दाङ, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वास मत दिने सवालमा नागरिक उन्मुक्ति पार्टी भित्र श्रीमान–श्रीमति बीचको बिबाद छताछुल्ल भएको छ ।
पार्टीका सरंक्षक रेशम चौधरीले आफ्नी पत्नि तथा अध्यक्ष रञ्जिता श्रेष्ठलाई त्यसबारे संझाउन नसकेको भन्दै बुधबार आफ्नो सामाजिक संजालमा लामो स्ट्याटस लेखेका छन् ।
संरक्षक चौधरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन हुन्न भन्ने पक्षमा उभिएका छन् भने अध्यक्ष श्रेष्ठ दिनु पर्छ भन्ने पक्षमा छिन् । यही बिबादका कारण श्रीमान – श्रीमतिको बिबाद छताछुल्ल भएको हो । उनीहरु दुबै जनाले प्रधामन्त्रीलाई विश्वासको मत दिन हुने र दिन नहुने बारे बक्तब्यहरु सार्वजनिक गरेका छन् ।
रेशमले लेखेका छन, ‘मैले तिमिलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दिन। आज लोग्ने स्वास्नीका कारण पाटी डुब्ने भो भन्छन, मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न।’ प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिदैछन् ।
श्रीमान रेशमले प्रतिपक्षमा बस्नु पर्ने धारणा सार्वजनिक गरि रहँदा श्रीमति श्रेष्ठले भने सरकारलाई समर्थन गर्दै सरकारमा जाने तयारी गरेको बुझिन्छ ।
सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भएपनि साना दललाई सिध्याउने षडेन्त्र भएको भन्दै संरक्षक चौधरीले कसैका पछाडि नलागी आफ्नै पाटी निर्माणमा जुट्नु पर्ने बिचार सार्वजनिक गरेका छन् ।
फागुन २४ गते भएको उक्त पाटीको पहिलो महाधिवेशनलाई निर्वाचन आयोगले वैधानिकता दिन मानेको थिएन । त्यो महाधिवेशनबाट चौधरी अध्यक्ष निर्वाचित भएपनि निर्वाचन आयोगले त्यसलाई अबैधानिक भनेपछि फेरि उनकी श्रीमति श्रेष्ठकै नेतृत्वमा पार्टीले निरन्तरता पाएको थियो ।