तुलसीपुर,पुस ८ । त्यसो त नेवारी खाजा दाङबासीका लागि त्यत्ती पुरानो खाजा होइन । तर,पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ ।
नेवारी खाजाले व्यवसायीक रूप पनि लिँदै आएको छ । जिल्लामा सञ्चालन हुने मेला महोत्सवमा नेवारी खाजा झनै आकर्षणमा पर्ने गर्दछ । नेवारी खाजाको स्वाद लिन ग्राहकहरु खोजी–खोजी नेवारी खाजा घर नै जाने गर्छन ।
मेला–महोत्सवमा सामान्यतया खाना तथा नास्ताका थुप्रै स्टलहरु राखिएका हुन्छन् । तर युथ्स अफ तुलसीपुरले गत मंसिर २५ गतेदेखि सञ्चालन गरेको लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सबमा राखिएको नेवारी खाजा घर ग्राहकको रोजाईमा परेको छ ।
नेवार समाज तुलसीपुरले सञ्चालन गरेको नेवारी खाजा घर(नेवारी फुड फेस्टिबल) मा शुक्रवार ग्राहकको घुंइचो थियो । नेवार समाज तुलसीपुरका अध्यक्ष पुस्कर श्रेष्ठका अनुसार मेलामा आउने दर्शकहरुले नेवार समुदायमा पकाइने परिकारहरु निकै रुचाएका छन् ।
‘सुरुका २÷३ दिन व्यापार राम्रो भएन,कमै मात्रामा ग्राहकहरु आउनुहुन्थ्यो तर पाँचौ दिन देखि भ्याई नभ्याई छ,उनले भने ,‘यहाँ आउने ग्राहकहरुले अन्य परिकारको तुलनामा यमरी सबै भन्दा धेरै मन पराइदिनुभएको छ ।’
अध्यक्ष श्रेष्ठका अनुसार दैनिक १५ हजार देखि २५ हजार सम्म आम्दानी हुने गरेको छ ।
नेवारी खाजा घरमा अहिले यमरी,बारा,अण्डा बारा, बारा, चामलको सेल, चना,भट्मास,चाकु, चुकौनी,छोइला लगायतका परिकाहरु पाइन्छन ।
महोत्सवमा नेवारी परिकार पाइने एउटै मात्र स्टल भएकाले पनि यसप्रति ग्राहकको बढी आकर्षण देखिन्थ्यो ।
तुलसीपुर नेवार समाजले नेवारी खाजाको प्रचारप्रसारका लागि महोत्सवमा स्टल राखिएको यसबाट भएको केही आम्दानी समाजको कोषमा राखिने समाजले जनाएको छ ।