२०८१ चैत्र १३ गते बुधवार

दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्दै

काठमाण्डौ,भदौ २० । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् ।

पार्टीका स्थानीय कमिटी र जिल्लाले उम्मेदवारहरुको नाम प्रदेश हुँदै केन्द्रमा पठाउन थालेका छन् । कतिपय ठाउँमा एकल नाम सिफारिस भएको छ भने धेरै ठाउँमा दुईभन्दा बढी नाम सिफारिस भएका छन् ।

कतिपय शीर्ष नेताहरु चाहिँ एकभन्दा बढी क्षेत्रबाट सिफारिसमा परेका छन् । सिट बाँडफाँटमा सहमति हुन बाँकी रहँदा गठबन्धनका दलहरुभित्रबाट पनि उम्मेदवार सिफारिस भइरहेको छ । स्थानीय कमिटीले उम्मेदवार बन्न खोज्नेहरुको नाम समेटेर प्रदेश र केन्द्रमा पठाएपछि केन्द्रले निर्णय गर्नेछ ।

अहिलेसम्म मुख्य पार्टीका धेरैजसो शीर्ष नेताहरुको नाम सिफारिस भइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली झापा(५ बाट उम्मेदवार बन्ने तयारीमा छन । उनको नाम सिफारिस हुन बाँकी छ ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन–३ र गोरखा–१ बाट उम्मेदवार सिफारिस भएका छन ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाण्डौ–२, रौतहट–१ र ४ बाट सिफारिस भएका छन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सिरहा–१ र २, बारा–२ र मोरङ–५ बाट सिफारिस भएका छन ।

यसैगरी एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाण्डौ-५ बाट, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ बाट र नेता शेखर कोइराला मोरङ-६ बाट सिफारिस भएका छन। एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२, उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन-१, उपाध्यक्ष युवराज ज्ञवाली दाङ-३ र महासचिव शङ्कर पोखरेल दाङ-२ बाट सिफारिस भएका छन ।

कांग्रेस उपभासपति पूर्णबहादुर खड्का सुर्खेत-१ र उपसभापति धनराज गुरुङ स्याङ्जा-१, महामन्त्री गगन थापा काठमाण्डौ-४ र विश्वप्रकाश शर्मा झापा-१ बाट सिफारिस भएका छन् ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटालाई माओवादी केन्द्रले सिन्धुपाल्चोक-१ बाट सिफारिस गरेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *