काठमाण्डौ,चैत ९ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालनसम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन ।
आज बुधवार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको उच्च शिक्षा सञ्चालनसम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताएका हुन ।
नेपालमा नयाँ संविधान बनेर सङ्घीयतामा प्रवेश गरिसकेको सन्दर्भमा आजसम्म पनि नयाँ ऐन बनाउन नसकिएको भन्दै महामन्त्री थापाले उच्च शिक्षा सञ्चालनसम्बन्धी ऐन निर्माण गर्न ढिलो भइसकेको बताए ।
उनले भने, ‘यत्रो ठूलो राजनीतिक परिवर्तन गर्यौँ । संविधानले नयाँ संरचना बनायो । स्थानीय सरकार, प्रदेश सरकार बनाएका छौँ । तर यत्रो ठूलो परिवर्तन पछाडि चाहिँ हामी विश्वविद्यालय कसरी सञ्चालन गर्ने भन्ने कुराको सन्दर्भमा मूल विषयमा प्रवेश गर्न चाहेनौँ । उच्च शिक्षा सञ्चालनसम्बन्धी ऐन बनाउनुपर्छ भनेर मैले भन्दै आएको छु । ऐन ल्याइसकेपछि हाम्रो बाटो के हो, हामी उच्च शिक्षामा लगानी कति गर्ने हो ?कसले गर्ने हो रु कसरी गर्ने हो ? विश्वविद्यालय कसरी चलाउने हो ? सङ्घको जिम्मेवारी के हो ? प्रदेशको जिम्मेवारी के हो ? भइरहेको विश्वविद्यालयलाई के गर्ने हो ? नयाँ विश्वविद्यालय खोल्ने हो कि होइन ?यो सबैको सन्दर्भमा पहिला एउटा प्रबन्ध गरौँ । यो प्रबन्ध गरिसकेपछि त्यसमा जमेर बहस गरौँ । सबै राजनीतिक दललाई एक ठाउँमा ल्याएर काम गर्न तयार छौँ । तर यसको नेतृत्व धेरै हदसम्म त्रिभुवन विश्वविद्यालयकै टिमले लिनुपर्ने हुन्छ ।’
महामन्त्री थापाले त्रिभुवन विश्वविद्यालयमा अहिले देखिएका समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
विश्वविद्यालयमा जिम्मेवारीमा रहनुहुने कसैले पनि राजनीतिक पूर्वाग्रह राखेका काम गर्न नहुने उनले बताए ।