२०८१ असार ९ गते शनिवार

मेट्रो कलेजमा पत्रकारिता तालिम


तुलसीपुर, फागुन १३ । तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी छैठो सेमेस्टरमा अध्ययनरत देविसरा वलीलाई समाजमा घटेका घटनाका बारेमा कानूनी दृष्टिले रिपोर्टिङ्ग गर्ने ठूलो रहर छ । तर पत्रकारिताको ज्ञान नहुदा उनको लेख्ने रहर केवल रहरमै सिमित थियो ।

तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी सुशिल रानालाई पनि सामाजिक विषयमा केही लेख्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । लेखन सीपको ज्ञान नहुँदा उनको मनको कुरा पनि पुरा भएको थिएन ।


कानुनका बारेमा जानकार विद्यार्थीलाई लेखन सीपको विकास गराउन नेपाल पत्रकार महासंघ दाङले दुई दिने पत्रकारिता तालिमको आयोजना गरेपछि उनीहरु निक्कै खुसी छन् । तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी अध्ययनरत विद्यार्थी मध्येबाट पत्रकारितामा रुची राख्ने ३२ जना विद्यार्थी तालिममा सहभागी छन् ।


कार्यक्रमको उद्घाटन गर्दै बरिष्ठ पत्रकार टीकाराम रेग्मीले पत्रकारितामा धेरै सम्भावना रहेको बताए । ‘पत्रकारितामा समाजलाई बदल्न सक्ने शक्ति हुन्छ ’ रेग्मीले भने ।
कार्यक्रममा मेट्रो कलेजका प्रमुख बसन्त आचार्यले कानूनका विद्यार्थीको सृजनात्मक विकासका लागि कलेजले बुलेटिन प्रकाशन गर्न लागेको बताए ।

‘समाजमा कानूनी ज्ञानको अभावमा पनि केयौ अपराधहरु भइरहेका छन् अब कानुन जानेकाहरुले लेखेर समाजमा जागरण फैलाउनुपर्दछ भन्ने हो,’ आचार्यले भने ।


नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीले क्यामेरा र माइक बोक्नेहरु सबै पत्रकार नभएको बताएका थिए । दुई दिनसम्म चल्ने तालिमका प्रशिक्षकमा दुर्गालाल केसी, नारायण खड्का र सन्तोष सुवेदी रहेका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *