दाङ ,माघ २ । लुम्बिनी प्रदेशको सभामुख तथा उपसभामुखका लागि सत्ता गठबन्धनबाट उम्मेदवारको टुङ्गो लागेको छ।
सत्तारुढ दलबाट सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीको भागबन्डामा परेको थियो। उनीहरू दुवैले आफ्नो उम्मेदवारहरु तयार गरेका छन्।
भोलि माघ ३ गते हुने सभामुखका लागि माओवादी केन्द्रबाट पाल्पा प्रदेश सभा २ को २ बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्तीलाई पठाउने निर्णय गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्रजीत थारूले जानकारी दिए।
उपसभामुखका लागि राप्रपाले गुल्मीबाट समानुपातिक सांसद बनेकी मेनुका खाण केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनको समर्थनमा ५८ सांसदहरूको समर्थन रहेको छ।
नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४–४, जसपा, जनमत, लोसपाका ३–३ र दुई स्वतन्त्र सांसदहरूले सरकारलाई समर्थन गरेका छन्।
प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, १ सांसद रहेको नेकपा एस र जनमोर्चा गरी २९ जना मात्रै विपक्षमा छन् सत्ता पक्षसँग स्पष्ट बहुमत भएकाले नेपाली कांग्रेसले अन्तिम समयसम्म पनि उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन।
नेपाली कांग्रेस प्रदेश अन्तिम समयसम्म पनि दलहरुबीच सहमतिको प्रयास भइरहेको बताएको छ । तर, दलहरुको विचमा सहमती नभए कांग्रेसले सभामुख र उपसभामुखको लागी उम्मेदवारी दिने योजना बनेको प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिए।
यसैबिच माघ ३ गते भोलि बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चयन गरिने छ।
प्रदेश सभा सचिवालयले माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
नेपालको संविधानको धारा १८२ को उपधारा (१) र लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको सभामुख र उपसभामुख चयनको लागी निर्वाचित कार्यतालिका सार्वजनिक गरिएको छ। माघ २ गते सोमवार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रस्तावहरुको सूचना दर्ता गर्ने कार्यतालिका छ।
यस्तै, आजनै ५ः३० बजे सभामुख र उपसभामुख पदमा प्रस्तावित उम्मेदवारहरुको सूची प्रकाशन गर्ने कार्यतालिका छ।
माघ ३ गते मंगलबार सभामुख र उपसभामुख चयनको लागी लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको बैठकमा क्रमशः सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस भनी प्रस्ताव सदस्यहरुले प्रस्ताव गर्ने, समर्थक सदस्यहरुले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावहरू माथि संक्षिप्त छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ।