२०८३ असोज ३० गते शुक्रवार

नेपाल टी-२० लिग ः विराटनगरलाई पराजित गर्दै लुम्बिनी च्याम्पियन

काठमाडौँ,पुस २७ । नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ। बुधबार टियू मैदान कीर्तिपुरमा भएको फाइनलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि जितेको हो।

विराटनगरको यो जारी प्रतियोगितामा लुम्बिनीसँग तेस्रो हार हो। यसअघि समूह चरणका दुई खेलमा पनि विराटनगर लुम्बिनीसँग पराजित भएको थियो।

फाइनलमा लुम्बिनीले विराटनगरलाई जितका लागि १३४ रनको सामान्य लक्ष्य प्रस्तुत गरे पनि विराटनगरले उक्त लक्ष्य भेटाउन सकेन। विराटनगर भने निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो। विराटनगरका लागि ओपन र अर्जुन साउदले ३४ रन र पृथ्यु बाँस्कोटाले ३१ रन बनाउनु बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्।

थप दोहोरो स्कोरका रुपमा हुसेइन तलातको १३ रन रह्यो। उसका अन्य कुनै पनि ब्याटरले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

विराटनगरलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका हर्मीत सिंह र सागर ढकालले समान २-२ विकेट लिएका थिए। त्यस्तै विपुल शर्मा र किशोर महतोका नाममा १-१ विकेट रह्यो।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। उनीबाहेक हर्मित सिंहले ३० रन बनाउँदा इशान पाण्डेले १८ रन बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले २० रन बनाएका थिए।

विराटनगरका लागि नन्दन यादव राज ननानले समान २-२ विकेट रह्यो। त्यस्तै हुसेइन तलात केओन जोसेफ, सुर्य तामाङ्ग र रोहित पौडेलले समान १-१ विकेट रह्यो।

जितसँगै लुम्बिनीले ५५ लाख पुरस्कार पाउने छ। त्यस्तै, उपविजेता बनेको विराटनगरले ३० लाख प्राप्त गर्दा तेस्रो हुनेले १० र चौथो हुने टिमले ५ लाख प्राप्त गर्ने छन्।

त्यस्तै, प्रतियोगितामा प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन्। इमर्जिङ प्लेयरले १ लाख ८० हजार प्राप्त गर्ने छन्।

 

प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *