२०८३ असोज २८ गते बुधवार

चर्चित लोकदोहरी गायिका रीता काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

दाङ, असोज २८ ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत खुला महिलातर्फको केन्द्रीय सदस्यमा चर्चित लोक तथा दोहोरी गायिका रीता थापा मगर निर्वाचित भएकी छन् ।

उनी २ हजार ३०८ मत प्राप्त गरि निर्वाचित भएकी हुन ।
खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
रीता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी यसअघिकी अध्यक्षसमेत हुन । दुई वर्षअघि रीताले सार्वजनिक गरेको ‘ए आमा जाम भन्यो मलाई, कल्ले हो पल्टने लाहुरेले’ बोलको गीत युट्युबमा तीन करोड ९० लाख पटक हेरिएको छ ।

दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय रीताका अन्य गीतहरु पनि उत्तिकै चर्चित छन् ।

विनिता खड्काले जितेपनि प्रमाण पत्र ‘होल्ड’

यसैबीच महिला खुला केन्द्रीय सदस्यमा विनिता खड्का निर्वाचित भएकी छन् । विनिताले २ हजार ८६६ मत प्राप्त गरेकी छिन् । यद्यपी हाललाई उनको नतिजा सार्वजनिक गरिएको छैन ।

विनिता विरूद्ध अदालतमा ठगी सम्बन्धि मुद्दा विचाराधीन रहेको हुँदा हाललाई परिनाम ‘होल्ड’ गरिएको हो ।
विनितालाई औपचारिक रूपमा निर्वाचित घोषणा गरिएको छैन ।
त्यही भएर महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएपनि हाललाई १४ जनाको मात्रै निर्वाचन समितिले सार्वजनिक गरेको छ ।
काँग्रेस स्रोतका अनुसार उनको मुद्दाको टुंगो नलागेसम्म नतिजा होल्डमा राखिने छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असोज २३ गते इसराइल पठाउने भन्दै ठगी गरेको भन्दै विनितालाई पक्राउ गरेको थियो । तर, अदालतले म्याद थप गर्न मानेन ।

गत सोमबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले विनितालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
खड्का बिरुद्ध ठगी, आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *