२०८२ माघ २७ गते मङ्गलवार

प्रतिनिधिसभा बैठक सुरु,प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

काठमाडौँ ,पुस २६ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक केहीबेर अघि संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको हो।

आजको प्रतिनिधिसभा बैठकमा यही पुस १० गते नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन्।

बैठक बिहान ११ बजे बस्ने भनिए पनि दलहरूको आन्तरिक छलफल लम्बिएकोले दिउँसो १ बजेका लागि सरेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत ल्याउनुपर्ने प्रावधान अनुसार उनले आज संसदबाट विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत लिनका लागि प्रधानमन्त्री प्रचण्डले १३८ सांसदको समर्थन लिनुपर्ने हुन्छ।

नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिने भएको छ। आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उनलाई विश्वासको मत दिने निर्णय गरेको हो। सरकारलाई समर्थन गरे पनि कांग्रेस प्रतिपक्षमै रहनेछ।

यसभन्दा अगाडि प्रचण्डले पुस २९ मा विश्वासको मत लिने बताइएको थियो।

 

प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *