२०८३ भाद्र ३० गते मङ्गलवार

गुल्मीको मालिका गाउँपालिकाले भैंसी सुत्केरी भए किसानलाई भत्ता दिने

गुल्मी ,चैत १३ । मालिका गाउँपालिकाले घरमै पालेको भैंसी पहिलो बेत ब्याउँदा किसानलाई सुत्केरी भत्ता दिने भएको छ।

गाउँपालिकाको पशु शाखाअन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृति कार्यक्रम अनुसार पहिलो बेत ब्याउने भैंसीका धनीलाई सुत्केरी भत्ता उपलब्ध गराउन लागेको गाउँपालिकाले जनाएको छ।

सुत्केरी भत्ता प्राप्त गर्न चाहने पशुपालक कृषकलाई केन्द्रित गर्दै मालिका गाउँपालिका–८ कार्यालयले मंगलबार सात दिने एक सूचना जारी गरेको छ।

यस आर्थिक वर्षको साउन १ गतेदेखि ब्याएका भैंसीका कृषकलाई निवेदन माग गरिएको छ। साउन १ गते यता ब्याएका भैसीपालक कृषकले निवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।

सुत्केरी भत्ता लिन चाहने कृषकले निवेदन, वडा कार्यालयको सिफारिस, भैंसीधनीको चेकको फोटोकपी, नागरिकताको प्रतिलिपि, सुत्केरी भैंसीसँगै खिचिएको फोटो लगायतका कागजात माग गरिएको छ।

कार्यालयका अनुसार कृषकको घरमै जन्मेको भैंसीको पाडी पहिलो बेत घरमै ब्याएको हुनुपर्ने छ। कम्तिमा तीन जना छिमेकी साक्षी बसेर मुचुल्का गर्नुपर्ने समेत कार्यालयले जनाएको छ।

वडाध्यक्ष सूर्यबहादुर घर्ती क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा सुत्केरी भैंसीलाई के कति भत्ता दिने भन्नेबारे केही खुलाइएको छैन।

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *