दाङ, मंसिर २६ । लुम्बिनी प्रदेशमा सबै दलले निर्वाचन आयोगमा शनिबार समानुपातिक तर्फको अन्तिम नामावली बुझाइसकेका छन् ।
जस्मा ३५ मध्ये ३१ जना महिलाको नाम परेको छ । चार जना मात्रै पुरुष परेका छन् ।
एमालेबाट को– को परे ?
मंसिर ४ को निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली अन्तगत प्रत्यक्षतर्फ १८ सीट जितेको नेकपा एमालेले समानुपातिकमा ११ सीट भाग पारेको थियो ।
जसमध्य एमालेले दश जना महिला र एक जना मात्रै पुरुषलाई समानुपातिक सांसद बनाउँदै छ ।
उस्ले थारूबाट सीता चौधरी (दाङ), भगवतीकुमारी थरूनी (रूपन्देही)लाई सांसदका रुपमा सिफारिस गरेको छ । दाङकी रेखाकुमारी शर्मालाई पनि उस्ले सांसद बनाउँदै छ ।
त्यस्तै खसआर्य महिलातर्फ वसन्ती न्यौपाने (बाँके), जानकी न्यौपाने (रूपन्देही), आदिवासी जनजाति महिलाबाट सरिता पुन (रुकुमपूर्व), यमुना रोका तामाङ (रोल्पा)लाई सांसद बनाउँदै छ ।
दलिततर्फ इन्द्रकुमारी गहतराज (पाल्पा), मधेसीतर्फ शान्ति लोध (रुपन्देही), (अल्पसंख्यक) र मुस्लिमतर्फ रासा बानु (बाँके) र खसआर्य पुरूषमा गिरिधारीलाल न्यौपाने (कपिलवस्तु) को नाम एमालेले निर्वाचन आयोगमा सिफारिस गरि पठाइ सकेको छ ।
कांग्रेसबाट को परे ?
प्रदेशमा १७ सीट प्रत्यक्षतर्फ जितेको कांग्रेसले समानुपातिकतर्फ दश सांसद जितेको छ । दश मध्य नौं जना महिला र एक जना पुरुषलाई काँग्रेसले समानुपातिक सांसद बनाउँदै छ ।
मधेसीतर्फ सुशीला बादी (दाङ), दलिततर्फ लोकीकुमारी बिक (दाङ) को नाम काँग्रेसले सिफारिस गरेको छ ।
त्यस्तै मुस्लिमतर्फ मीनाकुमारी सिद्दिकी (बाँके), थारूबाट देवीप्रसाद चौधरी (रुपन्देही) र सञ्जुकुमारी चौधरी (बाँके) रहेका छन् ।
त्यस्तै खस आर्यबाट जमुना ढकाल (रूपन्देही), निमा गिरी (प्युठान) र मालती सोडारी (बर्दिया) रहेका छन् । जनजातितर्फ धनलक्ष्मी श्रेष्ठ (प्यूठान), माया पुन (बाँके) लाई काँग्रेसले सांसद बनाउने भएको छ ।
माओवादीबाट को परे ?
प्रत्यक्ष तर्फ एक महिलासहित पाँच सिट जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकमा चार सिट जितेको थियो । जस्मा उस्ले समान दुई महिला र दुई पुरुषलाई समानुपातिक सांसद बनाउन थालेको छ ।
उस्ले जनजातितर्फ दिलकुमारी बुढा (रुकुमपूर्व) थारूतर्फ कृष्णा थारू (बर्दिया), दलिततर्फ यमबहादुर नेपाली (गुल्मी) र खस आर्यतर्फ भक्तिप्रसाद आचार्य (अर्घाखाँची)लाई सिफारिस गरेको छ ।
दश पार्टी मध्य अन्यमा को– कस्ले पाए ?
लुम्बिनीमा राप्रपाले मेनुका खाँण (गुल्मी) र जनजातितर्फ मीनाकुमारी श्रेष्ठ (बाँके)लाई सांसद बनाउने भएको छ ।
नागरिक उन्मुक्ति पार्टीले निर्मलाकुमारी थारू चौधरी (रुपन्देही) र नोरीकुमारी चौधरी (बाँके)लाई सांसद बनाउने भएको छ । जनमत पार्टीबाट सुमन रायमाझी (बर्दिया) र गीता गुरूङ (रुपन्देही) को नाम सिफारिस गरेको छ ।
त्यस्तै लोसपाले हेमा बेल्वासे केसी (गुल्मी) र जनता समाजवादी पार्टीबाट अम्बिका काफ्ले (बर्दिया) लाई सांसद बनाउने भएको छ ।
प्रत्यक्षमा कुनै सीट नजितेपनि राष्ट्रिय जनमोर्चाले गुल्मीकी तारा थापा र नेकपा एकीकृत समाजवादीबाट भगवती अधिकारी घिमिरे (रुपन्देही) सिफारिस गरेका छन् ।
२०७४ सालमा लुम्बिनीमा ५ दलको मात्रै प्रतिनिधित्व थियो । ३२ दलले चुनाबमा भाग लिएको भएपनि यो पालि १० राजनीति दलको प्रतिनिधित्व रहने छ ।
प्रत्यक्षमा ८ वटा दलले मात्रै चुनाव जिते पनि समानुपातिकतर्फ थप २ दलले ‘थ्रेस होल्ड’ कटाएर एक÷एक सीट पाएका छन् ।
यहाँ स्वतन्त्रले ३ सीट जितेका छन् । उनीहरु सबै माओबादीबाट बिद्रोह गरि स्वतन्त्र रुपमा निर्वाचनमा भिडेकाहरु हुन ।
यो प्रदेशमा समानुपातिकतर्फ एमालेले ११, कांग्रेसले १०, माओवादी केन्द्रले ४, राष्ट्रिय प्रजातन्त्र पार्टी २, नागरिक उन्मुक्ति पार्टीले २, जनमत पार्टीले २, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले १÷१ गरी ३५ सीट प्राप्त गरेका छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ प्रदेश सांसद छनोट हुने संवैधानिक व्यवस्था छ ।
३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको हुँदा प्रत्यक्षतर्फ एक जनामात्र महिला निर्वाचित भएकाले समानुपातिकमा सबै दलबाट अधिकांश महिला परेका हुन ।