तुलसीपुर,भदौ ६ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोली नेपाल बन्दको घोषणा गरेको छ ।
पार्टीको केन्द्रिय कार्यक्रम अनुसार एक दिने बन्दको घोषणा गरिएको पार्टी दाङ इन्चार्ज शितल वलीले जानकारी दिए ।
उनका अनुसार तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई गरिएको पक्राउ पुर्जी जारी, एमसीसी, भ्रष्टाचार, महंगीका बिरुद्धमा दाङ सहित देशैभर बन्दको घोषणा गरिएको छ।
बन्द बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म गरिने छ । पार्टीले उठाएका एजेन्डालाई गठबन्धन सरकारले सम्बोधन नगरे अनिश्चितकालिन बन्द समेत गरिने वलीले चेतावनी दिए ।
बन्दको समयमा अस्पताल, होटल, चियाखाजा घर, एम्बुलेन्स, प्रेस, लगाएतका अत्यावश्यक सवारी साधन संचालन गर्न दिइने छ ।
प्रेसको दुरुपयोग धेरै भएकाले बास्तविक पत्रकार हो होइन भन्ने विषयमा भने अलि निगरानी बढाउने इन्चार्ज शितलले बताए ।
बन्दमा सार्वजनिक सवारी साधन, उद्योगधन्दा, स्कुल, कलेज सबै भन्द गरिने पार्टीले जनाएको छ ।