तुलसीपुर,चैत ३ । सञ्चार माध्यमहरुमा दलित सवालले प्राथामिता नपाएको दलित अधिकारकर्मीहरुले गुनासो गरेका छन ।
दलित महिला सघं दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको सञ्चार माध्यममा दलित समुदायका सवाल सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा उनीहरुले आफ्ना सवालहरुलाई सञ्चार माध्यमहरुबाट उजागर गर्न आग्रह गरेका हुन ।
कार्यक्रममा दलित महिला सघं दाङका अध्यक्ष युवा कराराले संविधानमा जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि समाजमा अहिले पनि दलित समुदायमाथि जातीय विभेद कायमै रहेको गुनासो गरिन ।
तुलनात्मक रूपमा जातीय विभेदमा कमी आएको भए पनि ग्रामिण बस्तीहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभेद हुने गरेको दावी गरिन । उनले दलित समुदायका समस्या,अभाव र पिडितका पिडाहरु सञ्चार माध्यममा नआउँदा हकअधिकार र राज्यका पहुँचमा पछाडि परेको बताइन ।
उनले दलित सवालमा घटनाप्रदान र औपचारिक कार्यक्रम मात्र समाचार बन्ने गरेको गुनासो गरिन् । त्यस्तै उनले जातिय छुवाछुत,लैगिंक हिंसालाई अन्त्य गर्न ०५२ साल देखि दलित महिला सघं दाङले विपन्न र दलितहरु सवालमा काम गर्दै आएको जानकारी गराइन ।
दलित महिलाहरुको अधिकार,शसक्तिकरण र उनीहरुको आवाजलाई सम्बोधन गर्नका निम्ती तुलसीपुरका १९ वटै वडा र दंगीशरण गाउँपालिकामा दलित महिला साझा मन्च गठन गरिएको अध्यक्ष कराराले बताइन ।
कार्यक्रममा दलित अधिकारकर्मी निर्मल नेपालीले दलितहरुको सवाललाई बुलन्द पार्न सञ्चारकर्मिको भुमिका महत्त्वपूर्ण रहने धारणा राखे ।
उनले दलित प्रतिको संबेदनसिलतालाई ध्यान दिदै सन्चार माध्यमहरुबाट परिवर्तनका कार्यक्रमहरु सन्चालन गर्न आग्रह गरे ।
राज्यका निकायमा दलित समुदायको सहभागीता,बनेका निति नियमको कार्यान्वन र समानुपातिक प्रतिनिधित्वका लागि सञ्चार माध्यममा दलित सवालले स्थान पाउनु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा पत्रकार तथा दलित अधिकारकर्मी गिरिराज नेपालीले जातका आधारमा अझै पनि दलितहरु दबिएको र हेपिएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले नेपालमा दलित समुदाय र सञ्चारको सम्बन्ध अझै कमजोर अबस्था रहेको बताए । सञ्चार माध्यममा दलित समुदायको आर्थिक,सामाजिक,न्यायीक,राजनैतिक ,पेशागत तथा शैक्षिक अधिकार लगाएतका सवालहरुले स्थान पाउन नसकेको बताए ।
दलित समुदायको अधिकार,न्याय र समानता वा समावेशिता लगाएतका क्षेत्रमा लेख रचना,सम्पादकीय भेटाउनै मुश्किल हुने बताए । तर दलितहरु गाँस,बाँस र अर्थात वेदनाका समाचारहरु भने कही कतै प्रकाशन प्रसारण भएको पाइन्छ ।
दाङमा जातिय हिसावमा कुल जनसंख्याको २३.५ प्रतिशत दलित जाति रहेको भएपनि जनसंख्या अनुपातका हिसावले सञ्चारमा दलित समुदायको प्रतिनिधित्व न्युन रहेको पत्रकार नेपालीले बताए ।
सदस्यता शुद्धिकरण पश्चात हाल नेपाल पत्रकार महासघं दाङमा रहेका कुल १८७ जना पत्रकार मध्ये ११ जना दलित पत्रकारहरुले मात्र सदस्यता प्राप्त गरेको उनले बताए । तर पुर्ण र आंशिक गरि जिल्लाभर २४ जना सञ्चारकर्मीहरु रहेको भनाई छ ।
दलित समुदायको पेशा र अधिकारका सवालमा जिल्लाका कुनै पनि रेडियो,टेलिभिजन,पत्रपत्रिकाहरुले दलित अधिकारका सवालमा रेडियो सामाग्रीहरु प्रसारण हुन सकेका छैनन्,यो निकै दुखद् पक्ष हो, पत्रकार नेपालीले भने ।
उनले सञ्चार क्षेत्रबाट छुवाछूत उन्मुलन,पहिचान,समानुपातिक प्रतिनिधित्व,स्व– शासन ,सशक्तीकरण,समानता,न्यायमा पहुँचका सवालहरु उठान र पैरवी गर्नुपर्ने बताए ।
साथै उनले दलित समुदायको सवाल उठानका लागि सञ्चार छेत्रमा दलित समुदायको पँहुच स्थापित गर्ने,सञ्चार विधेयक र समानुपातिक अधिकारको कार्यान्वयन तर्फ प्रश्नकर्ताको रुपमा मिडियाकर्मि उभिनु पर्ने समेत बताए ।
उक्त कार्यक्रमको सहजीकरण दलित महिला सघं दाङका सचिब गंगा बिस्वकर्माले गरेकी थिइन ।