाउन सक्ने सबैलाई तपाँइ भनेर सम्बोधन गर्ने एक जना असल नेता हुनुहुन्थ्यो,’ शंकरले भने ‘ पञ्यात कालमा म प्रअ हुँदा सुरक्षाको लागि उहाँ मेरै घरमा दश दिन लुकेर बस्नु भएको हो ।’
उतिखेर काँग्रेसले एमालेलाई आफ्नो घरमा संरक्षण गर्नु चानचुने कुरा नभएपनि श्रीमणिको स्वभाव तथा ब्यक्तिको कारण आँफुले आश्रय दिएको काँग्रेस नेता गिरीले बताएका थिए । काँग्रेस नेता गिरीले एमालेका श्रीमणि संगै केही समय जेल जीवनपनि बिताएका थिए ।
गिरी पनि शिक्षण पेशावाट राजीनामा दिएर राजनीतिमा होमिएका ब्यक्ति हुन ।
स्थायी कमिटी सदस्य सुजिता शाक्य, एमाले प्रतिनिधिसभा सदस्य मेनुका पोख्रेल,काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व सांसद कृष्ण किशोर घिमिरे, घोराहीका मेयर तथा एमाले स्थायी कमिटी सदस्य नरुलाल चौधरी, तुलसीपुरका मेयर टीकाराम खड्का, दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, नेकपा माओबादी केन्द्रका नेता शेशुराम भण्डारी लगाएतका बक्ताहरुले स्व.श्रीमणिले सबै संग समान ब्यबहार गर्ने, एक अथक राजनीतिक योद्धाका साथै सामाजिक रुपान्तरण तथा शैक्षिक क्षेत्रको बिकासका लागि पु¥याएको योगदानको चर्चा गरेका थिए । अधिकाँस बक्ताले राजनीतिक आचरण, संस्कार मात्र नभइ फरक आस्था राख्नेहरुलाई गर्ने ब्यबहार कस्तो हुनु पर्छ ? भन्ने कुराको एक उदारहण श्रीमणि भएको भन्दै यसको अनुशरण आवश्यक रहेको बताएका थिए ।
को हुन श्रीमणि ?
एमाले दाङका संस्थापक नेता मध्यका हुन । जो ८ बर्ष एमाले दाङको नेतृत्वमा थिए । हेकुली, श्रीगाउँ, उरहरी माविमा गरि साढे १९ बर्ष अध्यापनमा बिताएका अर्थशास्त्रका स्नातक उनी जागिरबाट राजिनामा दिएर राजनीतिमा लागेका थिए । उनी २०४९ सालमा पार्टीको उरहरी गाबिस अध्यक्ष, २०५० मा एमाले दाङको सचिव, २०५६ सालको आम निर्वाचनमा दाङ क्षेत्र नं. ५ का उम्मेदवार भइ पराजित भएका थिए ।
२०१० सालमा जन्मिएका श्रीमणिको २०६४ पुस ३ गते क्यान्सरका कारण उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।
२०५१ सालको निर्वाचनमा एमालेबाट शंकर पोख्रेल र काँग्रेसका दीपक गरि एकै क्षेत्रवाट चुनावमा भिडेका थिए । त्यो चुनाबको एउटा आमसभामा दाङको बिजौरीमा काँग्रेस र एमालेका बीचमा झडप भयो । गोली चल्यो । केहीको मृत्यु पनि भएको थियो । त्यो घटनामा श्रीमणिपनि घाइते भएका थिए ।
त्यही गोलीबाट श्रीमणिलाई क्यान्सर भइ उनको मृत्यु भएको थियो । २०५१ सालका प्रतिष्र्धी पोख्रेल र गिरीले शनिवार एकै मंचमा श्रीमणिको राजनीतिक जीवनका साथै समाज रुपमान्तरण तथा बिकासमा पु¥याएको योगदान बारे चर्चा गरेका थिए ।
तस्बिर : नारायण खडका/ फरककोण ।