२०८० फाल्गुन १२ गते शनिवार

कांग्रेसमा पुस्तान्तरण आवश्यक : कांग्रेस नेता कोइराला


घोराही, २३ माघ । नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व महामन्त्री कोइरालाले लामो समय एउटै व्यक्ति र बिचारले पार्टी चल्न नसक्ने भन्दै नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको बताएका हुन ।

कांग्रेसलाई सवल र सक्षम पार्टी बनाउनका लागि वडा तहदेखि केन्द्रस्तरसम्म पुस्तान्तरण हुनुपर्ने बताए । उनले पार्टीमा पटक पटक पुस्तान्तरणको कुरा चल्ने गरेपनि व्यवहारमा देखिन नसकेको बताए । उनले भने,‘कांग्रेसलाई रुपान्तरण गर्नका लागि पुस्तान्तरण आवश्यक छ । यदि युवाले पुस्तान्तरणको लागि हिम्मत गर्ने हो भने म पार्टी सभापतिका लागि तयार छु ।’ समुदायमा कांग्रेस खोजी रहँदा युवा जनशक्ति पलायन हुनु दुखद रहेको बताउँदै नेता कोइरालाले अब सुदृढ, समृद्ध कांग्रेस बनाउँदै देश विकासमा समर्पित गर्ने काममा ढिलाई गर्न नहुने धारणा व्यक्त गरेका थिए ।

प्रधानमन्त्री पदलाई फाटेको जुत्ता भन्दै नेता कोइरालाले उक्त पदमा जो कोही पनि जानसक्ने भएकाले त्यसमा रहने व्यक्तिले विवेकपूर्ण नीति र विचारले मुलुकलाई अगाडी बढाउनु पर्ने बताए ।

राजनीतिमा सवैभन्दा महत्वपूर्ण कुरा विवेकको सहि प्रयोग भएको भन्दै नेता कोइरालाले अरुको निर्देशनभन्दा प्रधानमन्त्रीदेखि मन्त्रीहरुले आफ्नो विकेक प्रयोग गरेर जनताको पक्षमा काम गर्नुपर्ने बताएका हुन ।

सो अवसरमा अर्का केन्द्रीय सदस्य डा. डिला संग्रौलाले आफु ‘समुदायमा कांग्रेस’ अभियान लिएर जिल्ला जिल्लामा पुग्दा जनतामा सरकारको कामले निराशा बढेको पाएको बताइन ।

कांग्रेसले जनअपेक्षा अनुसार काम गर्न नसकेको आम नागरिकको बुझाई रहेको बताउँदै उनले सरकारको अनुभूति हुने काममा लाग्न जनताको आग्रहलाई सरकारले सुन्नुपर्ने बताइन ।

नेपाल प्रेस युनियनकी जिल्ला उपाध्यक्ष पार्वती बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *