२०८१ असार १० गते आइतवार

पत्रेखोलाका ‘बोके’हरु…

फाइल तस्विर

तुलसीपुर, असार ११ । ‘दाई, वाइक तारेको २ सय ५० दिनुहोला, स्कूटीको २ सय रुप्पे दिए हुन्छ ।’हरेक बाइक आउँदा ‘बोके’हरुको अनुहार चम्किन्छ । चार जना ‘बोके’हरु खोला किनारमा प्रतिक्षारत छन् । मोटरसाईकल बोकेरै भएपनि जो खोला तराउन तयार हुन्छन् ।

उनीहरुको समुहले मोलमोलाई गरिरहेन्छ । विहीवार विहानपनि पत्रेखोलाको परिदृष्य ठिक यस्तै थियो ।
निर्माण सुरु भएको ६ बर्षसम्म पुल बन्न नसक्दा पत्रेखोला सबैको तगारो बन्ने गरेको छ । त्यही भएर आलोचनाले अहिले पत्रेखोला भाइरले छ ।

कुनै बाटो घुमाउरो बनेर भाइरल त, कतै पुल नबनेर भाइरल । बाढी आउँदा आजकल पत्र खोला तर्न नसक्ने दंगालीले भोग्नु पर्ने पीडा ।कुनै सयम नारायणपुरको घुमाउरो बाटो जस्तै बर्षामा पत्रेखोला एउटा बाढी पर्यटन बनेको जस्तै बन्न पुगेको छ । कारण यहाँ बाढीमा रमिता हेर्नेहरुको भिड नै जम्मा भएको हुन्छ ।

बाढी पर्यटनको दृष्या अवलोकन अघिल्लो साता सुरुवा भइसकेका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल र जिल्ला प्रहरी प्रमुख गणेश चन्दले पनि मज्जाले लिएका थिए । जतिखेर उनीहरुपनि पत्रे खोलाको अबरोधका कारण केही घन्टा रोकिनु परेको थियो ।

ठिक, त्यस्तै थियो, बिहीबार बिहान खोलामा बाढीको अवस्था । जो देखेर ‘बोके’हरु.. अलि बढी उत्साहित थिए । ज्यानको माया भन्दा मोटरसाईकलको माया लागे जसरी बोकेरै तारिदिन्थे उनीहरुले पत्रे खोलामा वाइकहरु । प्रहरी मुकदर्शक बन्नु बाहेक अर्कौ कुनै बिकल्प थिएन । ‘बोके’हरु खोलामा पानीको बहाव अनुसार बोकेर तारेको पैंशा उठाउँथे । जति ठूलो भेल उति धेरै पैंशा लाग्ने नियम बनाउँथे ।

खोला धेरै धमिलो छैन, पानीको वहाव पनि कम छ र पश्चिम पट्टीको भंगालोमा मात्र जोडवल गरे पुग्छ भने उनीहरु एउटा वाइक तारेको ५० रुपैंया माग्थे ।

जव खोलामा पानीको वहाव बढ्दै जान्थ्यो अनि वाइक तारेको शूल्क पनि त्यही अनुपातमा बृद्धि गर्दैै लैजान्थे । बाइकलाई मात्र होइन उनीहअरु चालकलाई पनि डोराएरै खोला तराउंछन् ।‘कति आँटीला, कति श्रमगर्न सकेका,कति शिपालु’, यिनिहरुले यो सेवा नदिएको भए त मैले बुवाको तिथि श्राद्धगर्न मानपुर पुग्नै सक्ने अवस्था थिएन,’ यादव शर्माले बाइक तार्ने बोकेहरुको प्रशंशा गरे ।

बोटेहरु (डुंगा चलाउनेहरु) ले कोठियाघाटमा शूल्क लिएको थाहा पाएका शर्माले पहिलो पटक ‘बोके’हरुलाई शूल्क तिरेर वाइक तराएका थिए । जति पैंशा तिर्नु परेपनि शर्मा ‘बोके’हरु प्रति आभारी सुनिन्थे । घोराही तुलसीपुरका धेरै खहरे खोलाहरुमा पक्कि पुलहरु बनिसकेका छन् । तर, शिलान्यास भएको सवैभन्दा जेठो मध्यको एक पुल पत्रेखोला पुल हो । ग्वारखोला र गुर्जे खोलामा पनि अघिल्ला बर्षहरुमा यस्तै ‘बोके’हरुको सेवा हुने गर्दथ्यो । तर, पुल बनेपछि ती ठाउँका ‘बोके’हरुको काम रोकिन पुगेको छ ।

आश गरौं, सायद आगामी बर्षातमा अब पत्रेखोलामा पनि यी ‘बोके’हरुको सेवा बन्द हुने छ ।पत्रेखोलामा ‘बोके’हरुको अनुपस्थितिमा बुटलबाट सामान लिएर तुलसीपुर तर्फ आउँदै गरेका एक जना व्यवसायीले सुरु बनेर खोला तराउन खोज्दा पश्चिम पट्टीको खाडलमा ठोक्किएर गाडीमा नराम्रो गरि क्षति पुग्यो । त्यसपछि उनी अँध्यारो मुख लगाउँदे क्षतिग्रस्त गाडिलाई जसोतसो स्टार्ट गरेर तुलसीपुर तर्फ लागेका थिए । ‘बोके’हरुले वाइक वाहेक अरु गाडीहरुलाई सेवा दिन नसक्ने हुँदापनि पत्रेखोलाको खाडलमा धेरैले मन अमिलो पार्दै गाडी हुल्ने गर्छन । गाडी झोक्ने गर्छन । तैपनि, यदी ‘बोके’हरु त्यँहा हुन्थे भने स्कर्पियो चालकलाई संकेत गर्थे होला, दाइ.. छेउमा ठूलो खाडल छ, ख्याल गरेर गाडी हाल्नु होला । यहाँ कस्तो संयोग हुन्छ भने खोला घटेपछि ‘बोके’हरु खेलामा हुँदैनन् । किनकी, सामान्ने अवस्थामा उनीहरुको जरुरत नै पर्दैन ।

उक्त घटनाको प्रत्यक्षदर्सी तुलसीपुरको दोघरे निवासी केशव सापकोटा पनि एक थिए । ‘पुल भाइरल भएको होइन, यति ढिलो पनि निर्माण सकिंदैन दाङका पुल भनेर रेकर्ड ब्रेक गरेको हो,’ सापकोटाले ब्यङ्ग्य कसे ।

दात रोग विशेषज्ञ विष्णुप्रसाद भुषाल कारमा दैनिक तुलसीपुर–घोराही यात्रा गर्छन् । बाढी आएको दिन पत्रे खोलामा उनी रोकिन बाध्य हुन्छन् । कार पार गराउन उनलाई दैनिक ठूलो युद्ध जिते जस्तै हम्मेहम्मे पर्छ । ‘पुल बनेको छैन, कच्वे भत्केको छ,’ उनले भने ‘त्यसमाथि निर्माणका क्रममा पानी एकै ठाउँमा डोल्याउन खनिएको खाडलले आज सर्वसाधारणले ठूलो सास्ती खेप्नु परेको छ ।’

उनले कच्वेको खाडलमा परेर दूई पटक गाडीको च्यादर भाँचिएको बताए । ‘कति दिन त मलाई घण्टौं रोकिनु परेको छ’, डाक्टर भुषालले भने, ‘यो बर्षपनि सास्ति सकिएला जस्तो देखिएन।’ भुषाल कहिले काँही जताबाट आएका हुन्छन् खोला तर्न नसकेर उतै फर्किने गरेको बताउँछन् ।

खोला धमिलो देखिएपछि तत्काल उतै व्याक हुनु आफ्नो बाध्यता हुने उनले अनुभूति साटे । शुनिल शर्मापनि दैनिक मोटरसाईकलमा घोराही—दुधरास आउजाउ गर्छन । घर आइपुग्ने वेला खोला धमिलो भयो भने मोटरसाईकल तार्न ‘बोके’हरु नभई हुँदैन । एक पटक मोटरसाइकल तारेको एक सय रुपैंया तिर्नुपर्ने बाध्यता उनले सुनाए । यो बर्षामा पत्रे खोला भएर आउजाउ गर्ने सबैले यही कष्ट, यातान र आर्थिक क्षति बेहोर्नु परेको छ ।

गत साता पत्रेखोलामा आएको भेलले प्रमुख जिल्ला अधिकारी दिर्घनाराण पौडेलपनि तुलसीपुर जान सकेका थिएनन् । दैनिक दर्जनौं साना सवारी साधनहरु पत्रेमा रोकिनु सामान्ने जस्तै बन्न थालेको छ । निर्माण कम्पनी र काम लगाउने सडक कार्यालय दुवैको ढिला सुस्तिका कारण आज जगतले दुःख पाएको छ । पत्रेखोलाको खाडल समयमै पुर्न सकेको भए वा बाईपास सडकको ब्यबस्था गरिएको भए आज यो समस्या उत्पन्न हुने नै थिएन । सरोकारवालाहरुको आगो लागेपछि इनार खन्न सुरु गर्ने जस्तै प्रबृतिका कारण सर्वसाधारण नागरिकले पाउनु दुःख पाएका छन् ।

पुल त बनेन नै कच्वे मर्मतमा समेत डिभिजन सडक कार्यालयले ध्यान नदिनु लापरबाहीको पराकाष्टा हो । कच्वेको पश्चिम किनारामा खाल्डो परेको तीन बर्ष भइसकेको भएपनि त्यो पूर्ण समयमा कसैले पनि ध्यान नदिनुले आज ठूलो समस्या पारेको छ ।

कच्वे लगायत निर्माणाधिन पुलको वल्लो र पल्लो सडक खण्ड पनि क्षतविक्षत भएको छ । पुल ढलाईका क्रममा खोलाको सवै पानीलाई एकतृत गर्दा वहाव एकै स्थानमा केन्द्रित भएको छ । जुन खाल्डो परेकै स्थानमा वहाव केन्द्रित हुनेगरी पानी पठाइएको छ । तर संबन्धित निकायको अझै त्यसमा ध्यान जान सकेको छैन ।

पुलमा ढलाई पुरा
हो, यो बर्ष पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुलको ढलाई समेत भइसकेको छ । तैपनि पुल यो बर्षात मै सञ्चालनमा आउने कुनै सम्भावना भने छैन । तर, डिभिजन सडक कार्यालयले भने भत्केको कच्वे मर्मत गरिने आश्वासन दिएको छ । विभिन्न प्राविधिक कारणले निर्माण रोकिएको बर्षौंपछि मात्र पुलको अन्तिम डिजाईन स्वीकृत गरी निर्माणको काम सुरु हुनुले पनि पुल निर्माणमा ढिलाई भएको हो ।

पुलको ढलाइको काम सकिएर वल्ल मंगलवारदेखि वायर तान्ने काम सुरु भएको छ । पुल निर्माण कम्पनिका प्रतिनिधि पदम शर्माले वायर तान्न करिव ५ दिन लाग्न सक्छ । त्यसपछि खोलाका वल्लो र पल्लो साइडमा पर्खाल लगाएर फिलिङको काम सुरु हुने उनले बताए । ‘यही बर्षातमा पुल सञ्चालनमा आइहाल्ने सम्भावना त छैन,’ शर्माले भने ‘तर पनि द्रुत गतिमा काम गर्न थालेका छौं र हामी जति सक्यो छिटो पुल निर्माण कार्य पुरा गर्ने योजनामा छौं।’

यो पुल निर्माणको ठेक्का शंकर मालि जेभिले पाएको थियो । विसं २०७३ शालमा निर्माण सुरु भएको यो पुल निर्माण दूई बर्षमै सम्पन्न गर्नुपर्ने संझौंतामा उल्लेख थियो । करिब साढे ३ करोड रुपंैयामा निर्माण संझौता भएको सो पुलका पिलर उठाइसकेपछि सडक विभागले पुलको सुपरइस्ट्रक्चर नमिलेको भन्दै निर्माण रोकेको थियो ।

‘हामी पुल निर्माणको काम गर्दागर्दै हामीले बनाएको डिजाइनलाई सडक विभागले स्वीकृत गरेन, अनि आफैले डिजायन बनाएर पनि दिएन, त्यसैले काममा ढिलाइ भयो,’ शर्माले भने ।

सडक विभागले ५ महिना अघि मात्र पुलको अन्तिम डिजायन स्वीकृत गरेर दिएपछि काम सुरु भएको निर्माण हो । सुरु गरेको ४ महिनामै ढलाइको काम पुरा भएको छ । भत्केको कच्वे र खोलाको वल्लो पल्लो साइडको मर्मत गर्ने काम सडक विभागको हुने पुल निर्माण कम्पनीले जनाएको छ ।

सडकको जवाफ
चौतर्फी आलोचना र दवावपछि डिभिजन सडक कार्यालयले कच्वेको खाडल पुरेर कच्वेमै भएपनि हाल सजह यातायात सञ्चालनका लागि पहल गर्ने जनाएको छ ।पुल नेरको पानी फिजाएर कच्वेको यातायातलाई सहज बनाउन प्रयास हुने डिभिजन कार्यालय घोराहीका प्रमुख निरज शाक्यले बताए ।

वायर तानेपछि पुल ढलाईका क्रममा राखिएका टेकोसा हटाएर पानीको वहावलाई फिजाउने र सहज यातायात आवागमनको ब्यबस्था मिलाइने उनले विश्वास दिलाए । पानीलाई पुलमुनिबाट फिजाएपछि कच्वेको छेउमा परेको खाडल पुरिने र त्यसले यातायात सञ्चालन गर्न सहज हुने उनले आशा ब्यक्त गरे ।

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *