तुलसीपुर, ५ चैत । ‘दाइ पाक्या वालीमा असिना आएजस्तै भा छ, गठवन्धनका कारण टिकट पाउने आशामा रहेकाहरु निराश भैसक्ने अवस्था भो, कहिले तोक्ने हुन् उम्मेदवार’, तुलसीपुर उपमहानगरपालिकाको अन्जुस्वीट हाउसमा चियागफमा तुलसीपुर उपमहानगरपालिका—५ का युवा गोरख वलीले भने ।
मेरो बुझाइमा उनी गठवन्धनका नाममा उम्मेदवारी तोक्न भएको अलमलमा निकै असन्तुष्ट छन् । उनको अभिव्यक्तिले अर्को पनि सन्देश दिइरहेको थियो, गठवन्धनका नाममा धेरै इच्छाइएका व्यक्ति साइडलाग्नुपर्ने बाध्यता किन बनाइयो?
दंगिशरण गाउपालिकाको एउटा वडामा नेविसंघको राजनितिमा लामो समयसम्म जोडिएका एक युवा नविन योगिको नाम पालिकाको एउटा वडाध्यक्षमा सिफारीस भएको छ । यद्धपि यहि बीचमा चुनावी गठवन्धनको चर्चा सुरु भएपछि नेपाली कांग्रेस गाउपालिका इकाइले गरेको सिफारीसलाइ सार्वजनिक गर्न क्षेत्रीय समितिले रोकेको छ ।
टिकट कसले पाउने भन्ने अझै टुंगो लाग्न सकेको छैन । ‘म सिफारीसको उम्मेदवार, मलाइ रुख चिन्हमा मत दिएर वडाध्यक्षमा जिताउ भनेर मतदातासंग मत माग्न समेत पाएको छैन, किनकि वठवन्धनले अन्योल बनाएको छ;, योगीले भने । उनले अरु भन्दै गए, गठवन्धन त स्थानिय तहका नेताको चाहनामा हुनुपर्ने हो कि केन्द्रका नेताको स्वार्थका कारण? अर्थात के गठवन्धनको निर्णय हुंदैमा सवै मतदाता नेतृत्वका दास भैरहन सक्लान? यस्तै यस्तै जिज्ञासा नविनका थिए । आफु जिवनभर कांग्रेस भएर रुखमा भोट हाल्न नपाउनु? यस्तै यस्तै निरुत्साहमा उनी वगिरहे….।
तुलसीपुर बजारको अन्जु स्वीटहाउस वा बजारकै भट्टराइ बाजेको पेडा पशल सबै स्थानमा गठवन्धनको अन्योलका विषयमै चर्चा भैरहेको छ । अर्थात मिठाइ पशलमा नमिठा गफ…..।
नजिन्तेहरुले पनि हिम्मत बटुल्दै छन्, गठवन्धनको आडमा, अर्थात यो त पार्टि सिस्टमको विपरीत होइन र? यस्तै प्रश्न उठिरहेका छन् । ‘वरु मैत्रिपुर्ण प्रतिस्पर्धा भए हुन्थ्यो नी’, पेडा पशलमा सुनिएको आवाज हो यो । एमालेले जिल्लाभरका वडाहरुमा करीव करीव उम्मेदवारी टुंग्याएर प्रचार प्रसारमा जुटिरहंदा पाचदलिय गठवन्धन यस्तै नमिठा गफमा गफिइरहेका छन् मिठाइपशलमा ।
नेपाली कांग्रेसको यो निर्वाचनको नारा भनेकै घरघरमा जाऔं कांग्रेसलाइ जिताऔं भन्ने थियो । यो एक महिने कार्यक्रम सकिन नपाउंदै फेरी कांग्रेस नेताहरु गाउ जाने छन् र भन्ने छन्, यसमा त हाम्रो उम्मेदवार छैन, माओवादीलाइ जिताऔं । यो भनिरहंदा उनीहरुले मतदाताबाट के जवाफ पाउने? यसले पनि राजनितिक बृत्तमा अर्को तरंग ल्याएको छ ।
निर्वाचन आयोगकै तथ्यांकमा यो बर्ष हुने निर्वाचनमा कम्तिमा ३६ लाख नयां मतदाता थपिएका छन् । अर्थात उनीहरु आफुले मनपराएको दलका नेतालाइ चाहेको चुनाव चिन्हमा मतदान गर्नकालागी योग्य छन् ।
तर गठवन्धनले यो अवस्थालाइ भताभुंग पार्न थालेको छ । उनीहरुलाइ पार्टि आस्थाबाट पृथक राखिने छ । अर्थात कांग्रेस भएर पनि रुख चिन्हमा मतदान गर्न पाउने छैनन्, कम्युनिष्ट भएर पनि हसिया हथौडामा मतदान गर्न पाउने छैनन् । लामो समयसम्म स्थानिय तहका निर्वाचन र पार्टिका भ्रात्रिसंस्थाहरुका अधिवेशन समेत हुन नसक्दा विद्यार्थि राजनिति गर्ने व्यक्ति अहिले जनप्रतिनिधिको आकांक्षि बन्ने दाउमा छन् । तर उम्मेदवार बन्न उनीहरुलाइ गठवन्धनले रोकेको छ, मतदान स्वेच्छाले गर्न पनि गठवन्धनले निराश बनाएको छ । ए
उटा पदलाइ ५ दल मध्ये एक जनाले मात्रै प्रतिस्पर्धा गर्न पाउने छ, नमाने विद्रोहि….। कति निराश छन् मतदाता र उम्मेदवारका प्रत्यासी । न उम्मेदवारको टुंगो, नत चुनाव चिन्हकै टुंगो । मनोनयनको समयसिमा आउन ५ दिन मात्रै बांकि रहंदा पनि यो अन्योलपुर्ण अवस्थाले खासगरी कांग्रेस नेता कार्यकर्तामा बढि अलमल र अन्योलको अवस्था सृजना गरेको छ ।
नेतृत्वले कसिकसा उगर्न सकिरहेको छैन । त्यसैले त सामाजिक सन्जालहरुमा मनपरी अभिव्यक्तिहरु आइरहेका छन् ।
महिला नेतृत्व घट्ने निश्चित
तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखको जिम्मेवारी लिन चाहेकि महिला नेतृ सुष्मा लामीछाने (गिरी)लाइ पार्टिले अघिल्लो बर्ष उपमेयरको उम्मेदवार बनाउन सकेन ।
अर्को चुनावकालागी अधैर्य प्रतिक्षा गर्दै उनको चार बर्ष वित्यो । यो बर्ष सायद उनले उपमेयरको उम्मेदवार पाउने चर्चा निकै थियो । तर जव गठवन्धनको कुरा आयो, प्रमुख वा उपप्रमुख पदमा पनि महिला नभए हुने रे, फरक दलले उम्मेदवारी दिएमा । यसले तुलसीपुरकी सुष्मा गिरीलाइ मात्र होइन सयौं सुष्माहरुलाइ शशंकित बनाएको छ ।
‘गठवन्धनले महिला नेतृत्वको अवसर कटौति हुनेमा हामीलाइ शशंकित बनाएको छ, तर यसो हुनुहुंदैन भनेर हामीले पार्टिका विभिन्न समितिहरुमा लिखित ध्यानाकर्षण गराइसकेका छौ’, यहि प्रशंगमा महिला नेतृ सुष्मा गिरीले भनिन्, समावेशिताको सिद्धान्त र पार्टि सिस्टमप्रति हाम्रो पार्टिले गलत निर्णय गर्ने छैन ।
आवस्यक परेको अवस्थामा महिलालाइ नेतृत्वमा ल्याउन बाधा पु¥याउने प्रबृत्तिका विरुद्ध पार्टिमा र निर्वाचन आयोगमा महिलाहरुले देशव्यापी ध्यानाकर्षण गराउने र आन्दोलनका कार्यक्रम समेत थाल्न सक्ने उनको अभिव्यक्ति थियो ।
यस अघिको निर्वाचन पद्धती अनुसार कम्तिमा दशवटा पालिकामा उपाध्यक्ष पदमा महिलाहरुले नेतृत्व गर्ने अवसर पाएका थिए । महिलाहरु मतदानकालागी उत्साहित पनि थिए । तर अहिले दश पालिकामा गठवन्धनको कुरा चलिरहेका वेला महिलालाइ प्रतिस्पर्थि बनाउने सन्दर्भमा गठवन्धन केहि वोलेको छैन ।
यो अवस्थाले आसन्न निर्वाचन पछि महिला नेतृत्वको संख्यामा बृद्धि हुनुको साटो अर्थपुर्ण रुपमा कमि आउने पनि स्पष्ट संकेत देखिएको छ । संभवतः दश पालिकाका प्रमुखमा कुनैपनि पार्टिले महिलालाइ उम्मेदवार बनाउने छैनन् भने गठवन्धनका नाममा उपप्रमुखमा उम्मेदवारी दिन पनि कन्जुस्याइ गर्ने एक जना महिला नेतृले बताएकि छिन् । जसले महिला मतदातालाइ समेत निराश बनाएको छ ।
दलिय हैसियतमै समस्या
स्थानिय निर्वाचनमा समानुपातीक मतको मुल्यांकन नहुने तथा पाच दलको एउटै उम्मेदवार बनाइदा प्रमुख राजनितिक दलहरुनै यो निर्वाचनमा कस्तो हैसियतमा रहने भन्ने पनि मुल्यांकन गर्न सहज हुने छैन ।
प्राप्त मत दलिय गठवन्धनको हुने छ । कुन दलका कति मतदाता भन्ने अवस्थाकै अन्त गर्ने यो गठवन्धनले पार्टिलाइ बलियो बनाउने कि कमजोर बनाउने वा अलमलमा पारीरहने? ।
‘स्थानिय निर्वाचनमा हामीले यति मत पाएका हौं भनेर कुनैपनि दलले तथ्यांक प्रस्तुत गर्न सक्ने छैनन्’, एक जना कांग्रेस कार्यकर्ताले भने, जुन पार्टि सिस्टमकै वर्खिलाप हो ।