तुलसीपुर , कात्तिक १७ ।शुक्रबारदेखि तुलसीपुरमा लुम्बिनी प्रदेशस्तरिय खुल्ला तेक्वान्दो प्रतियोगितामा सुरु भएको छ ।
प्रतियोगितामा भागलिन लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेशको एउटा जिल्ला सल्यानलाई पनि आमन्त्रित सदस्यको रुपमा सहभागिता छ ।
तेक्वान्दो संघ गठन हुन बाँकी रहेका लुम्बिनी प्रदेशको रुकुम पूर्व, कपिलबस्तु र पाल्ला बाहेकका अन्य सबै जिल्लाहरुबाट खेलाडी शुक्रबार बेलुका नै तुलसीपुर आइ पुगेको लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले जानकारी दिए ।
यो प्रतियोगितामा २१ बर्ष मुनिका बिद्यालय तथा क्लव मार्फत खेल खेली रहेका खेलाडी सहभागि छन् । प्रशिक्षक र खेलाडी गरि तुलसीपुरमा झन्डै साढे आठ सय जना आएका छन् ।
प्रतियोगिता सुरु हुनु पूर्व बिहान तुलसीपुरको बसपार्कबाट प्रभात फेरि गरिएको थियो ।
प्रतियोगिता बिहानदेखि सुरु भइ सकेको भएपनि दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी उद्घाटन र खेलाडीलाई सम्बोधन गर्न गृह नगर तुलसीपुर आउन थालेका छन् ।
होटेल भरिभराउ, संचालक उत्साहित
खेलाडी र प्रशिक्षक गरि साढे आठ सय बढी पाहुना तुलसीपुरमा आएपछि तुलसीपुरका सबै होटेल बिहीबारदेखि नै भरिभराउ भएका छन् ।
तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव बिनिल केसीले खेलाडी तथा प्रशिक्षकले तुलसीपुरका सबै होटेलहरु भरिभराउ भएपछि होटेल संचालक उत्साहित भएको बताए ।
लुम्बिनी प्रदेश तेक्वान्दो संघका सचिवसमेत रहेका केसीले तुलसीपुरका सबै होटेलहरुमा बाँडेर खेलाडी तथा प्रशिक्षक राखिएको जानकारी दिए ।
प्रतियोगिता दुई दिन सम्म चल्ने छ ।