नयाँ दिल्ली, माघ २५। भारतमा अवैध तथा विषाक्त मदिरा सेवन गर्दा शुक्रबार कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको दुई उत्तरी राज्य उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा परी अरू कैयौँ बिरामी भएको पनि अधिकारीहरुले जनाएका छन् । उत्तराखण्डको हरिद्वार जिल्ला र उत्तर प्रदेशको सहरानपुर जिल्लामा घटना भएको समाचारमा जनाइएको छ ।
“हाम्रो प्रदेशमा मात्रै गुणस्तर प्रमाणित नगरिएको तथा गैरकानुनी मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ भने अरू केही बिरामी भएका छन्,” हरिद्वारबाट एक स्थानीय सरकारी अधिकारीले बताए । बिरामी भएकालाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
उत्तराखण्डको स्थानीय सरकारले १३ जना सरकारी अधिकारी र चार जना प्रहरी अधिकारीलाई निष्कासन गर्न निर्देशन दिएको छ ।
विषाक्त मदिरा सेवनकै कारण उत्तर प्रदेशको सहरानपुरमा भने ६ जनाको मृत्यु भएको छ । त्यहाँ पनि केही उपभोक्ता बिरामी भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । मृत्यु भएका वा बिरामी भएकाले स्थानीय पसलबाट लगेको मदिरा सेवन गरेका थिए ।
बिरामी भएकामध्ये केहीको अवस्था चिन्ताजनक भएकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने अनुमान स्थानीय अधिकारीहरुले गरेका छन् । एजेन्सी