२०८३ असार २७ गते शनिवार

सरकारका लागि गठबन्धन आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडौं, फागुन २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने र सरकारका लागि गठबन्धन आवश्यक रहेको बताएका छन ।

बिहीबार नेपाली काँग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन । उनले सत्ता गठबन्धन दलबीच गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको बताए ।

प्रधानमन्त्री देउवाले गठबन्धन सरकारले जनताका अधिकारलाई ग्यारेण्टी गर्ने बाटोमा मुलुकलाई अघि बढाएको र अहिले गठबन्धनका सरकार हुँदा निर्वाचन लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि गठबन्धनको सरकार रहिरहने बताए ।

प्रधानमन्त्री देउवाले हालै संसद्बाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । उनले एमसीसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने बताए ।

वीरगञ्जमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीबाट प्राप्त रकमलाई सदुपयोग गरे अमेरिका मात्र नभई विश्वका अन्य समृद्ध राष्ट्रले नेपालमा लगानी गर्ने र मुलुकमा व्याप्त रहेको बेरोजगारी तथा पछौटेपन समाप्त हुने विश्वास व्यक्त गरे ।

प्रमानमन्त्री देउवाले चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा रहेको नेपालले मुलुकको विकासका लागि दुवै देशको सहयोग लिने र दुवै राष्ट्रसँग सन्तुलित मित्रवत् सम्बन्ध राख्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *