
तस्विर – नविन अभिलासी ।
दाङ, पुस १८ । दाङ घोराहीको शहिद कृष्णसेन ‘इच्छुक’ बहुप्राविधिक शिक्षालयले बुधवार बेलुका घोराहीको तुलसीपुर चोकमा मृतकहरको संझनामा दिप प्रज्वलन गरेको छ । गत पुस ६ गते सल्यानवाट अवलोकन भ्रमण सकेर दाङ तर्फ आउँदै गर्दा भएको बस दुर्घटनामा परि १९ विद्यार्थी र २ शिक्षक, चालक र सहचालकको गरि २३ जनाको मृत्यु भएको थियो ।
विद्यालयमा अध्यनरत कुल ३८ विद्यार्थी मध्य १९ जना विद्यार्थीको मृत्यु भएपछि उक्त शिक्षालय १३ दिन सम्म शोक मनाउन भन्दै विदा गरिएको थियो । बस दुर्घटनामा परि थप १४ जना घाइते भएका थिए ।
शिक्षालयमा वन विज्ञान अध्यनरत विद्यार्थी सल्यान कपुरकोटस्थित मुलपानीमा रहेको बोटानिकल गार्डेनको अवलोकन भ्रमण गरि फर्कदै गर्दा पुस ६ गते बुलुका सवा ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित राम्री भिरमा दुर्घटनामा परेको थियो । घोराहीस्थित उक्त बहुप्राविधिक शिक्षालय गत असोज १८ गतेदेखि संचालमा आएको थियो । संचालनमा आएको दुई महिनाको अन्तरालमै प्रथम व्याचका विद्यार्थी दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेका मध्य ८ जना विद्यार्थी अझैंसम्म काठमान्डौंका विभिन्न अस्पतालहरुमा उपचाररत छन् । ६ जना रेफर मध्य ५ जना अझैं अस्पतालको फलोअपमा छन् भने एकजना घाइते भने घरमै गइसकेको शिक्षालयका प्रिन्सिपल यादव सुवेदीले जानकारी दिए । विभिन्न कारणले ६ जना विद्यार्थी भने दुर्घटना बाट जोगिएका थिए । अवलोकन भ्रमणमा गएपनि सल्यान जिल्लाका दुई जना विद्यार्थी विजय डाँगी र चुडामणि वली कपुरकोटमै झरेर घर तर्फ गएको हुँदा दुर्घटना बाट जोगिएका थिए भने अन्य चार जना ज्वरो, रुघाखोजी जस्ता संक्रमणले विरामी भएको हुँदा उक्त अवलोकन भ्रमणमा जान नसक्दा दुर्घटना बाट जोगिएको शिक्षालयका कोर्डिनेटर केशरमान बुढाथोकीले बताए ।
प्रिन्सिपल सुवेदीले बुधवार साँझमा १३औं दिनका दिन घोराहीको तुलसीपुर चोकमा दिप प्रज्वलन गरिएको जानकारी दिए । शिक्षालयले आफ्नो तर्फवाट पुस ८ गते शिक्षालयमा श्रद्धाञ्जली सभापनि गरेको थियो । त्यसमा प्रमुख जिल्ला अधिकारी, जिल्लासमन्वय समितिका सभापति, जिल्लामा क्रियासिल राजनीतिक दल लगाएतले श्रद्धाञ्जली मनतव्य व्यक्त गरेका थिए ।