काठमाडौं, पुस ११ । नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सपथ लिदैछन् ।
सितल निवासमा राष्ट्रपति बिद्यादेबी भण्डारीले बेलुका ४ बजे एक समारोहका बीच प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा सपथ गराउने कार्यक्रम तय भएको छ ।
उनी तेस्रो पटक प्रधानमन्त्री बनेका हुन । आइतबार प्रतिनिधिसभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रचण्ड प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । लगतै राष्ट्रपति भण्डारीले प्रचण्डलार्य प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको पनि उनलाई समर्थन रहेको छ ।
यी नै दलहरु मध्य केहीलाई समेटेर आजै प्रचण्डले सानो आकारको मन्त्रीमण्डलसहित शपथको तयारी गरेका छन् । क–कस्लाई सरकारमा समेट्ने भन्ने बारे सत्ता साझेदार दलहरुका बीचमा छलफल जारी रहेको छ ।
आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरि सपथ गराउने र भविश्यमा विस्तार गर्ने तयारी गरिएको स्रोतले बताएको छ ।
यसैबीच निर्वतमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजै सरकारी निवास छाड्ने तयारी गरेका छन् ।
दिउँसोसम्म बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारी उनले गरि रहेका छन् ।
बूढानिलकण्ठस्थित उनको निवास मर्मत तथा कोठा थप गर्ने कार्य चलिरहेको हुँदा सरकारी निवास बालुवाटारबाट निस्किएर उनी कहाँ बस्छन् भन्ने एकीन छैन ।
देउवा बूढानिलकण्ठकै कुनै होटलमा बस्न सक्ने संभावना रहेको स्रोतले बताएको छ ।