दाङ, बैशाख २८ । रोल्पामा नेपाली काँग्रेसका कार्यकर्तामाथि बाटो ढुकेर खुकुरी प्रहार गरेको आरोपमा एक जना नेकपा माओबादी केन्द्रका युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रोल्पाको गंगादेब गाउँपालिका वडा नं. ५ सिमखोलाका २४ बर्षीय प्रकाश केसी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक कनकबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले केसीलाई सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नं. २ थारमारेस्थित रोशन ग्यारेजमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
बैशाख २६ गते बेलुका रोल्पाको गंगादेब गाउँपालिका वडा नं. ५ कुइन्यौंटा डाँडोमा चुनाब प्रचार प्रशार गरि फर्किदै गरेका नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका युवाहरुमाथि माओबादीको वाइसियलका युवाहरुले बाटो ढुकेर आक्रमण गरेको काँग्रेसले आरोप लगाएको छ ।
केसी लगाएतको समुहको खुकुरी प्रहारबाट तरुण दलका नेताहरु ३० बर्षीय मानबहादुर बुढा र २० बर्षीय कमल बुढा गम्भीर घाइते भएका छन् । मानबहादुर तरुण दलको वडाध्यक्ष हुन ।
उनीहरुको ढाड लगाए शरिरको बिभिन्न भागमो गहिरो घाउ खत लागेको रोल्पाका प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले जानकारी दिए ।
दुबै घाइतेको दाङ घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकलकलेजमा लगेर उपचार भइरहेको छ ।
घाइते मध्य मानबहादुरको अवस्था सामान्ने बन्दै गएको र डिस्चार्जको तयारी रहेको भन्ने खबर आएको पनि प्रहरीले जानकारी दिएको छ ।
सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार रोल्पाको गंगादेको कुइन्यौंटा डाँडोमा काँग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार पछि स्थानीय प्रकाश केसीको समुह भागेर रातारात सल्यानको बागचौर नगरपालिका वडा नं. ८ कोटमौलास्थित एक जना मानिसको घरमा बिहान ३ बजे पुगेका थिए ।
पक्राउ परेका केसीको बयानका आधारमा फरार सबैको पहिचान भइसकेको र खोजी तीब्र पारिएको डिएसपी खड्काले जानकारी दिए ।