दाङं, कात्तिक २ । राष्ट्रिय सभा सदस्य तथा नेकपा एमालेकी नेतृ कोमल वली पार्टीको आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न नपाउने भएकी छन् ।
पार्टीको नयाँ विधानमा केन्द्रीय सदस्य बन्न महिलाको हकमा एमालेको सदस्यता लिएको सात बर्ष हुनुपर्ने प्राबधान राखिएपछि वली केन्द्रीय सदस्य बन्ने संभावना समाप्त भएको हो । दाङको तुलसीपुर निवासी गायिका समेत रहेकी वली २०७४ सालमा मात्रै राप्रपा छोडेर एमालेमा पार्टी प्रवेश गरेकी थिइन ।
एमालेमा महाधिवेशन प्रतिनिधि बन्न पार्टी सदस्य भएको १० वर्ष हुनुपर्ने प्राबधान राखिएको छ । महिलाको हकमा त्यो नियम ७ वर्ष कायम गरिएपनि नेतृ वलीको मापदण्ड पुग्दैन ।
आगामी मंसिरमा एमालेको १०औं महाधिवेशनको मिति तोकिएको छ । पार्टीको विधानको धारा ६३ मा उम्मेदवार हुने योग्यता तोकिएको छ । जसमा प्रतिनिधि बन्नका लागि १० वर्षे मापदण्ड निर्धारण गरिएको छ । महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिको हकमा ७ वर्ष तोकिएको छ ।
अन्य बिकल्पहरुमा एमालेमा केन्द्रीय सदस्य बन्न १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भएको हुनुपर्ने प्राबधान राखिएको छ । त्यस्तै प्रदेश कमिटी सदस्य वा केन्द्रीय विभागको सदस्य तथा जिल्ला कमिटीको पदाधिकारी वा जनसंगठनको केन्द्रीय पदाधिकारी भएर एक कार्यकाल काम गरेको व्यक्ति पनि केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाउने ब्यबस्था गरिएको छ ।
समावेशी कोटाको हकमा भने एक कार्यकाल जिल्ला कमिटी वा त्यो भन्दा माथिल्लो कमिटीको सदस्य भएर काम गरेको र सात वर्ष पार्टी सदस्य भएको व्यक्ति केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्न पाउने ब्यबस्था गरिएको छ । त्यस्तै केन्द्रीय कमिटीको पदाधिकारी बन्नका लागि कम्तिमा एक कार्यकाल केन्द्रीय सदस्य भएको हुनपर्नेछ ।
एमालेले पालिका वा सो भन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुई पटक भन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ । एमाले भित्र सबै तहका कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद लागु गरिएको छ ।