२०८३ भाद्र १२ गते शुक्रवार

राष्ट्रियसभा सदस्य उपनिर्वाचन: एमालेले टुंग्यायाे उम्मेदवार

कांग्रेस अझै छलफलमा

दाङ,माघ १० । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा सत्तारूढ दलबाट एमालेका कुमार दसाैदीले मनाेनयन दर्ता गर्ने भएका छन्। बुधबार निर्वाचन अधिकृतकाे कार्यालय घाेराहीमा सत्तारूढ दलकाे तर्फबाट उनले उम्मेदवारी दर्ता गर्ने नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए। यही माघ २५ गते उपनिर्वाचन हुँदैछ।

नेपाली कांग्रेसले अझै उम्मेदवारकाे टुंगो लगाइसकेकाे छैन। तीन जना व्यक्तिकाे नाम सिफारिस भएको र केन्द्रले एक जनाकाे नाम टुंगो लगाउने नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्ड न्याैपानेले जानकारी दिए।

कांग्रेसबाट दाङका वीरकेसरी गौतम, बर्दियाका अरुणप्रकाश राठौर र रोल्पाका माधवप्रसाद आचार्यको नाम सिफारिस भएको छ। यी नाममध्येबाट एक जना उम्मेदवार बन्नेछन्।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य बनेका रुपन्देही निवासी खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका थिए।

उनले प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकट पाएनन्। यसपालि हुन थालेकाे राष्ट्रियसभा सदस्य निर्वाचनमा समेत उनलाई पार्टीले पत्याएन।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष गरी ३०५ जना मतदाता रहेका छन्। प्रदेशसभा सदस्यतर्फ ८७ र बाँकी स्थानीय अन्तरगत २१८ मतदाता रहेका छन्।

माघ ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका छ। माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको प्रदेश निर्वाचन कार्यालय, दाङले जानकारी दिएको छ।

‘राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीले तीव्रता पाएको छ। निर्वाचन तालिकाअनुसार हामीले गर्नुपर्ने तयारी तीव्र छ’, निर्वाचन अधिकारीले भने, ‘अब मनोनयन दर्ताको लागि कार्यालयको तर्फबाट गर्नुपर्ने काम अघि बढेको छ।’

प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २-२ तथा राप्रपा र जनता प्रगतिशीलले १-१ स्थानमा जितेका छन्।

त्यसैगरी, ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४-४, जसपा, लोसपा र जनमतले ३-३, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १-१ र स्वतन्त्रबाट २ जनाले जितेका छन्।

प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *