दाङ, चैत ८ । यही चैत २३ गते घोराहीको सिद्वरत्ननाथ मन्दिरदेखि भारतको देवीपाटनसम्म धार्मिक महायात्रा सुरु हुने भएको छ ।
धार्मिक एवं ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० को तयारी तीब्र पारिएको छ ।
प्रत्येक बर्ष चैत पञ्चमीका दिन दाङको चौघेराबाट भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थीत पाटेश्वरी मन्दिर पुग्न धार्मिक यात्रा बिगतदेखि नै हुँदै आएको छ ।
धार्मिक र सांस्कृतिक महत्व बोकेको सोही ऐतिहासिक यात्रालाई यो बर्षदेखि लुम्बिनी प्रदेश सरकारको सहयोगमा महायात्राको रुपमा थालनी गर्न लागिएको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।
‘ दुई देश बीचको धार्मिक सांस्कृति ऐतिहासिक महत्वलाई जिवन्त राख्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यका साथ लुम्बिनी सरकारको सहयोगमा यसअघि नै महायात्रा गर्ने निर्णय भएको हो,’ मुख्यमन्त्री चौधरीले भने ‘ त्यसले दुई देशका बीचमा भाइचारा स्थापित गर्न थप मद्दत गर्ने छ ।’
लुम्बिनी प्रदेश सरकारले ऐतिहासिक एवं धार्मिक गौरवको महायात्राका रुपमा सञ्चालन गर्ने निर्णय गरेपछि लामो समयदेखि प्रचलनमा आएको धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक यात्रालाई यो बर्षदेखि महायात्राका रुपमा अघि बढाउने तयारी भइरहेको मुल समितिका सदस्य सचिव संस्कृतिविद् डा. गोविन्द आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार योगी नरहरीनाथले लेख्नुभएका पुस्तकहरु अध्ययन गर्दा यो यात्रा विसं ८०९ मा सिद्धरत्ननाथले सिद्धि प्राप्त गरेपछि हुँदै आएको करिव १३ सय वर्ष पुरानो ऐतिहासिक यात्रा सुरु भएको देखिन्छ ।
यहि चैतको २३ गतेदेखि बैशाखको ७ गतेसम्म हुने धार्मिक एवं सांस्कृतिक महायात्रामा गोरक्षपात्रदेवता सिद्धरत्ननाथ चौघेराका पिर, पुजारी,भण्डारी, सिरानेलगायत साधुसन्त, सामाजिक एवं धार्मिक व्यक्तित्वहरु, विभिन्न क्षेत्रका प्रतिनिधिलगायत करिव चार सय बढीको सहभागीता हुने रहने भएको छ । महायात्रालाई विशेष बनाउन यो बर्षदेखि थारु, मगर, अवधी, भुमे, सोरठी नाचपनि समावेश गरिने छ ।
जस्लाई नेपाल र भारतको धार्मिक सांस्कृतिक सम्बन्धलाई हरेक वर्ष नवीकरण गर्ने एउटा महत्वपूर्ण यात्रा मान्न सकिने आचार्यले बताए ।
‘यो नेपाल–भारतको सांस्कृतिक सेतु हो,’ उनले भने ‘ अब यसबारे उचित प्रचारप्रसारको खाँचो छ ।’
चैत २३ गते सुरु हुने यात्रालाई भव्य बनाउन विभिन्न उपसमिति बनाउन थालिएको उनले जानकारी दिए ।
घोराही उपमहानगरपालिका–१७ चौघेरा मठबाट प्रारम्भ हुने महायात्रा घोराही उपमहानगरपालिका–३ चौपट्टा, लमही नगरपालिका–६ देउपुरमा गोरक्षपात्रदेवता मठ, गढवा गाउँपालिकाअन्तर्गत जमुनीबास, कोइलावास र भारतको जनकपुरलगायतका धार्मिकस्थलहरुमा विश्राम र पुजापाठ गर्दै तुलसीपुर देवीपाटन मन्दिर पुग्ने मठका मठाधिश योगी ब्रह्मनाथले बताए ।
पाटन पुगेपछि पाँच दिन बस्ने र त्यो अवधिमा त्यहाँको मन्दिरमा नेपाली पुजारीले पूजापाठ गर्ने परम्परा रही आएको छ ।
नेपालबाट पुजारी पुगेपछि नफर्किदासम्म पूजापाठको जिम्मा नेपालीले गर्ने परम्परा कायमै छ ।
पूजाका सामाग्रीसँगै पाटेश्वरी माताको दर्शन र पूजा गरेर टोली फर्किने परम्परा रही आएको उनले बताए । रातको समयमा मात्र हुने यात्रा भएकाले यो यात्रा ओझेलमा परेको उनले बताए । महायात्राका क्रममा ३५ लाख रुपैंया खर्च लाग्ने अनुमान गरिएको आर्थिक उपसमितिका संयोजक बलदेव योगीले बताए ।
महायात्राका लागि लुम्बिनी प्रदेश सरकारले ३० लाख रुपैंया दिने आश्वासन दिएको र बाँकी खर्च मठले गर्ने भएको छ । भेष बाह्रपन्थी नाथ संस्कृतिको केन्द्रका रुपमा रहेको घोराहीको चौघेराबाट करिव एक महिनाको यात्रापछि पाटेश्वरी मन्दिर पुग्ने परम्परा रहेपनि पछिल्लो समय त्यसलाई छोट्याएर १३ दिनमा झारिएको छ ।
